सुदूरपश्चिममा कोभिडविरुद्ध १६ हजार खोप आउँदै

  २०७७ माघ ११ गते १३:१७     विकासन्युज

महेन्द्रनगर । सरकारले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा प्रयोग गर्नका लागि पहिलो चरणमा कोभिड–१९ विरुद्ध १६ हजार मात्रा यहाँ पठाउन लागेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले सोमबार स्वास्थ्य मन्त्रालयबाट सो मात्रामा खोप यहाँ आउन लागेको बताए ।

उनले यहाँको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा आउने खोप प्रादेशिक अस्पतालका साथै जिल्ला अस्पतालबाट लक्षित वर्गलाई लगाइने जानकारी दिए । यहाँ कोरोनाविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र अस्पतालको सरसफाइमा खटिने सरसफाइकर्मीमा उक्त खोप लगाउने तयारी रहेको निर्देशनालयले जनाएको छ ।

प्रारम्भिक जानकारी अनुसार यहाँका जिल्लाबाट करीब १४ हजार ६६६ स्वास्थ्यकर्मी, १२ हजार ७० सुरक्षाकर्मीको तथ्याङ्क निर्देशनालयमा पुगेको जोशीले बताए । सोमध्ये बढी कैलालीमा तीन हजार ९४ स्वास्थ्यकर्मी र चार हजार ७१९ सुरक्षाकर्मी कोराना विरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ । भारत सरकारले अनुदानमा दिएको कोरोना खोप केही दिनअघि मात्रै नेपाल आइपुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.