हरेक प्यारामिटरमा माछापुच्छ्रे बैंक ‘वान अफ दि स्ट्रङ्गेस्ट’ बैंकका रुपमा स्थापित छः डीजीएम थापा

  २०७७ माघ ११ गते १०:४५     विकासन्युज

बैकिङ क्षेत्रमा २ दशकभन्दा बढी अनुभव लिइसकेका सर्जु कुमार थापा हाल माछापुच्छ्रे बैंकको नायव महाप्रबन्धक (डीजीएम) पदमा कार्यरत छन् । २००० मा बैंक अफ काठमाडौंबाट बैंकिङ करिअर सुरु गरेका थापाले यसअघि सानिमा बैंकमा स्थापना काल देखि नै संलग्न भई बैंक एउटा वित्तीय संस्था देखि कमर्सियल र्बैंकमा रुपान्तरित हुँदा सम्म महत्वपूर्ण भूमिकामा काम गरिसकेका छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका थापासँग कुशल नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने दख्खलता मात्र होइन व्यवस्थापकिय क्षमता, क्रेडिट व्यवसायमा राम्रो सम्बन्ध भएको व्यक्तिका रुपमा धेरैले चिन्छन् । 

बैंकको व्यापार प्रोडक्टमा राम्रो ज्ञान हुनुका साथै जोखिम व्यवस्थापनमा समेत दक्षता राख्ने बैंकरका रुपमा परिचित डीजीएम थापासँग माछापुच्छ्रे बैंकले डिजिटल बैंकिङमा मार्दै आएको फड्को, डिजिटल बैंकिङका अवसर र चुनौती, कोरोनापछि बैंकको विजनेस र समग्र वित्तीय परिसूचकहरुको बारेमा विकासन्युजका सन्तोष रोकायाले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंशः


कोरोना भाइरसको कारण हामीले ठूलो क्षति भोग्नु पर्यो । अहिले नियमित गतिविधिहरु सुरु भएसँगै माछापुच्छ्रे बैंकले आफ्नो गति कसरी बढाइरहेको छ अर्थात बैंक कुन गतिमा बढिरहेको छ?

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले विश्वभर ठूला साना सबै अर्थतन्त्रलाई असर पारेको छ । हाम्रो देशमा पनि यसले विभिन्न क्षेत्रहरुलाई त्यतिकै असर पुर्याएको छ र यसबाट बैंक पनि अछुतो रहेन । बैंकहरु अर्थतन्त्रको महत्वपूर्ण अङ्ग भएको र उद्योग व्यवसाय क्षेत्रसँग प्रत्यक्ष रुपमा जोडिएको हुनाले उद्योग व्यवसायमा प्रभाव पर्ने वित्तिकै त्यस्को प्रत्यक्ष प्रभाव बैंकलाई पर्छ नै । हाम्रा ग्राहकहरु जसलाई हामीले ऋण दिएका छौं, उहाँहरुको आम्दानीको स्रोतमा समस्या भएपछि त्यसको प्रत्यक्ष असर हामीलाई पनि पर्यो । व्यापारिक क्षेत्रहरु पनि सञ्चालन हुन सकेनन् । पर्यटन क्षेत्र, शिक्षा, साना तथा मझौला उद्योग व्यवसाय, रेमिट्यान्स लगायतका क्षेत्रहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न ग्राहकहरुलाइृ धेरै असर पुगेको छ । ती क्षेत्रहरुमा असर पर्दा त्यसको प्रत्यक्ष असर बैंकमा पर्यो । ग्राहकको सोर्स अफ इनकम (आम्दानीको स्रोत) मै असर परेपछि त्यसको असर हामीलाई त स्वतः नै पर्ने नै भयो ।

कोरोना भाइरसको कारण उत्पन्न लकडाउनको समयको राम्रो पक्ष भनेको प्रविधिको प्रयोग हो, लकडाउनबाट पाठ सिक्दै माछापुच्छ्रे बैंकले डिजिटल तथा इन्टरनेट बैंकिङलाई कत्तिको प्राथमिकता दिइरहेको छ ?

सुरुमा बैंकिङ सिटी एरिया (शहरी क्षेत्र)मा मात्र सीमित थियो । विस्तारै बैंकहरु गाउँगाउँमा पुगे र आधुनिक बैंकिङ्गमा जनताको पहुँच उल्लेख्य बढेको छ । गाउँगाउँमा बैंक भइसकेपछि अब बैंकिङ सिस्टम मानिसहरुले हातहातमा चाहिरहेका छन् । लकडाउनभन्दा अगाडि पनि हामीले डिजिटल बैंकिङको महत्व बुझेर एक प्रकारको रणनीतिका साथसाथै त्यसका लागि आवश्यक पूर्वाधारहरु पनि तयार पारेर अगाडि बढेका थियौं । जब कोभिड–१९ आयो । त्यसपछि यसको महत्व झन बढ्यो र त्यससँगै डिजिटाइजेसन झन बढेर गयो ।

डिजिटल भुक्तानीका माध्यमहरु जस्तै, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, अनलाईन सपिङ्ग, क्यु.आर. कोडको प्रयोग अहिले ह्वात्तै बढेको छ । राष्ट्र बैंक र सरकारले पनि क्यासलेस प्रणालीलाई फोकस गरिरहेको छ । हामीलाई पनि त्यही प्रकारको निर्देशन छ । हामी त झन डिजिटल प्रडक्टको इन्नोभेसनमा एग्रेसिभ भएर लागेका छौं । ग्राहकहरुलाई उत्कृष्ट डिजिटल सेवा दिने उद्देश्यका साथ हामीले बैंकलाई स्मार्ट बैंकको रुपमा प्रस्तुत गरेका छौं । अब विस्तारै क्यासलेस भुक्तानी प्रति मानिसहरुको विश्वास बढ्छ र यसको प्रयोग आगामी दिनमा झन् बढ्दै जाने विश्वास मैले लिएको छु ।

लकडाउनअघि र लकडाउनपछि माछापुच्छ्रे बैंकको डिजिटल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुको तुलनात्मकसंख्या के कस्तो छ ?

लकडाउनपछि डिजिटल बैंकिङ प्रयोग गर्ने ग्राहकको संख्या एकदमै बढेको छ । लकडाउन अघि हामीले हाम्रो ग्राहकलाई डिजिटल बैंकिङको बारेमा धेरै पटक बुझाउन जरुरी थियो । अहिले उहाँहरु आफै बैंकमा आएर अन्य माध्यमबाटसम्पर्क गरेर यसको बारेमा बुझ्नुहुन्छ । कसरी प्रयोग गर्ने भन्ने जिज्ञासाहरुको संख्या पनि बढ्दो छ । कोभिडको माहामारी शुरुभए एता डिजिटल बैंकिंग प्रयोग गर्ने हाम्रा ग्राहकहरु दोब्बर भएका छन् भने डिजिटल कारोबार पाँच गुणाले वृद्धि भएको पाएका छौं ।

बैंकिङ क्षेत्रमा मात्र होइन सबै क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग बढेको छ । सरकार र निजि क्षेत्रले पनि डिजिटल कारोबारको विकल्प छैन भनेर लागि परिरहेको अवस्थामा नागरिक पनि डिजिटलतर्फ जानको लागि इच्छुक भएर सो अनुरुप काम गरिरहनु भएको छ ।

एउटा बैंकको सामान्य ग्राहकले घरबाटै डिजिटल बैंकिङ प्रयोग कसरी गर्ने ? अथवा उ कसरी यसमा संलग्न हुनसक्छ ?

हामीले व्यक्तिगत ग्राहक र कर्पोरेट ग्राहकहरुलाई स्पेशलाइज्ड सुविधाहरु उपलब्ध गराएका छौं । कर्पोरेट ग्राहकले जति पनि तलब कर्मचारीलाई दिनुहुन्छ, उहाँहरुले आफ्ना कर्मचारीहरुलाई घरमै बसेर त्यो तलब पे गर्न सक्नुहुन्छ । उहाँहरुले सप्लायरहरु भुक्तानी गर्न र फण्ड ट्रान्सफर सक्नुहुन्छ । अब व्यक्तिगत ग्राहकको कूरा । उहाँहरुले पनि घरमै बसेर फण्ड ट्रान्सफर गर्न सक्नुहुन्छ । उहाँहरुले मोबाइल टपअप गर्न सक्नुहुन्छ । टेलिफोनको बिल तिर्न,टीभीको रिचार्ज गर्न, बिजुली र इन्टरनेटको बील भुक्तानी गर्न सक्नुहुन्छ । स्कुलको फि तिर्न सक्नुहुन्छ । उहाँहरुको सबै काम मोबाइल बैंकिङमार्फत नै हुन्छ ।

अब चेक नै काट्नु पर्दैन । बैंक वा एटीएम सम्म पुगेर क्यास निकाल्न पर्दैन । बैंकको एपबाट धेरै काम गर्न सकिन्छ । यस बाटै मुद्दती खाता खोल्न पनि सकिन्छ । त्यसका लागि उहाँहरुले आफ्नो मोबाइलमा हाम्रो बैंकको एप डाउनलोड गर्नुपर्ने हुन्छ । खाता खोल्न पनि अब बैंक गइरहन आवश्यक छैन । यी सुविधाहरु एक्टिभेट गर्न वा कुनै जानकारी चाहिएमा बैंकको कल सेन्टरमा सम्पर्क गरेर सेवा लिन सकिन्छ ।

यी विविध विकल्प तथा माध्यमहरु प्रयोग गर्नको लागि बैंकका ग्राहकहरु सक्षम छन् ? अर्थात उनीहरु यसमा अभ्यस्त भइसक्ने वातावरण हामीले कतिको सिर्जना गरेका छौं ?

नेपाल राष्ट्र बैंको तथ्यांक अनुसारएक करोडभन्दा बढि नागरिकअहिले डिजिटल बैंकिङमा कुनै न कुनैरुपमा जोडिएको हुनुहुन्छ । तर, साच्चिकै यी सेवाहरुको पूर्ण उपयोग गर्ने संख्या अत्यन्त न्यून छ । उहाँहरुलाई यसमा अभ्यस्त पार्नका लागि हामीलाई चुनौती नै छ । तर, अब हामीले विभिन्न अवेरनेस बढाउने विभिन्न माध्यमहरु प्रयोग गरिरहेका छौं । हामीले ग्राहकहरुलाई व्यक्तिगत रुपमै सम्पर्क गरी हाम्रा डिजिटल सुविधाहरुको प्रयोग गर्न आग्रह गरिरहेका छौं भने अर्को तर्फ सोसल मिडिया लगायतका मिडियाहरुको माध्यमबाट ग्राहकहरुमा यी सुविधाहरुको बारेमा अवेरनेस बढाइरहेका छौं । विभिन्न डिस्काउन्ट र क्यास ब्याक अफरहरु प्रदान गरेर पनि हामीले ग्राहकहरुलाई यस तर्फ आकर्षित गर्न खोजिरहेका छौं र यसले रिजल्ट पनि ल्याइरहेको छ ।

मोबाइल बैंकिङको विषयलाई लिएर प्रयोगकर्ताका गुनासोहरु के कस्ता आउँछन् ?

मोबाइल बैंकिङ्गको प्रयोग बढेसँगै केही गुनासोहरु अवश्य नै आउँछन् । प्रविधिको विषय भएपछि त अवश्य नै गुनासाहरु आउने नै भए । एउटा डिजिटल भुक्तानी गर्दा यसमा धेरैवटा पार्टीहरु संलग्न भइरहेका हुन्छन् । बैंकको एप, सर्भर बाहेक, नेटवर्क, मर्चेन्ट, भुक्तानी सेवा प्रदायक मध्ये कुनै एप तहमा समस्या आउँदा कारोबार सफल हुदैन । हाम्रो सिष्टमलाई चौबिसै घण्टा अनलाइन राख्न हामीले टेक्नोलोजीमा धेरै लगानी गरेका छौं साथै सोही अनुरुप हाम्रो टेक्निकल र अपरेसन टिम सपोर्टको लागि निरन्तर तयार रहन्छ । ती गुनासो सुनुवाई तथा समस्या समाधानका लागि हामी २४सै घण्टा तत्पर हुन्छौं ।आर्टिफिसियल इन्टेलिजेन्समा आधारित हाम्रो ‘माया’ भन्ने च्याटवट छ । कुनै पनि समस्या भयो भने उहाँहरुले त्यसमा मेसेज गरेर आफ्नो समस्या राख्नुहुन्छ । त्यो समस्याको समाधानको उपाय हामी त्यसैमार्फत दिन्छौं । साथै हामीसंग अन्तराष्ट्रिय स्तरको ग्राहक सेवा केन्द्र समेत छ । ग्राहक सेवा केन्द्रमा फोन गरेर समेत ग्राहकले तुरुन्तै आफ्नो समस्याको समाधान गराउन सक्नुहुन्छ ।

ग्राहकलाई आकर्षित गर्नको लागि बैंकहरुबिच पनि निकै प्रतिष्पर्धा छ । डिजिटल बैंकिङ प्रयोगको सवालमा अन्य २६ वटा वाणिज्य बैंकहरुको तुलनामा माछापुच्छ्रे बैंकको स्टाटस र स्ट्रेन्थ के हो ?

अहिले सरकारले नै डिजिटल भुक्तानीलाई फोकस गरिरहेको अवस्था छ । यसको विकल्प नभएपछि सबै डिजिटल प्रविधिलाई नै प्राथमिकता दिएर काम गरिरहेका छन् । बैंक तथा वित्तीय संस्थाले पनि डिजिटल बैंकिङलाई निकै प्राथमिकता दिइरहेका छन् । हामीले हामीलाई स्मार्ट बैंक भनेर चिनायौं । हामीले स्मार्ट बैंक भनेर चिनाइसकेपछि धेरै कामहरु पनि गर्यौं ।

कोभिडको समयमा मानिसहरुले घरमै बसेर सामान किन्नु पर्ने भयो । उहाँहरुले अनलाइनबाटै कारोबार गर्नुभयो । उहाँहले डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा हामीले विभिन्न सुपर मार्केट अर्थात सपिङसेन्टरसँग नै मिलेर छुटको व्यवस्था गर्यौं । त्यसको प्रत्यक्ष लाभ ग्राहकलाई पुग्यो ।पहिलो वर्ष हामीले एटीएम चार्ज निःशुल्क गर्यौं । अन्य धेरै चार्जहरु हामी लिँदैनौं । कही चार्जमा कटौती पनि गरेका छौं । सुरुमा डिजिटल प्लेट फर्महरु प्रयोग गर्नेहरुलाई हामीले विभिन्न प्रकारका छुटको व्यवस्था गरेका छौं । स्कीम र छुटको व्यवस्था गरेर हामी अगाडि बढेका छौं ।

यसमा हामी एक अग्रणी बैंकको रुपमा आफूलाई स्थापित गर्ने प्रयासमा छौं भएका पुराना डिजिटल सेवाहरुलाई परिष्कृत र सरलीकृत गर्ने, नयाँ नयाँ प्रोडक्टहरु ल्याउने काम पनि गरिनै रहेका छौं । हामीसँग इन्टरनेट बैंकिङ्ग, मोवाइल बैंकिङ्ग, क्युआर कोडको सेवा सुविधा सँगै अनलाइन खाता खोल्ने र अनलाइन क्रेडिट कार्ड आवेदन गर्न पनि सकिन्छ । यस बाहेकस्मार्ट टेलर, वी च्याट, अन्तराष्ट्रिय प्रविधिमा आधारित ग्राहक सेवा केन्द्र, च्याटवट“माया”,ग्रिन पिन, डेविट तथा क्रेडिट कार्ड लगायतका स्मार्ट सेवाहरुले नै हामीलाई स्मार्ट बैंकको रुपमा स्थापित गरेका छन् ।

ग्राहकले माछापुच्छ्रे बैंक नै किन रोज्ने ?

पहिलो कारण हाम्रा ग्राहकले माछापुच्छ्रे बैंकका विश्वसनीय स्मार्ट बैंकिंग सुविधाहरु नै हो । हामी अन्य बैंकहरुभन्दा धेरै विषयमा कम शुल्क लिन्छौं । हामीले हाम्रा विभिन्न कर्जाहरुमा पनि रेटहरु कम गरेका छौं । हाम्रा निक्षेपका प्रडक्टहरु समाजका सबै पेशा र तप्कालाई समेट्ने गरी कस्टुमाइज गरेका छौं । हाम्रो लागि ग्राहकको नै सर्वोपरि महत्व हुन्छ र सोही अनुरुप हाम्रो कस्टुमर सर्भिस परिष्कृत गर्दै लगेका छौं । इन्नोभेसनमा हामी एग्रेसिभ छौं । हामीले अब रेमिट्यान्ससँग सम्बन्धित नयाँ प्रोडक्ट पनि लञ्च गर्दैछौं । नयाँ ल्याउने प्रोडक्टबाट विदेशबाट पैसा पठाउँदा छिटो छरितो सँगै त्यसमा केही आकर्षक स्कीमहरुपनि हामी व्यवस्थागर्छौं । हामीले वी च्याट पनि लञ्च गरेका छौं । जुन नेपालमै पहिलो पटक हो ।यो चाइनिज पर्यटकहरुसँग सम्बन्धित छ । हामीले देशै भर कुना कुनामा छरिएका १६० शाखा, १९८ एटिएम र १५१ शाखारहित बैकिङ्ग सेवाहरुबाट ग्राहकहरुले अविछिन्न सेवा लिन सक्नुहुन्छ । हामीसँग आवद्ध हुने ग्राहकलाई धेरै फाइनानसिअल बेनिफिट (वित्तीय फाइदा) छ । त्यसैले आम नागरिकलाई माछापुच्छ«े बैंकसँग नै आवद्ध हुन पनि म आग्रह गर्छु ।

डिजिटल बैंकिङ थप गुणस्तरिय बनाउन इक्विपमेन्टको अपरिहार्यता पनि धेरै छ । माछापुच्छ«े बैंकले यसतर्फ कतिको ध्यान दिएको छ । इक्विपमेन्ट व्यवस्थापन कसरी गरिरहेको छ ?

हाम्रो बैंकमा एउटा विजनेस, अर्को अपरेसन र अझ अर्को रिक्स फंङ्गसन छ । विजनेस फंङ्गसनले हाम्रो पूरै टिमलाई व्यवस्थापन गरेर फ्रण्टलाइनमा राख्छौं भने रिक्सले आउन सक्ने र हुनसक्नेजोखिमहरुलाई हेर्छ र अपरेसनले इक्विपमेन्ट लगायत टेक्निकल साइड हेर्छ । हामीसँग एक्स्पर्टहरुको ठूलो टीम छ । हामीले हाम्रा सिस्टमको पर्फमेन्स उत्कृष्ट बनाइराख्न थर्डपाटीहरु संग पनिसाझेदारी गरेका छौं । साथै, टेक्नोलोजीमा धेरै नै लगानी बढाइरहेका छौं । एकातिर अविछिन्न सेवा प्रदान गर्न र अर्को तिर सम्भावित जोखिमहरुबाट बैंक र ग्राहकहरुलाई बचाउन हामीले उच्च कोटीको टेक्नोलोजीको प्रयोग सँगै अन्तर्राट्रिय स्तरको सिस्ष्टम अडिटलाई प्राथमिकताका साथ अवलम्बन गरेका छौं ।

डिजिटल बैंकिङको चुनौती कत्तिको देख्नु भएको छ ?

नेपालमा डिजिटल बैंकिङमा धेरै चुनौतीहरु छन् ।प्रविधी मैत्री जनसंख्या, प्रविधि प्रति विश्वसनियता र अवेरनेस कम हुनु आदि कारणले एका तिर ठूलो जनसंख्यामा यसको पहुँच बढाउनु चुनौति छ । देशै भर डिजिटल भुक्तानीमा पहुँच पुर्याउन इन्टरनेट लगायतका पूर्वाधारहरुको बलियो उपस्थिति पनि अत्यावश्यक छ । डिजिटल कारोबारको लागत पनि घटाउन उतिकै आवश्यक छ, यो लागतले गर्दा पनि ग्राहक तथा मर्चेन्टहरुको आकर्षण कम भएको पाएका छौं ।

टेक्नोलोजीको विकास सँगै जोखिमहरु पनि उत्तिकै बढेका छन् । हामीले यी विविध समस्या तथा जोखिम न्यूनीकरण गर्न तर्फ ध्यान दिइरहेका छौं । टेक्नोलोजीसँग सम्बन्धित जोखिमहरु एकातिर छन् भने अर्को तिर ग्राहकहरुमा भएको सचेतनाको कमीले हुने ठगीहरुले हुने जोखिमहरु पनि बढ्दै गएको छ ।सिक्ने समयमा धेरै समस्याहरु झेल्नु पर्ने हुन्छ । अनेकन हण्डर पनि आउँछन् । यो भनेको गर्दै सिक्दै जाने प्रक्रिया हो । यसको विकल्प त अहिले छैनन नै । यसको लागि नियामक निकायले पनि नीति नियम झनै प्रोत्साहनमूलक बनाउन आवश्यक छ ।

यी विविध रिक्स रिड्युस (जोखिम कम) गर्नको लागि माछापुच्छ्रे बैंक कसरी अगाडि बढिरहेको छ, आगामी योजनाहरु के कस्ता छन् ?

हामी आगामी दिनमा आउन सक्ने विविध समस्याहरुलाई बुझेर काम गरिहेका छौं । हामीले हाम्रा सिष्टमलाई यथासम्भव रोबस्ट बनाएका छौं । फ्रड डिटेक्ट गर्ने सिष्टम र एक्स्पर्टको टिम मोबिलाइज गरेका छौं । हरेक डिजिटल प्लाटफर्महरुको कारोबार केन्द्रबाट मोनिटर हुन्छ ।समग्रमा कन्ट्रोल गर्ने मेकानिज्म हामीले व्यवस्थापन गरेका छौं । अर्को, बाहिरी रुपमा भइरहेका घटनाहरुलाई मनन् गर्दै हामी हाम्रो आन्तरिक व्यवस्थापन झन बलियो बनाउँछौं । राष्ट्र बैंकले दिएका निर्देशनहरु पनिअवलम्बन गर्छौं । कम्प्लायन्समा हामीले शून्य सहनशीलताको नीति लिएका छौं । टेक्नोलोजिकल रिस्क मेनेजमेन्टमा अन्तर्राट्रिय प्राक्टिसहरु अवलम्बन गरेका छौं ।

कोरोनाले माछापुच्छ्रे बैंकलाई कति असर गर्यो ? अहिले बैंकको विजनेस ग्रोथ कस्तो छ ?

कोरोना भाइरसले डिजिटल क्षेत्रलाई भने अगाडि बढायो । यसबाट हुने विजनेसलाई कोरोनाले डिस्टर्ब गरेन । तर, क्रेडिट साइडको विजनेसमा यसले असर पुर्यायो । जुन लेभलबाट विजनेस हुनु पर्ने हो त्यो लेभलमा विजनेस कोरोनाले गर्न दिएन । गत वर्षमात्रै हामीले झण्डै ७० स्थानमा हामीले शाखा विस्तार गर्यौं । हामीले विजनेसमा फड्को मार्ने योजना गरेर मुभ हुने समयमै कोरोना आयो । त्यसले धेरै असर पुर्यायो । हामीले पहिलेको जस्तो विजनेस गर्न सकेनौं । तर, अब विस्तारै रिकभरी भइरहेको अवस्था छ ।

अब हामी विजनेस बुष्टअप गर्ने पक्षमा छौं । तर, जुन किसिमले हामीले यस वर्ष पनि विजनेस ग्रोथमा असर पर्छ भनेर अनुमान गरेका थियौं । त्यति धेरै असर भने परेन । हामीले चालु आवको ६ महिनामा कर्जा र निक्षेपको साइडमा करिब २८ अर्बको विजनेस गरेका छौं । त्यो भनेको राम्रो हो । समस्यामा परेका हाम्रा ग्राहकलाई हामीले कर्जा भुक्तानी सहज गर्ने वातावरण पनि निर्माण गरिरहेका छौं ।

तपाइँहरु चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने तयारीमा हुनुहुन्छ, समग्रमा माछापुच्छ्रे बैंकको वित्तीय परिसुचकहरु के कस्ता छन् ?

हाम्रो बैंकका परिसुचकहरु एकदमै राम्रो छ ।हामीले आजको दिनमा१०८ अर्बको कर्जा प्रवाह गरेका छौं । निक्षेपमा पनि हामी १२१ अर्बमा पुगेका छौं । हाम्रो वेसरेट साढे सात प्रतिशत छ । हाम्रो सबैभन्दा राम्रो पक्ष भनेको सेभिङ क्लाइन्ट हो ।हामीसँग ६ महिनामा ६ अर्ब सेभिङ डिपोजिट बढेको छ । समग्रमा हामी अहिले भएका बैंकहरुमा वान अफ दि स्ट्रङ्गेस्ट बैंकको रुपमा स्थापित हुन पुगेका छौं । कम्प्लायन्स र संस्थागत सुशासनको हकमा हामी अब्बल छौं र यसमा हामी गर्व गछौं । पहिलो त्रैमासको ब्यालेन्स सिट राष्ट्र बैंकबाट एप्रुभल लिने पहिलो बैंक हामी बन्यौं । त्यसैले रेगुलेटरको नजरमा र हाम्रा क्लाइन्टहरुको नजरमा माछापुच्छ्रे बैंक राम्रो छ । समग्रमा सबै प्यारामिटर हेर्दा हामी वान अफ दि स्ट्रङ्गेस्टबैंकको रुपमा स्थापित भएको छौं भन्ने दावी गर्न सक्छौं ।

अन्तिममा, डिजिटल बैंकिङ प्रयोग गर्नका लागि तपाइँका ग्राहकहरुलाई कसरी आग्रह गर्नुहुन्छ ?

हामीसँग झण्डै १० लाख क्लाइन्ट छन् । १ सय ६० वटा बैंकका शाखाहरु छन् ।हामीसँग हरेक ठाउँमा एटीएम छ । हाम्रा ग्राहकहरुले जहाँबाट पनि सेवा लिन सक्नुहुन्छ । हामीले हरेक ठाउँमा पीओएस, क्युआर कोड, डेबिट÷क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङलाई फोकस गरेर सेवा दिइरहेका छौं । त्यो खालको व्यवस्थापन र सुविधा हामीले दिइरहेका छौं । कुनै पनि समस्या पर्यो भने हामी तत्कालै समाधान गर्न सक्छौं ।

अर्को मूख्य कूरारेमिट्यान्ससँग सम्बन्धित प्रोडक्ट ल्याउँदैछौं । जसले विदेशबाट पैसा पठायो भने हाम्रो १ सय ६० वटै शाखामा रहेका ग्राहकका खातामै पठाउन सकिन्छ । डिजिटल बैंकिङमा यो अर्को फड्को हो । हामी दावी गर्छौं, हामीले दिने सेवामा कुनै पनि समस्या हुँदैन । चार्ज तथा शुल्क पनि अरु बैंकभन्दा कम लिन्छौं । त्यसैले माछापुच्छ्रे बैंकको नै प्रोडक्ट प्रयोग गर्न म आम नागरिकहरुमा अनुरोध गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.