नेपाल इन्भेष्टमेण्ट बैंकको १८.५ प्रतिशत लाभांश पारित

  २०७७ माघ ८ गते १२:४१     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)को प्रस्तावित १८.५ प्रतिशत लाभांश पारित भएको छ । माघ ८ गते सम्पन्न बैंकको ३४ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

यससँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १३ प्रतिशत बोनस र ५.५ प्रतिशत नगद गरी कूल १८.५ प्रतिशत लाभांश पाउने छन् । साधारण सभाको अध्यक्षता बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले गरेका हुन् ।

बैंकले महामारीको स्थितिलाई मध्यनजर गर्दै साधारण सभा भर्चुअल रुपमा सम्पन्न गरेको हो । सभामा आर्थिक वर्ष २०७६/७७ मा बैंकका प्रमुख उपलब्धी, भविष्यका योजना, कार्यसम्पादन लक्ष्य र रणनीतिका बारेमा छलफल भएको थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश घोषणा, बोनसदर बढ्यो

यस वर्ष बैंकले ३ अर्ब ५१ करोड रुपैयाँ सञ्चालन नाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७६/७७ मा बैंकको खुद नाफा २ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ भने बैंकको कुल चुक्ता पुँजी १४ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६/७७ मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल १५२ अर्ब रुपैयाँबाट वृद्धि भई १६६ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी कुल लगानी अघिल्लो वर्षको १२७ अर्बबाट वृद्धि भइ १४१ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकले ८३ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आएको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन-युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी-नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.