दमाैलीकाे सिसाघाटलाई नयाँ शहरको रुपमा विकास गरिने

  २०७७ माघ ८ गते १२:२२     विकासन्युज

दमाैली । तनहुँको व्यास नगरपालिकाले वडा नं ६ को सिसाघाटमा नयाँ शहरको अवधारणा ल्याएको छ । बुधबार बसेको नगरकार्यपालिकाको बैठकले सिसाघाट क्षेत्रलाई नयाँ शहरको रूपमा विकास गर्ने निर्णय गरेको हो । नगरपालिकाको पारस्परिक कोषसमेत नगर विकास कोषको अनुदानमा सहयोगमा सिसाघाटमा नयाँ शहरको अवधारणा ल्याइएको नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । त्यसका लागि प्रस्ताव तयार गरी नगर विकास कोषमा स्वीकृतिका लागि पठाउने निर्णय भएको छ ।

बैठकले कृषि तथा पशुपक्षी व्यवसायमा आबद्ध कृषकले कृषि प्रयोजनका लागि निर्माण गर्ने अस्थायी संरचना करको दायरामा नआएकाले कृषि तथा पशुपक्षी व्यवसायमा आबद्ध कृषकलाई करको दायरामा ल्याउने निर्णय गरेको छ । नगरपालिकाका शाखा अधिकृत एवं प्रवक्ता मेघनाथ आचार्यका अनुसार त्यस्ता संरचना निर्माण गर्दा भौतिक संरचनामा प्रतिवर्गफिट १०० का दरले नक्सापास दस्तुर लिने निर्णय भएको छ । साथै नगरपालिकाको कार्यालय परिसरको उत्तरतर्फ नगर विकास कोषको सरल ऋण तथा अनुदान एवं नगरपालिकाको पारस्परिक कोषको संयुक्त लगानीमा प्रस्ताव गरिएको बहुउद्देश्यीय भवन निर्माणका लागि नगर विकास कोषसँग सम्झौता गर्ने निर्णय बैठकले गरेको छ । बैठकले नगरपालिकालाई आवश्यक पर्ने विभिन्न ऐनहरुको मस्यौदा तयार गरी नगर कार्यपालिकाका पेश गर्न विधायन समितिलाई निर्देशन दिनुका साथै बाल अधिकार संरक्षण तथा संवद्र्धनसम्बन्धी कार्यसञ्चालन कार्यविधि पारित गरेको छ ।

मादीनदीको प्राकृतिक साधन उपयोग कर असुलीका लागि कार्यालयले खोलेका विभिन्न घाटहरुबाट हुने कर असुली प्रक्रियालाई थप कडाइका साथ पारदर्शी एवं व्यवस्थित गराउनका लागि आवश्यक व्यवस्था मिलाउनुका साथै घाटमा बस्ने कर्मचारीका लागि आवश्यक अस्थायी बिट तत्कालै निर्माण गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.