२०७७ माघ ८ गते ११:२१ विकासन्युज
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको नाफा २७.२६ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशत बढीले बढेको हो।
चालु आर्थिक वर्षको पुस मसान्त अर्थात ६ महिनामा बैंकले ८७ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १८ करोड ७४ लाख रुपैयाँले बढी हो । बैंकले गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ६८ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकले १ अर्ब ६१ करोड रूपैयाँ खुद व्याज आम्दानी गरेको छ । जुन गत आवको तुलनामा १२ प्रतिशतले बढी हो । बैंकले गत आवको सोही अवधिमा एक अर्ब ४३ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा बढेर १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।
९ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ४३ करोड रुपैयाँ सञ्चित रहेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप बढेर १ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी पनि बढेर ८७ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ।
बैंकले खराब कर्जा बढाएको छ । गत वर्षको पुस मसान्तसम्ममा ०.९९ प्रतिशत रहेको खराब कर्जा अनुपात यस वर्षको पुस मसान्तसम्ममा बढेर २.४२ प्रतिशतमा पुगेको छ । त्यस्तै, आधार दर र व्याज अन्तर (स्प्रेड) दर घटेर क्रमशः ८.२५ प्रतिशत र ४.०८ प्रतिशत छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी बढेर १७.८३ रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको ६ महिनामा १५.१३ रुपैयाँ रहेको थियो । त्यसैगरी, बैंकको प्रतिसेयर नेटवर्थ १४३.९५ रुपैयाँ, प्रतिसेयर कूल सम्पत्ति मूल्य १३०६ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनपात १६.५५ गुणा रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.