गभर्नरले कर्मचारीलाई भनेः रोजगारीको संकट छ, बैंकको जागिर हो, अवसर ठानेर काम गर्नुस्

  २०७७ माघ ७ गते १५:२३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्मचारीहरुलाई अनुशासित भई संस्थाको हित हुने किसिमले काम गर्न अनुरोध गरेका छन् । बुधबार कृषि विकास बैंकको ५४ औं वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै उनले कर्मचारीहरुलाई अनुशासित भएर काम गर्न अनुरोध गरेका हुन् ।

कार्यक्रममा कृषि विकास बैंकका कर्मचारीहरुहरुसँग सम्बन्धित युनियनका प्रतिनिधिहरुले आफुले बैंकबाट पाउनु पर्ने सेवा सुविधा नपाएको, बैंक व्यवस्थापनले कर्मचारीको वृद्धिविकासमा खासै वास्ता नगरेको गुुनासो गरपछि गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

अधिकारीले सम्बोधन गर्दै भने, ‘अहिले संसारभरीका मानिस धमाधम वेरोजगार भइरहेका छन्, रोजगारीको संकट छ, अरु मानिस वेरोजगारी भइरहेको अवस्थामा हामीले त कमसेकम बैंकमा जागिर पाएका छौं, अनुशाशित भएर काम गरौं, यस्तो विषम परिस्थितीमा यो चाहियो उ चाहियो भनेर असहन परिस्थिती सिर्जना गर्नु हुँदैन ।’

उनले कर्मचारीहरुलाई आफ्नो काममा निरन्तरता दिन पनि सुझाव दिएका छन् । ‘खाईपाई आएको सेवा सुविधा व्यवस्थापनले नगर्ने होइन पक्कै गर्नेछ, तर यस्तो अवस्थामा कर्मचारीहरुले आफ्नो संस्थामा डेडिकेटेड भएर काम गरौं, बैंकको हकहित र आफ्नो वृद्धिविकासमा लाग्नै पर्छ । कारोबारलाई असजिलो पार्ने, आदी इत्यादी कूरामा लाग्ने समय यो होइन । कोरोना भाइरसले हामी सबैलाई असर पुर्याएको छ । यस्तो बेलामा सबैले समझदारी रुपमा काम गरेर व्यवस्थापनलाई सहयोग गर्नु हुनेछ भन्ने मेरो हो,’ उनले भने ।

बैंकका कर्मचारीका दुई युनियनका प्रनिधिहरुले आफुहरुले कोरोना महामारीमा पाउनु पर्ने जोखिम भत्ता, अन्य बोनस सुविधा नपाउको गुनासो गरेका थिए । उनीहरुले आफुहरुले पाउनु पर्ने सेवा सुुविधा नपाए आन्दोलनमा समेत जान सक्ने चेतावनी बैंक व्यवस्थापनलाई गरेका थिए । त्यसको प्रतित्तोरमा गभर्नरले सो कूरा भनेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.