साना तथा मझौला कर्जा लगानीमा यसरी भयौं एक नम्बर बैंक: सीईओ उपाध्यायकाे विचार

  २०७७ माघ ७ गते १४:५६     अनिल उपाध्याय

वि.स २०२४ सालदेखि २०७७ सालको ५४ औं वर्षको हाम्रो यात्रा आज माघ ७ गतेसम्म आइपुगेर ५४ औं वार्षिकोत्सवको समारोह मनाइरहँदा हामीलाई माया गर्ने ग्राहक, किसान, उद्यमी, सेयरधनी, नेपाल सरकार, राष्ट्र बैंक, धितोपत्र बोर्ड र विभिन्न दातृ संस्था लगायत सबैलाई निरन्तर सहयोग, सद्भाव र स्नेहका लागि आभार एवम् धन्यबाद दिन चाहन्छौं ।

करिब २७७ अर्ब रुपैयाँको कर्जा, निक्षेप र ४६ अर्ब जमानत कारोबार गरिरहेको हाम्रो बैंकका करिब १५ लाख भन्दा बढी  ग्राहकहरु र करिब ३ लाख सेयर धनीहरु २७८ वटा कार्यालय सञ्जालसँग आवद्ध हुनुहुन्छ ।

वित्तीय सेवा प्रदान गरिरहँदा हामीले विकास बैंक हुँदै गरिवी निवारणको कार्यक्रमलाई सफलताकासाथ सञ्चालन गरी आज आधुनिक प्रविधिमैत्री बैंक बन्न सफल भएका छौं ।

ग्रामिण अर्थतन्त्र एवम् कृषिलाई पुनः नेतृत्व गर्न अगुवा बैंकको भूमिका निर्वाह गरी किसानलाई प्रविधिमैत्री डिजिटल कारोबारमा आवद्ध गर्न ‘कृषि बण्ड’ र ‘किसान क्रेडिट कार्ड एवम् सूचनामुलक एप’ आजको मितिदेखी अर्थमन्त्री विष्णु पौडेलको उपस्थिती तथा बाहुलीबाट शुुभारम्भ गर्न पाउँदा हामी फेरि आम नागरिक एवम् कृषक उद्यमीहरुको भरोसाको केन्द्रको रुपमा यस बैंकलाई बनाउन पाएकोमा आभारी छौं ।

किसान कार्डको विशेषता
पहिलो चरणमा आज ६ अर्बको कृषि बण्ड र यस वर्ष २४ अर्बको बण्ड निश्कासन गर्न आजकै दिनमा २६ वटा ‘क’ वर्गको बैंक र एक पूर्वाधार विकास समक्ष दरखास्त आव्हान गर्न सफल भएका छौं । यस कार्यले देशको कृषिसँग सम्बन्धित उत्पादनबाट आयात प्रतिस्थापन गर्न सघाउने र स्वरोजगार तथा आर्थिक गतिविधि बढाउने र कृषि कारोबार वृद्धिको साथै अन्य कारोबारको विद्युतीय भुक्तानी प्रणाली समेत बलियो र भरपर्दो हुने विश्वासमा छौं ।

वित्तीय बजारको करिब ४ प्रतिशतभन्दा माथि हिस्सा ओगटेको यस बैंकले सम्पूर्ण प्रविधिमैत्री सेवा प्रदान गर्दै गएकोमा कोभिड–१९ को लकडाउनमा करिब ३ लाख मोबाइल बैंकिङ सेवा प्रदान गर्दै डिजिटल प्रविधि बैंकको नयाँ खुड्किलोमा सहकार्य गर्न सफल भएको छ । संघीय र प्रदेश सरकारसँगको कार्यक्रमलाई पनि हाम्रो मूल कार्यक्रममा समाहित गर्दै आफ्ना अत्याधुनिक प्रविधिको कोर बैंकिङ प्रणाली मार्फत २७८ वटा कार्यालयहरुबाट कूल कर्जाको ८५ प्रतिशतभन्दा बढी हिस्सा १५ लाख भन्दा कम रकमका साना तथा मझौला कर्जामा लगानी गरेको एक मात्र वाणिज्य बैंक भएका छौं ।

बैंकले आफ्ना ग्राहक, नियामक निकायहरुसँग राम्रो व्यावसायिक सम्बन्ध कायम गरेको छ, आगामी दिनमा अझ फराकिलो र बलियो सम्बन्ध कायम गर्दै लैजाने विश्वास दिलाउन चाहन्छु । बैंकले व्यवसाय संचालनमा सरोकारवाला सेयरधनी नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत विभिन्न नियमकारी निकायहरु, ग्राहकहरु, दातृ निकायहरु, बैंकका युनियनकर्मीहरु, अन्य सम्बन्धित पक्षहरुसँग असल व्यवसायिक वातावरण र सम्बन्ध कायम गर्दै आएको छ । बैंकको औद्योगिक एवं व्यावसायिक सम्बन्धले बैंकको समग्र कारोबार चुस्त, दुरुस्त, प्रतिस्पर्धी एवम् नाफामूलक मात्र नभई वितरण प्रणालीलाई समेत प्रभावकारी बनाउन आगामी दिनमा समेत यस दिशातर्फ सूधार हुने कुरामा विश्वस्त रहन अनुरोध गर्दछौं । विवेकशील नियमको पालना गर्दै गत वर्षझैं यस वर्ष पनि निर्धारित समयमै वार्षिक साधारणसभामा सम्पन्न गरी कोभिड–१९ को विषम परिस्थितिका बावजुद १५ प्रतिशत लाभांश वितरण गर्न सफल भएका छौं ।

२००० को हाराहारीको जनशक्तिले आज बैंकले आफ्ना खर्चहरुलाई क्रमशः न्युनीकरण गर्दै बेस रेट ७.६६ प्रतिशत र सञ्चालन खर्च करिब २ प्रतिशतको हाराहारीमा पुर्याउन सफल भएकोमा सर्वप्रथम संचालकज्युहरुलाई समेत यसै मञ्चबाट आभार व्यक्त गर्न चाहान्छु । अबको हाम्रो रोडम्याप भनेको इन्फ्ल्यासन रेटको हाराहारीमा बेस रेट राखी सरल र सुलभ सेवा प्रदान गरी उच्च प्रतिफल र सबैको पहुँचको, सबैको भरोसाको, सबैको ‘घरआँगनको बैंक’ बनाउनु रहेको छ ।

अन्तमा, देशको दुर्गमदेखि सुगमसम्मका सबै जिल्लामा वित्तीय पहुँच पुर्याउँदै सम्पूर्ण बैंकिङ सेवा प्रवाह गरिरहेको यस बैंकलाई ५४औं वर्षगाठसम्मको सुखद अवसरमा रुपान्तरण गर्दै सफल इतिहास बनाउन योगदान, हौसला र उर्जा प्रदान गर्नुहुने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, सेयरधनी महानुभावहरु, बैंकको संचालक समिति, बैंकको विकास र समृद्धिको यात्रामा आफ्नो अमूल्य योगदान पुर्याउनु हुने बैंकका अवकास प्राप्त कार्मचारीहरु, युनियनकर्मी साथीहरु, कर्मचारीहरु, बैंकका तमाम ग्राहकहरु, बैंकका बारेमा सत्यतत्थ समाचार प्रेषित गरी सहयोग गर्ने पत्रकार मित्रहरु लगायत सबैलाई विशेष धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राख्दै बैंकको ५४औं वार्षिकोत्सव समारोहमा स्वागत गर्दछु । 

(कृषि विकास बैंकका सीईओ उपाध्यायले बैंकको ५४ औं वार्षिकोत्सव कार्यक्रममा राखेको धारणा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.