कफी पिउने र बनाउनेकाे जक्सन बन्दै दरवारमार्गकाे अरेबिका कफी

  २०७७ माघ ७ गते ९:३४     नरेन्द्र रौले

काठमाडौं । कोरोना महामारीको असरले सबै क्षेत्रलाई आक्रान्त बनाईरहेको छ । धमाधम कम्पनीहरु बन्द हुँदैछन् । चलिरहेका मध्ये कतिले कर्मचारी कटौति गर्दैछन् । ठिकठिकै चलिरहेको व्यवसायबाट सन्तुष्ट नभएर कतिपय पलायन हुने क्रम बढ्दो छ ।

कोरोनाले संकट निम्त्यिाएको बेला सिन्धुपाल्चोकका विकास भण्डारीले २ करोड रुपैंयाँको लगानीमा नयाँ क्याफे सुरु गरेका छन् । दरबारमार्गस्थित नबिल बैंकको केन्द्रिय कार्यालयको गेटै अगाडी छ, अरेबिका कफी । यसलाई नेपाली ब्राण्डका रुपमा स्थापित गर्न खोज्दैछन् विकास । अरेबिका कफीको नारा नै राखेका छन्, कफी मेरो साथी ।
कफी भन्ने बित्तिकै हुरुक्कै हुन्छन् विकास । कफीप्रति उनको मोह गहिरो छ । २९ वर्षे यी युवाले कफीकै कारण २८ देश चहारिसके । कतै कफी मेकिङको तालिम लिन त कतै कन्फ्रेन्समा भाग लिनका लागि पुगे । नयाँ–नयाँ कुरा सिकौं भन्ने हुट्हुटिले फरक–फरक देश चहार्नु उनको नशा नै बनिसकेको छ ।

‘हामी ग्राहकहरुको रोजाई अनुसार कफी बनाउछौं’ केही दिन अगाडी दरबारमार्गको अरेबिका कफीमा एक साँझ गफिदै विकासले सुनाए, ‘अन्य क्याफेमा त्यस्तो सुविधा पाईदैन ।’ अलि बढी आत्मविश्वासी देखिएका उनले अरेबिकाको विशेषताका बारेमा बिस्तृतमा सुनाए । यस क्याफेको मेनुमा लाइट् रोस्ट, मिडियम रोस्ट र डार्क रोस्ट गरी तीन थरी स्पेशल कफी उपलब्ध छन् । सञ्चालक विकासका अनुसार यहाँको कफी वल्ड क्लास कफी इक्वीप्मेन्ट प्रयोग गरेर बनाइन्छ । ९ वर्षको अनुभव संगालेका सेफ अजय थापाका अनुसार कफी बाहेक थाइ सुप (हट्, सावर, स्वीट्, स्पाइसी), पास्ता, बर्गर, मम: र स्यान्ड्वीच यस क्याफेको मेनुमा उपलब्ध छन् । विहान ७ बजे खुल्ने क्याफे राती १० बजेपछि बन्द हुन्छ ।

दरबारमार्गमा अरेबिका कफी अंग्रेजी नयाँ वर्ष २०२१ देखि सञ्चालनमा आएको हो । कफीसप, सेटअप, शोरुम, फर्निचर लगायत सबै गरेर यसको लागत खर्च २ करोड रुपैंयाँ पुगेको सञ्चालक विकासले बताएका छन् । तीन हप्तामै राम्रो प्रतिक्रिया पाएको उनी बताउछन् । दरबारमार्गमा क्याफे सुरु गर्नुअघि दुई वटा क्याफे चलाईसकेका उनले कफीका रियल पारखी भने दरवारमार्गमै भेटे । दिनमा एकै जनाले फरक समयमा ५, ६ कपसम्म कफी पिएको उनले भेटेका छन् । लोकेसनका हिसाबले पायकपर्ने ठाउँ भएर होला यहाँ कफी पारखीहरुको बाक्लै जमघट भईरहन्छ । नियमित क्याफे चहारिरहने बैंकर्स, कुटनीतिज्ञ, कर्पोरेट हाउसका कर्मचारी, सेलिब्रिटीहरुसँग नियमित उनको संवाद भईरहन्छ । कम उमेरमै क्याफे चलाएको देख्दा उनको तारिफ गर्नेहरु पनि उत्तिकै छन् ।

९ जना स्टाफबाट सुरु भएको अरेबिका कफीमा ५ जना स्टाफ थपिदैछन् । क्याफेको अन्डरग्राउन्डमा ठूलो स्पेश छ । जहाँ वरिस्ता स्कूल, रोस्टरी मेसिनको शो रुम हुनेछ । दैनिक तीन सिफ्टमा कफीको तालिम सञ्चालन हुँदैछ । एक सिफ्टमा पाँच जना मात्र राखिने छ । विकासले कफी बनाउने कलाबारे तालिम दिनेछन् । उनले स्पेसियालिटी कफी एसोसियन (एससिए) को कोर्ष नेपालमै दिने तयारी गरिरहेका छन् । विश्वकै ठूलो कफी एशोसियन स्पेसियालिटी कफी एसोसियन (एससिए) को आधिकारिक ट्रेनर हुन् उनी । १५ दिनको यो कोर्ष गर्नका लागि २० हजार रुपैयाँ खर्चिनु पर्ने छ । एकदमै सीप भएको जनशक्ति उत्पादन गर्ने आफ्नो योजना भएको उनले बताए ।

अरेबिका कफीले कफी मात्र बेच्दैन । कफी मेसिन, कफी ग्रान्डर (कफी पिस्ने मेसिन), रोस्टेड विन, काँचो कफी, सुगर पनि बिक्रि गर्दै आएको छ । कफीको व्यापार गर्न चाहनेहरुलाई विकासले कन्सल्ट्यान्टको काम पनि गर्दै आएका छन् ।

चोकै पिच्छे, पाइलै पिच्छे अचेल क्याफेहरु खुलिरहेका छन् । चुनौतिहरु पनि उत्तिकै थपिएका छन् । यो क्षेत्रमा एक प्रकारको अस्वस्थ प्रतिष्पर्धा भईरहेको विकासले नजिकबाट नियालेका छन् । उनले बजारमा जनशक्तिको कमी पनि उत्तिकै देखेका छन् । बजार सानो छ । तर, गुणात्मक भन्दा संख्यात्मक बृद्धि भईरहेको, देखासिकीमै क्याफेहरु खुलेको उनको धारणा छ ।

विकासको कफी प्रेम
विकास कफीमा लागेको १० वर्ष भयो । कफीकै व्यापार गरेको भने चार वर्ष भयो । कफीका अन्तर्राष्ट्रिय प्रदर्शनी र मेलाहरुमा सकेसम्म उनले भाग लिए । कफी मोहका कारण उनी २८ देश पुगे । उनले कतै तालिम लिए, कतै कफी फार्म भिजिट् गरे । उनी एक वर्ष अस्ट्रेलिया बसे । विश्वको सबैभन्दा बढी कफी कल्चर भएको देश अस्ट्रेलियामा एक वर्ष उनले कफीकै बारेमा अध्ययन गरे । अध्ययनसँगै उनले एक वर्ष क्याफेमा काम गरे ।

विदेशमा बस्ने थुप्रै अवसरहरु भएपनि स्वदेशमै केही गर्ने इच्छाले विकास नेपाल फर्किए । जे गरे पनि आफ्नै देशमा गर्छु, आफ्ना लागी गर्छु र आफै गर्छु भन्ने कुरामा उनी अडिग छन् । ‘म चरा जस्तै स्वतन्त्र हुन चाहन्छु ।’ उनले सुनाए, ‘मेरो योजना भनेको हरेक वर्ष नया देश पाइला टेक्ने हो ।’

अहिलेसम्म २ हजार बढीलाई तालिम दिईसकेको विकास सुनाउँछन् । ‘कफी नै मेरो साथी भईसक्यो ।’ हँसिलो चेहरामा उनी भन्छन्, ‘मलाई भगवानले नै कफीको व्यापार गरेर खाउ भने जस्तो लाग्छ ।’ यो पेशामा टिकिराख्न धैर्यता, लगनशिलता, इमानदारिता, मिहिनेतको जरुरी हुने उनी बताउँछन् ।

भावी योजना
विकास नेपाली कफीलाई अन्तराष्ट्रिय बजारमा फैलाउन चाहन्छन् । अरेबिका कफीलाई नेपालका विभिन्न शहरमा विस्तार गर्ने योजनामा छन् उनी । यसैको फ्रेन्चाइज खोलेर सबैमा राम्रो गुणस्तर दिने उनको सोच छ । उनी चाहन्छन्, नेपालमा सबै वर्गले कफी पिउन सकोस् । उचित मूल्यमा कफी बिक्री गर्ने उनको इच्छा छ ।

आउने ५ वर्षमा के के गर्ने ? उनले योजना बुनिसकेका छन् । केही वर्षमै उनले इटालिको युनिभर्सिटी डि इलीबाट कफी इकोनोमिक्स एण्ड साइन्समा एम गर्ने उनले तयारी गरिरहेका छन् । ३५ देखि ४० वर्षको बीचमा भने अमेरिकाबाट पिएचडी गरिसक्ने उनले सोच छ । कमाएको १० प्रतिशत रकम सामाजिक सेवामा खर्चिरहेको विकासले सुनाए । टुहुरा वालवालिका, शारीरिक असक्त, अपांग, अवसर नपाएका वालवालिकाको शिक्षाका लागि सहयोग गरिरहेको उनले बताए ।

‘म रकेट टाइपको मानिस हो ।’ छुट्टिने बेला उनले सुनाए ‘बिना योजना हिंड्यो भने मानिस दुर्घटनामा पर्छ । धोका पाइन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.