स्वरोजगार बन्छु भनेर आउने युवालाई माग गरे जति बजेट दिन सक्छौंः अध्यक्ष अधिकारी

  २०७७ माघ ६ गते १८:०६     विकासन्युज

कालिका रसुवा जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो । यो गाँउपालिका पर्यटकिय स्थलको रुपमा पनि चर्चित छ । गाँउपालिका रसुवा जिल्लाको सदरमुकाम धुन्चेबाट २४ किमी दक्षिणपूर्व तिर रहेको छ । नेपालमा अन्य पहाडी भेगले ओगटेको गुणझैैं यस गाँउपालिकाले पनि सम्पूर्ण गुण ओगटेको छ । गाँपालिकामा ठूला योजना तथा परियोजनाहरु के–के छन् ? खेलकुदका योजनाहरु के-के छन् ? कोरोनापछि गाँउपालिकाले विकास निर्माणका कामहरु कसरी अगाडि बढाइरहेको छ ? कोरोनाले शैक्षिक क्षेत्रमा कस्तो असर पुर्यायो ? भन्नेलगायतका विषयमा सो गाँउपालिकाका अध्यक्ष सीताकुमारी (पौडेल) अधिकारीसँग विकासन्युजका राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश ।


कोरोना भाइरसपछि गाँउपालिकाले विकास निर्माणको कामहरु कसरी अगाडि बढाइरहेको छ ?

कोरोनाको समयमा पनि केहि विकास निर्माणकाे कामलाई अगाडि बढायाैं । गाँउपालिकाको विकास निर्माणमा कोरोनाले धेरै असर नपुर्याए पनि केही असर भने पक्कै भयो । कोरोनाको समयमा हामीले प्रदेशबाट आएको बजेटको सडकको स्तरोन्नती गरेका छौं भने गाँउपालिकाले छुट्याएको सडकका स्तरोन्नती पनि गरेका छौं । सामुदायिक भवनको काम र टोलको बाटोको निर्माण गर्ने काम पनि गर्यौं । गाँउपालिकामा ५ वटा वडा रहेका छन् । वडा वडामा मात्र नभएर टोल टोलमा सडक पुगिसकेको छ । मजदुरलाई पनि कोरोनाको समयमा जीवनयापन गर्न कठिन भएको छ ।

गाँउपालिकामा कस्तो किसिमको योजानालाई प्राथमिकता राखेर काम गरिरहनु भएको छ ?

हामीले धेरै योजनालाई प्राथमिकता राखेर काम गरिरहेको छौं । तर हाम्रो गाँउपालिकाले विशेष गरेर स्वास्थ्य, शिक्षा, कृषि, पर्यटनलाई बढी मात्रामा प्राथमिकता राखेका छौं ।

गाँउपालिकाका ठूला योजना तथा परियोजनाहरु के-के छन् ?

गाँउपालिकामा खासै ठूला योजना त छैनन् । प्रदेशको साझेदारी कार्यक्रममा सित भन्डारण निर्माण कार्यक्रम रहेको छ । यसको करिब ७० प्रतिशत काम भइसकेको छ । गाँउपालिकामा १५ सय बेड अस्पतालको शिलान्यास भइसकेको छ । अस्पताको निमार्णको लागि करिब १५ करोडको योजना छ । हामीले पर्यटकीय क्षेत्र बृहत बनाएर काम गर्ने भनेर पिकनिक स्पोर्ट निर्माण गर्न, भ्यूटावरको निर्माण गर्ने, पदमार्ग बनाएर गोसाइँकुण्डसम्म जाने भन्ने योजनो छ । स्याउबारी पिकनिक स्पोर्ट, बुद्धटार निमार्ण भ्यू टावर निर्माण यो योजनाको नाम रहेको छ । यसको लागि ९ कारोड रुपैयाँमा डीपीआर तयार भइसकेको छ ।

स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ ?

हामीलाई बेला बखत प्रदेश सरकारबाट पत्राचार भइरहेको छ । कोरोनाले गर्दा भेटघाट हुन सकेको छैन । कृषि सडकको कालोपत्रे गर्ने भनेर प्रदेश सरकारबाट लागभग ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । केहि योजनाको डीपिआर गरेर प्रदेश सरकारमा पठाउने काम भइरहेको छ । प्रदेश सरकारले विशेष गरेर शिक्षा क्षेत्र, बालमैत्री विद्यालयमा बनाउने जस्ता काममा समन्वय गरेका छौं । कोरोनाको समयभन्दा पहिला प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरेको थियो । हाल यस्ता कार्यक्रमहरु भने सञ्चालन हुन छाडेका छन् ।

स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के-के आइपर्छन् ?

स्थानीय तहमा काम गर्दा धेरै समस्या आइपर्छन् । सबै काम स्थानीय तहले नै गर्छन् भन्ने जनताले ठान्छन् । हामीले धेरै ठुला योजनाको कार्यान्वयन पनि गर्ने सक्दैनौं । हामीलाई धेरै समस्या छ । जस्तो कृषि विकासको लागि कृषि विज्ञ चाहिन्छ । कृषि विज्ञ धेरै गाँउपालिकामा रहेका छैनन् । कृषिमा हामीले राम्रो काम गर्ने सकेका छैनौं । लोकसेवा पास गरेर आउनु भएका कर्मचारीको पनि सिकाइ प्रक्रिया जारी नै रहेको छ । गाउँपालिकामा यस्ता सानातिना धेरै समस्याहरु छन् ।

केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ?

केन्द्र सरकारबाट ठुला योजना हाल्नु पर्ने थियो । तर गाँउपालिकामा ठूला योजनाहरु परेको छैन । मन्त्रीहरु भएको भए ठूला योजनाहरु आउँथे होला, जिल्लामा मन्त्री छैनन् । ठूला बजेटहरु गाँउपालिकामा आएको छैन । पिकनिक स्पोर्ट निर्माण गर्न, भ्यू टावरको निमाण गर्न राष्ट्रिय यजना आयोगबाट रकम विनियोजन भएको छ । राष्ट्रिय योजना आयोगबाट केहि बजेट आएको छ । तर केन्द्र सरकारबाट ठूला बजेटहरु आउन सकेको छैन । केन्द्र सरकारबाट वार्षिक १७ करोड जति विकास बजेट भनेर आउने गर्छ ।

आफ्नो गाँउपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचार प्रसार कसरी गरिरहनु भएको छ ?

गत वर्ष पनि पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने भनेर योजना राखेका थियाैं तर कोरोनाले धेरै असर पुर्यायो । हाम्रो गाँउपालिका वडा नं २ को स्याउ बारी भने क्षेत्र एकदमै सुन्दर छ । यो ठाँउलाई प्रचार-प्रसार गर्ने र पर्यटकीय विकास गर्न बाह्य तथा आन्तरिक पर्यटक ल्याउन, गोसाइँकुण्ड जाने भन्ने हाम्रो योजना रहेको थियो । यसलाई पर्यटन बोर्डले पनि छुट्याएको छ भन्ने सुनिन्छ । पर्यटन क्षेत्रको लागि हामीले १ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएका छौं ।

कोरोना भाइरसकले शैक्षिक क्षेत्रमा कस्तो असर पुर्यायो ? हालको शैक्षिक अवस्था कस्तो छ ?

कोरोना भाइरसले विद्यार्थी र शैक्षिक क्षेत्रमा ठुलो असर पुर्याएको छ । लकडाउनको समयभर गाँउपालिकाका विद्ययालयहरु बन्द भए । विभिन्न विद्यालयका सञ्चालक समिति, अध्यक्ष, अभिभावकसँग निर्णय गरेर १ महिना सम्म विद्यायललाई कसरी सञ्चालन गर्ने भन्ने बारेमा छलफल गर्यौं । गाँउपालिकामा इन्टरनेटको कमि र रेडियो माध्यमबाट पठनपाठन सञ्चालन गर्यौं । तर यो माध्यमबाट पनि पठनपाठन सञ्चालन गर्दा प्रभावकारी बन्न सकेन । कलेजमा केहि महिना अनलाइन माध्यमबाट पठनपाठन गर्यौं । हाल भने गाँउपालिकामा कोरोनाको प्रभाव छैन । गाँउपालिकामा कोरोनाको प्रभाव नभए पनि सोनिटाइजर,माक्स को प्रयोग गरेर विद्यालयको पठनपाठन सञ्चालन गरिरहेको छौं । गाँउपालिकामा रहेका सबै विद्यालयको पठनपाठन निरन्तर रुपमा सञ्चालन भइरहेका छ ।

गाँउपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

युवाको लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम पनि छ । रोजगारी बन्नको लागि युवाहरु आफैमा शसक्त हुनु पर्छ । हामीले गत वर्ष विदेशबाट फर्केका युवाहरुलाई प्रपोजल ल्याएर मिलेर काम गर्नु होस् भन्ने लगायतका सुचना पनि प्रकाशन गरेका थियौं । स्वरोजगार बन्छौं भनेर युवाहरु आएमा गाँउपालिकाले जति पनि बजेट छुट्याएर दिन सक्छौं । हाम्रो गाँउपालिकमा हिमाली र पहाडी क्षेत्र छ । हामीले उद्यम विकास कार्यक्रम पनि लागू गरेका छौं । १०० जना उद्यमी नयाँ निकाल्ने र ५० जना उद्यमी पुरानो पनि भनेका छौं । ती उद्यमी मार्फत पनि हामी रोजगारी सिर्जना गर्छौं । लगभग हाम्रो ४२ लाख रुपैयाँको कार्यक्रम रहेको हुन्छ त्यसमा सबै कर्मचारीको व्यवस्थादेखि विभिन्न आधारमा कार्यक्रम गर्छौं ।

गाँउपालिकाले खेलकुद विकासको लागि के कस्ता योजनाहरु राखेको छ ?

विद्यालयमा प्रत्येक वर्ष खेलकुद प्रतियोगिता राख्ने गरेका छौं । हामीले प्रत्येक वर्ष राष्ट्रपति रनिङ्गसिल्ड खेलकुद प्रतियोगिता राख्ने गरेका छौं । कराते, बक्सीङ्ग, भलिबल लगायतका खेलहरु गाँउपालिकमा आयोजना गर्छौं । युवाहरुको लागि खेलकुद मैदानको पनि आवश्यक रहेको छ । खेलकुदको जग्गाको लागि हामीले एकैपटक ३५ लाख रुपैया बजेट विनियोजन पनि गरेका थियौं ।

गाँउपालिकाले कृषि विकासका लागि के-कसरी काम गर्दै आएको छ ?

कृषि विकासको लागि हामीले किसानहरुले उत्पादन गरेको दुध बिक्री गर्ने ठाँउ थिएन । गाँउपालिकाले सहकारीसँग मिलेर दुध डेरीको स्थापना गरेका छौं । कृषि अनुदानको पनि कार्यक्रम राखेका छौं । धेरै अनुदानको रुपमा नभई कसैले भैँसी पालन गर्ने, बाख्रा पालन गर्ने कृषकलाई ५० प्रतिशत अनुदान दिने व्यवस्था मिलाएका छौं । अहिले केन्द्रबाट कृषिको कार्यक्रममा तरकारी पकेट क्षेत्र कार्यक्रम आएको छ । यी कार्यक्रमहरु गाँउपालिकाले नै गर्ने हो । किसानलाई चाहिने आवश्यक टनेलहरु, सिचाइँको लागि टनेल ५० प्रतिशत अनुदाको रुपमा उपलब्ध गराउने गरेका छौं । अहिले किसानहरुले तरकारी खेतिमा पनि अगाडि बढि रहेका छन् । विभिन्न तरकारी उत्पादन हुने भएकाले मुख्य उत्पादन यहि हो भनेर यकिन गर्ने सकिने अवस्था छैन । कुनै किसानले वार्षिक रुपमा ४ लाख रुपैयाँ सम्मको तरकारी पनि बेच्दै आएका छन् ।

तपाइको कार्यकालमा गाँउपालिकालाई कस्तो बनाउने योजना छ ?

मेरो कार्यकालमा गाँउपालिकालाई सकेसम्म विकसित बनाउने योजना छ । आजसम्म नेपाल सरकारले बनाएको योजना अनुसारको कार्यान्वयन हुन सकेको छैन । सबै वडामा सकेसम्म कालोपत्रे गर्ने लक्ष्य रहेको छ । सबै वडामा स्वास्थ्य सेवा पुगोस् भन्ने हाम्रो चाहना हो । सबै विद्यालयहरुमा गुणस्तरीय शिक्षाको विकास गर्ने हाम्रो चाहना रहेको छ । कृषिलाई जीवन निर्वाह मात्र होइन व्यावसाहिक बनाउने लक्ष्य रहेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.