लोडसेडिङ गरेको किन स्वीकार्न चाहँदैन प्राधिकरण ?

  २०७७ माघ ६ गते १५:४७     सन्ताेष राेकाया

विगत केही महिना यता नेपालमा लोेडसेडिङ भएको होकि भन्ने नागरिकको शंका व्याप्त छ । दिनप्रतिदिन बेला बखत र पूर्व सूचना बिनै झ्याप–झ्याप्प बत्ती निभेपछि यो शंका नागरिकमा उब्जिनु स्वभाविक नै हो । केही महिनायता बत्ती जानु एउटा नियमित प्रक्रिया जस्तै भएको छ । दिनप्रतिदिन र बेला बखत घरमा बत्ती निभेपछि आम नागरिकमा फेरि लोडसेडिङ हुने होकि भन्ने आभास हुनु कुनै नयाँ विषय होइन । भनिन्छ नि,‘अगुल्टोले होनेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ ।’हो, नेपाली जनताले पनि लामो समयसम्म लोडसेडिङको मारमा खेपेका छन् ।

नेपाल लोडसेडिङमुक्त भएको ३ वर्ष भएको छ । यो ३ वर्षमै नेपाली जनताले लोडसेडिङको पीडा बिर्सन कदापी सक्दैनन् । अहिले बेला बखत बत्ती जाने आउने गरेपछि कतै फेरि लोडसेडिङ भएको त होइन भनेर बुझ्नु र सोच्नु कुनै नौलो विषय होइन नै । यो वर्षको तिहार तथा दिपावलीमा पनि नागरिकले केही समय अन्धकारमा बस्नु पर्यो । नेपाल विद्युत प्राधिकरणले बत्ती नजाने सूचना जारी गरेपनि दिपावलीकै दिन झ्याप्प–झ्याप्प बत्ती जाने समस्याबाट नागरिक टाढा रहन सकेनन् । फलस्वरुप दिपावलीकै दिन काठमाडौं उपत्यका मात्रै होइन देशका धेरै ठाउँमा बत्ती निभ्यो ।

यसभन्दा २/३ वर्षहरुमा बत्ती गएको आभास नपाएका नागरिकले यो वर्षको दिपावलीमा भने निकै सास्ती व्यहोरे । त्यो समस्या हालसम्म निरन्तर रुपमा अघि बढिरहेको छ । विभिन्न समयमा विभिन्न सञ्चार माध्यममा प्राधिकरणले लोडसेडिङ गरेको वा लोडसेडिङ गर्न खोजेको लगायतका समाचारहरु आइरहेका छन् । यी सबै समाचारहरुलाई प्राधिकरणले ‘डिफेन्स’ गर्दै ती सबै ‘भ्रमपू्र्ण ’ भएको भन्दै मित्थ्या बहादूरी देखायो ।

प्राधिकरणले राष्ट्रिय विद्युत प्रणालीमा भारवहन क्षमताभन्दा बढी विद्युत प्रवाह हुँदा केही समय विद्युत प्रवाहमा अवरोध भएको, विद्युतका पोलहरु सार्न, ट्रान्सफर्मर प्रतिस्थापन गर्न, वितरण प्रणालीका पूराना संरचनाहरु पूनर्निमाण गर्न लगायतका कारणले विद्युत प्रवाहमा समस्या आएको बताएर ती समाचारहरुको घोर विरोध विज्ञप्तीमार्फत गर्यो ।

प्राधिकरणको विज्ञप्तीपछि लोडसेडिङ भन्न केही हदसम्म नागरिकले छोडे । तर, त्यसको केही दिनमै अर्थात आइतबार नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले जुम्लाका विभिन्न ठाउँमा लोडसेडिङ हुने भनेर सर्वसाधारणलाई सूचनामार्फत जानकारी गरायो ।
यसअघि विभिन्न कारणले लोडसेडिङ भएको बताउने प्राधिकरणलाई जुम्लाको वितरण केन्द्रले लोडसेडिङ नै भनेर सार्वजनिक सूचना निकालेपछि एक किसिमको आपत्ति नै सिर्जना गर्यो ।

हिजो दिनभर सामाजिक सञ्जालमा विद्युत प्राधिकरणको आलोचना आम नागरिक स्तरबाट भयो । त्यसको डिफेन्सको रुपमा प्राधिकरणले सोमबार साँझ सूचना पठायो कि ‘जुम्लामा लोडसेडिङ नभएर विद्युत दिने तालिका सार्वनिक भएको हो ।’

जुम्ला वितरण केन्द्रले लोडसेडिङ नै भनेको सो सूचनामा नेपाल विद्युत प्राधिरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यले भने ‘जुम्लामा लोडसेडिङ गरिएको होइन, बिजुली दिने तालिका बनाउँदा जुम्लाका नागरिक खुसी छन् ।’ सो कूरा भन्दै गर्दा जनता बिजुली दिने समय तालिका सार्वजनिक गर्दा खुसी होइन कि कहिल्यै बत्ती नजाने गरी व्यवस्थापन गर्दा नागरिक खुसी हुन्छन् भन्ने विषय कार्यकारी निर्देशक शाक्यले बुझेनछन् ।

स्वयमं जुम्ला वितरण केन्द्रले लोडसेडिङ भनेर सार्वजनिक सूचना निकालिसकेपछि प्राधिकरणले बचाउ गर्न खोज्नु कत्तिको उत्तम हो ? त्यो भने स्वयम् कार्यकारी निर्देशक शाक्यलाई नै बढी जानकारी होला । यस्तै, यसअघि पनि प्राधिकरणले पोलहरु सार्न, ट्रान्सफर्मर प्रतिस्थापन गर्न, वितरण प्रणालीका पूराना संरचनाहरु पूनर्निमाण गर्न लगायत कारणले विद्युत प्रवाहमा समस्या तथा अवरोध भएको बताएको थियो । यी विद्युत विकास तथा विस्तारका लागि गर्नु पर्ने अतिआवश्यक काम हुन् । ती कामहरु अघिल्ला वर्षहरु अर्थात प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ हुँदा पनि हुन्थे ।

यी कामहरु नगरे विद्युतको विकास र विस्तार गर्न असम्भव हुन्छ । तर, त्यसको उचित विकल्प र व्यवस्थापन नै मुख्य कूरा हो । घिसिङि प्राधिकरणमा हुँदा पनि ती कामहरु निरन्तर हुन्थे नै । तर, त्यो काम भइरहेको आभास आम नागरिकले कत्ति पनि गरेनन् । अति आवश्यक रुपमा लाइन काटि हाल्नु परे पनि प्राधिकरणले पूर्व सूचना तथा जानकारी आम नागरिकलाई गर्थयो । तर, अहिले न कुनै पूर्व जानकारी दिइन्छ नत निरन्तर रुपमा बिजुली नै ।

यसरी पूर्व जानकारी बिनै दिनप्रतिदिन र बेला बखत बिजुलीको लाइन काट्नु व्यवस्थापकिय कमजोरी र आम नागरिकप्रतिको ठूलो घात बाहेक अन्य हुनै सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.