तनहुँ र चितवन जोड्ने बुद्धसिंह मार्गकाे बल्ल निर्माण शुरु, आठ कराेड २६ लाख खर्च लाग्ने

  २०७७ माघ ६ गते १२:३०     विकासन्युज

दमौली । निर्माण सम्पन्न हुने बेलामा तनहुँ र चितवन जोड्ने बुद्धसिंह मार्गको घुमाउनेमा पक्की पुल निर्माण शुरु भएको छ । विसं २०७५ माघ महिनामा सम्झौता भएको पुल निर्माणको काम अहिले आएर बल्ल शुरु भएको हो ।

ठेक्का सम्झौतानुसार काम भएको भए यतिबेलासम्म अहिले पुल अन्तिम चरणमा पुग्ने भए पनि निर्माण कम्पनीले प्राविधिक कारण देखाउँदै निर्माणमा ढिलाइ गरेको छ । हेटौंडास्थित मृत सञ्जीवनी कम्पनीले पुलको डिजाइन परिवर्तन र मुग्लिङ–नारायणगढ सडक आयोजनाको अवरोधका कारण काममा ढिलाइ भएको जिकिर गरेको छ । उक्त कम्पनीले विसं २०७८ पुस मसान्तसम्म पुल निर्माण सम्पन्न गर्ने गरी ठेक्का प्राप्त गरेको थियो ।

निर्माण कम्पनीले अबको एक वर्षभित्र सक्ने प्रतिबद्धताबमोजिम काम शुरु गरेको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । पटकपटक ध्यानाकर्षण र दवावपछि अहिले आएर बल्ल निर्माण कम्पनीले काम थालेको कार्यालयले बताएको छ । “काममा ढिलाइ भए पनि निर्माण कम्पनीले अहिलेसम्म म्याद थपका लागि कार्यालयमा निवेदन भने दिएको छैन”, कार्यालका सूचना अधिकारी नारायण पौडेलले भने, “म्याद थपको निवेदन आएपछि अवस्था हेरेर मात्र निर्णय हुन सक्छ ।”

ठेकेदार कम्पनीका प्रतिनिधि दिवस उप्रेतीले कोभिड–१९ को महामारीका कारणले समयमा नै काम गर्न नसकिएको जनाउँदै शुरुमा डिजाइन परिवर्तन र मुग्लिन–नारायणगढ सडकको अवरोधले पनि काममा ढिलाइ भएको बताए । “एक वर्षभित्र पुलको आधारभूत काम सक्ने गरी निर्माण शुरु गरेका छौंँ”, इञ्जिनीयर पौडेलले भने ।

हाल तनहुँतर्फको भागमा जग तयार भइरहेको र चितवनतर्फ जमीनमुनिकै काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । केही दिनअघि विघटित प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले निर्माण कम्पनीका प्रतिनिधिलाई पुल निर्माणको कामलाई तीव्रता दिन अनुरोध गरेका थिए ।

एक सय पाँच मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने उक्त पुल आधुनिक ‘आर्क’ डिजाइनमा बन्ने छ । पुलको लागत आठ करोड २६ लाख रहने छ । पुल निर्माण सम्पन्नपछि गण्डकी प्रदेशको राजधानी पोखरासहित विभिन्न जिल्लाका नागरिकलाई चितवनसहित पूर्वी र पश्चिम तराई जान सजिलो हुन्छ । पोखरा–नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंह मार्गको थप स्तरोन्नति र घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराईका विभिन्न जिल्लामा जान समय बचत हुन्छ । उक्त पुल निर्माण
पछि घुमाउनेबाट तनहँु सदरमुकाम दमौली निस्कन अहिले प्रयोग भइरहेको मुग्लिन, आँबुखैरेनी र डुम्रे हुँदै जाने सडकभन्दा २५ किलोमिटर छोटो पर्न जान्छ ।

तनहुँको दमौलीबाट घुमाउनेघाटसम्म नियमित रुपमा साना बस तथा दुई पाङ्ग्रे सवारी साधन आउने जाने गरे पनि दुई पाङ्ग्रे सवारी साधन भने झोलुङ्गेपुल तरेर मुग्लिङ–नारायणगढ सडकमा निस्कन्छन् भने बस तथा अन्य सवारी साधन भने पुलको अभावमा उतै रोकिन बाध्य छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.