ज्योति विकास बैंकले दुई अस्पताललाई दियाे बेबी वार्मर

  २०७७ माघ ५ गते २०:४३     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले महाकाली अञ्चल अस्पताल, कञ्चनपुर र प्युठान जिल्ला अस्पताल, बिजुवार-प्युठानलाई एक-एक थान बेबी वार्मर प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धि “हाम्रो विकास प्रबर्द्वन कोष” बाट उक्त सहयाेग गरेकाे हाे ।

महाकाली अञ्चल अस्पताल र प्युठान जिल्ला अस्पतालमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्त रुपमा सो बेबी वार्मर प्रदान गरिएको हो । बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ ।

महाकाली अञ्चल अस्पतालमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट महेन्द्रनगर शाखाका शाखा प्रबन्धक लक्ष्मण सिंह चोख्याल र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट महिप के.सी द्वारा संयुक्त रुपमा महाकाली अञ्चल अस्पतालका सुपरिटेन्डेन्ट डा. हरि कुमार श्रेष्ठलाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।

प्युठान जिल्ला अस्पतालमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश क्षेत्रका क्षेत्रीय प्रमुख कपिल न्यौपाने, बैंकका बाग्दुला शाखाका शाखा प्रबन्धक दीपक खड्का र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट महिप के.सी द्वारा संयुक्त रुपमा प्युठान नगरपालिका वडा नं ४ प्युठानका वडा अध्यक्ष लक्ष्मी प्रकाश राजभण्डारी,प्युठान अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सबु काफ्ले र अस्पताल व्यवस्थापक राजन घिमिरेलाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।

नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट महाकाली अञ्चल अस्पताल र प्युठान जिल्ला अस्पतालमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुनेछन् । सो कार्यक्रमको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट पीपीई र फेस शिल्ड जस्ता कोरोना भाइरस नियन्त्रण स्वास्थ्य सामग्री समेत अस्पताललाई प्रदान गरिएको थियो ।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्त रुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ। बैंकले १२औं वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा ‘न्यानो नानी’ बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि ८ लाख रुपैयाँ प्रदान गरेको थियो ।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढी खाताबाट करिब ४५ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीलाई करिब ३७ अर्ब ५९ करोड रुपैयाँ लगानी गर्न सफल भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.