तीन सातादेखि नेतृत्वविहिन बीमा समिति, बीमा क्षेत्रका धेरै काम प्रभावित

  २०७७ माघ ४ गते १३:११     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समिति नेतृत्वविहिन भएको तीन साता भएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले आफ्नो कार्यकाल पूरा भएपछि गत पुस १३ गतेदेखि काम छोडेका हुन् ।

समितिमा अध्यक्ष नै कार्यकारी प्रमुख व्यक्ति भएकोले अध्यक्षको अनुपस्थितिमा बीमा समितिको दैनिक काम र बीमा कम्पनीहरुले बीमा समितिबाट लिनुपर्ने स्वीकृतिका फाइलहरु थुप्रिएर बसेका छन् ।

बीमा समिति अध्यक्ष पद रिक्त भएपनि नयाँ अध्यक्षको जिम्मेवारी कसले पाउछ भन्ने अझै यकिन भएको छैन । समितिकाे अध्यक्ष पदपूर्तिकाे विषयमा अर्थमन्त्रालयमा अहिलेसम्म कुनै टिप्पणी पनि नउठेकाे स्राेतले बतायाे ।

समितिको अध्यक्ष पदका लागि राजनीतिक पहुँच भएका व्यक्तिहरुको सक्रियता बढेको छ । तर बीमा क्षेत्रको अनुभवी व्यक्तिहरु खिस्स भएका छन् ।

बीमा समितिको अध्यक्षमा सरकारले प्रायः जसाे बैकिङ क्षेत्रका मान्छेलाई नियुक्ती दिँदै आएको छ । यसपटक पनि समितिको अध्यक्षका लागि नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी चिन्तामणि सिवाकोटीको नाम सबैभन्दा अगाडि आएको छ । कृषि विकास बैंकका अध्यक्ष लक्ष्मीप्रपन्न निरौला, राष्ट्र बैंकका निर्देशक रामशरण खरेलको नाम पनि उत्तिकै चर्चामा छ ।

बीमा विज्ञ डा. रविन्द्र घिमिरे, नेपाल पुर्नबीमा कम्पनीको पूर्व अध्यक्ष महेश गुराँगाई, पुनर्बीमा कम्पनीको सञ्चालकबाट भर्खरै हटेका रमेश लम्साल, बीमा समितिका पूर्व निर्देशक श्रीमान कार्की लगायत दर्जनौं व्यक्तिले समितिको अध्यक्ष पदका लागि लविङ गर्दै आएका छन् ।

अर्थमन्त्रीको सिफारिसमा मन्त्रिपरिषदले नियुक्त गर्ने समिति अध्यक्षको कार्यकाल ४ वर्षको हुन्छ । अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच असाध्यै सुमधुर सम्बन्ध भएका कारण मन्त्री पौडेलले प्रस्ताव गरेको व्यक्ति समितिको अध्यक्षमा सहजै नियुक्त हुने सम्भावना छ । र, प्रधानमन्त्री ओलीले कुनै व्यक्तिलाई ‘बचन’ दिएका भए अर्थमन्त्री पौडेलले सोही व्यक्तिको सिफारिस गरिदिने स्रोतले बतायो ।

‘अर्थमन्त्रीज्यूले मन्त्रिपरिषदमा सिफारिस लाने बित्तिकै रोकिने प्रस्ताव स्वीकृत हुन्छ । उहाँले अहिलेसम्म कसैलाई पनि बचन दिनुभएको छैन । विभिन्न व्यक्तिका बारेमा जानकारी लिइरहनु भएको छ । प्रधानमन्त्रीले कसैलाई अध्यक्ष बनाइदिने बचन दिनुभएको रहेछ भने अर्थमन्त्रीज्यूले सोही व्यक्तिको नाम सिफारिस गरिदिनुहुन्छ । प्रधानमन्त्री र अर्थमन्त्री पार्टीको काममा व्यस्त हुनुभएकोले केही ढिलाई भएको हो । अब छिट्टै नियुक्तिको खबर सुन्न पाइन्छ,’ अर्थमन्त्री पौडेल निकट स्रोतले भन्यो ।

बीमा समितिको अध्यक्षमा बीमा क्षेत्र बुझेको, भोगेको, जानेको व्यक्ति नियुक्त गर्ने जानकारहरु बताउँछन् । तर बीमाको प्रोफेशनल व्यक्तिहरुले भन्दा राजनीतिक झण्डा बोकेकाहरुले पाउने गरेकोले यो क्षेत्रको विकास पछाडि धकेलिँदै आएको अनुभवीहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.