बिजुलीका तार भूमिगत गर्ने कामलाई रोक्ने प्रयासमा उर्जामन्त्री, वेवास्ता गर्दै अघि बढ्यो प्राधिकरण

  २०७७ माघ ४ गते ११:१९     विकासन्युज

काठमाडौं । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी नेपाल विद्युत प्राधिकरणले बिजुलीको तार भूमिगत गरिरहेको कामलाई रोक्ने प्रयास गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले रायमाझीलाई उर्जा तथा जलस्रोत तथा सिँचाइमन्त्रीमा नियुक्त गरेदेखि प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङेले गरेका कामको खिल्ली उडाइरहेको रायमाझीले घिसिङले नै सुरु गरेको तार भूमिगत परियोजनालाई रोक्ने प्रयास गरिरहेका हुन् ।

ऊर्जामन्त्रीको पद सम्हालेकै दिनदेखि कुलमान घिसिङका विरुद्धमा बोल्न सुरु गरेका रायमाझीले विभिन्न सार्वजनिक मञ्चमा समेत उनले गरेका कामको नकरात्मक आलोचना गर्दै आएका छन् । दुई साता अघि उनले गृह जिल्ला पुगेर तार भूमिगत गर्ने कामले मान्छे मार्ने कुतर्क समेत गर्न भ्याए ।

उनले सो सार्वजनिक सभामा भनेका थिए ‘तार भूमिगत गर्ने कामले कति मान्छे मेर्न हुन् थाहा छैन, यो खतरा भयो, कुलमानजीहरुले १२ अर्ब जतिको ठेक्का लगाइसक्नुभएछ ।’ उनी सार्वजनिक सभामा मात्र होइन आन्तरिक रुपमा पनि मन्त्रालयका अधिकारीहरुसँग काठमाडौंमा भूमिगत तार विछ्याउने काम खतरनाक भएको जिकिर गर्दै आएको बुझिएको छ ।

विद्युत प्राधिकरण स्रोतका अनुसार उनले बिजुलीका तार भूमिगत गर्ने कामलाई रोक्न चाहेका छन् । उनका सार्वजनिक अभिव्यक्तिले पनि उनले यो कामलाई रोक्न चाहेको प्रष्ट हुन्छ ।

गत वर्ष फागुनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले बिजुलीका तार भूमिगत गर्ने काम सुरु गरेका थिए । सो कामको सुरुवात गर्दै ओलीले भूमिगत तारले शहरको सुन्दरता बढाउने र बिजुलीको आपूर्ति पनि नियमित हुने हुँदा तारभूमिगत गर्दा प्रभावकारी हुने बताएका थिए ।

गत फागुनमा तार भूमिगत परियोजनाको सुभारम्भ गर्दै प्रधानमन्त्री ओली ।

ओलीले भनेका थिए,‘ तार खुला हुँदा, पानी पर्दा, हावाहुरी चल्दा पनि विद्युत प्रसारणमा अनियमित हुने गरेको थियो। अब तार भूमिगत गर्दा यस्ता समस्या भोग्नु पर्दैन। अत्याधुनिक मेसिनबाट ड्रिल गरेर तार भूमिगत गरिने भएकाले सर्वसाधारणले धुलोका कारणबाट हैरानी खेप्नु पर्दैन ।’

स्वयम् प्रधानमन्त्रीले सुरु गरेको परियोजना र उनले प्रभावकारी हुने भनेको परियोजनाको विरुद्दमा अहिले उर्जामन्त्री रायमाझी देखिएका छन् । उनी अहिले बिजुलीको तार भूमिगत गर्नु खतरा भएको विभिन्न सार्वजनिक सभा र आन्तरिक रुपमा पनि दवाव दिँदै आएकाे बुझिएकाे हाे ।

उर्जामन्त्रीले सार्वजनिक रुपमा यस्ता अभिव्यक्ति दिए पनि प्राधिकरणमा रोक्नुस् भनेर हालसम्म कुनै औपचारिक निर्देशन नआएको प्राधिकरण बताउँछ । प्राधिकरणका प्रवक्ता मदन तिमिल्सिनाका अनुसार उर्जामन्त्रीले बिजुलीका तार भूमिगत गर्ने विषयलाई लिएर हालसम्म कुनै पनि निर्देशन दिएका छैनन् ।

‘सार्वजनिक मञ्चमा कसले के भन्छन्, त्यो हाम्रो प्राथमिकताको विषय भएन, हामीलाई बिजुली तथा केबल तारहरु भूमिगत गर्ने र यसलाई रोक्ने सम्बन्धि कुनै निर्देशन तथा जानकारी छैन, हामी निरन्तर रुपमा काम अगाडि बढाइरहेका छौं,’ उनले भने ।

महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको क्षेत्र बालुवाटार, पानीपोखरी, बूढानीलकण्ठ, टोखा, गोंगबु, सामाखुशी, महाराजगञ्ज, धापासी, बसुन्धारा, शिवपुरी, चुनीखेल, सुकेधार, धर्मस्थली, टिचिङ हस्पिटललगायत स्थानमा प्राधिकरणले तार भूमिगत गरिहरेको छ । यो पहिलो चरणको काम हो ।

यस्तै रत्नपार्क वितरण केन्द्र अन्तर्गतका क्षेत्र रत्नपार्क, बागबजार, पुतलीसडक, न्युरोड, अनामनगर, जलम, लैनचोर, ठमेल, सोह्खुट्टे, नयाँ बजार, खुसिबु, त्रिपुरेश्वर, टेकु, थापाथली, माइतीघर, सिंहदरबार, नक्साल, लाजिम्पाट, गौशाला, एयरपोर्ट, चाबहिल, बौद्ध, जोरपाटीलगायत स्थानको २ सय किमि र ११ सय भोल्टेजको भूमिगत तार बिछ्याइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.