चितवनको कालिका नगरपालिकामा नगर अस्पताल सञ्चालन, भरतपुर जानुपर्ने बाध्यताको अन्त्य

  २०७७ माघ ३ गते १०:२४     विकासन्युज

चितवन । चितवनको कालिका नगरपालिकामा १५ शय्याको अस्पताल सञ्चालनमा आएको छ ।

जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी कालिका नगर अस्पताल सञ्चालन गरिएको हो । वडा नं ६ खोलेसिमलमा नगरप्रमुख खुमनारायण श्रेष्ठले शुक्रबार नगर अस्पतालको उद्घाटन गरे । सो अवसरमा उनले अस्पतालको सेवा सञ्चालन भएसँगै उपचारका लागि भरतपुर जानुपर्ने बाध्यताको अन्त्य भएको बताए ।

नगरप्रमुख श्रेष्ठले १५ शय्याबाट शुरु भएको कालिका नगर अस्पताललाई छिट्टै २५ शय्याको बनाएर चिकित्सक र अन्य कर्मचारीको दरबन्दी बढाउने बताए । “ नगरवासीले गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ”,उनले भने, “उपकरण र जनशक्तिको व्यवस्थापन नगरपालिकाले गर्नेछ ।”

विसं २०४९ मा स्थापना गरिएको जुटपानी स्वास्थ्यचौकीको २०६३ मा स्तरोन्नति गरी प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको थियो । अस्पतालमा स्तरोन्नति भएसँगै कालिका नगर अस्पतालमा अन्य स्वास्थ्य सेवासहित आकस्मिक सेवा, इसिजी सेवा, फार्मेसी सेवा, एक्सरे सेवा, प्रयोगशाला सेवा थप गरिएको छ । चौबीसै घण्टा बिरामीलाई भर्ना गरेर उपचार गर्ने व्यवस्थासहित अस्पताल सञ्चालनमा आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिए ।

सो अस्पतालमा चार विशेषज्ञ चिकित्सकसहित ३४ स्वास्थ्यकर्मीले सेवा प्रदान गर्नेछन् । केही दिनमै प्रयोगशालामा थाइराइडको परीक्षण, भिडियो एक्सरे तथा दन्त सेवा थप सञ्चालन गरिने उनले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.