आरटीजीएसमा मासिक १३ खर्ब कारोबार, गभर्नर भन्छन्ः अब देश डिजिटल बन्छ

  २०७७ माघ २ गते १६:५२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय डिजिटल भुक्तानी बढ्दै गएकाले देश विस्तारै पूर्ण रुपमा डिजिटल बन्ने बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय दातृ निकाय डेफिडको सहयोगमा वित्तीय पहुँच अन्तर्गत युकेड सक्षमकसँगको सहकार्यमा शुरु भएको रियल टाइम ग्रस स्याटलमेन्ट (आरटीजीएस) हस्तान्तरण कार्यक्रमा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा गभर्नर अधिकारीले नेपालको वित्तीय क्षेत्रको सुदृढीकरण तथा वित्तीय पुर्वाधार विकासका लागि बेलायत सरकारको उल्लेखनीय सहयोग रहेकोले युके सरकार तथा युकेका जनताहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गरे ।

उनका अनुसार पछिल्लो समय मासिक १३ खर्ब रुपैयाँ कारोबार भइरहेको छ । यस्तै आरटीजीएस प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्थाहरुको संख्या ३७ रहेको र यो संख्या बढ्दो क्रममा रहेको उनको भनाई छ ।

यस्तै, उनले युकेड सक्षम वित्तीय पहुँच परियोजनाले नेपालमा वित्तीय समावेशिता बढाउन महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै सो प्रोजेक्टले डुइङ विजनेस इन्डेक्समा नेपालको रेंकिङ बढाउन सहयोग गरेको चर्चा गरे । उनले डिजिटल नेपाल अभियानलाई सफल बनाउन आगामी दिनमा समेत युकेडबाट यस किसिमको सहकार्य रहने अपेक्षा व्यक्त गरे ।

आरटीजीएस तथा मोडुलर डाटा सेन्टर औपचारिक रुपमा हस्तान्तरण गर्ने कार्यक्रममा अधिकारीसहति डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र नेपालस्थित वेलायती राजदुतावासका प्रतिनिधि रोब क्लार्क युकेएड सक्षमका प्रतिनिधि तथा नेपाल राष्ट्र बैंकका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सुरुवातमा युकेएड सक्षमका तर्फबाट टिम लिडर निर्मल दाहालल आरटीजीए तथा मोडुलर डाटा सेन्टर प्रोजेक्टको विषयमा संक्षिप्त मन्तव्य राख्दै उक्त प्रोजेक्ट कार्यान्वयनको सिलिसिलामा नेपाल राष्ट्र बैंकबाट भएको सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.