हास्यकलाकार बान्द्रे टर्की चरा र बट्टाई पालन व्यवसायमा, करोडौंको लगानी

  २०७७ माघ १ गते २१:२९     नरेन्द्र रौले

काठमाडौं । टेलिसिरीयल मेरी बास्सैको पर्दामा झुल्किने हास्यकलाकार बान्द्रे (सुरज चापागाँई) ले कैयौं दर्शकहरुको मन जिते । टेलिसिरियलको बान्द्रे पात्र निकै लोकप्रिय बन्यो । अचेल उनी पर्दाको दुनियाँबाट त गायब जस्तै छन् । तर, कर्मको मैदानबाट गायब छैनन् । बरु पहिले भन्दा अझ बढी खटिएका छन् ।

हास्यकलाकार बान्द्रे अचेल टर्की चरा र बट्टाई पालन व्यवसायमा व्यस्त छन् । कलाकारबाट व्यवसायी र उद्यमि बन्ने यात्रामा उनी अघि लम्किएका छन् । कम लगानीमा राम्रो आम्दानी गर्न सकिने व्यवसाय हो, बट्टाई चरा । मासु र यसको अण्डा बजारमा निकै खपत हुन्छ । बान्द्रले पनि आफ्नै घरबाट बट्टाई चराको पालन गरे । त्यो पनि सानो लगानीमा । आमदर्शकहरुलाई ‘बान्द्रे नारायण’ युट्युव च्यानलमार्फत उनले आफ्ना अनुभव बाँड्छन् । प्रत्यक्ष, अप्रत्यक्ष रुपमा युट्युवले पनि मार्केटिङका लागी ठूलो भूमिका खेल्यो ।

आफ्नै घरबाट बट्टाई पालन यात्रा थालेका बान्द्रेले यतिखेर ललितपुरको ठेचोमा ठूलो फार्म सञ्चालन गरिरहेका छन् । उनका दुई जना व्यापारिक साझेदार छन्, टंक बहादुर मगर र अर्जुन तामाङ ।

जहाँ १० हजारको संख्यामा बट्टाई चरा, ५ सयको संख्यामा टर्की चरा छन् । यसबाहेक कुखुरा र लौकठ जातका चरा पनि छन् । एउटा बट्टाई चरा १ सय ३० रुपैंयाँमा बिक्री हुन्छ । त्यो हिसाबले यस फार्ममा १३ लाख रुपैंयाँ बराबरका बट्टाई र ६५ देखी ७० लाख रुपैंयाँ बराबरका टर्की चरा भएको बान्द्रेको अनुमान छ । एउटा टर्की चरा १२ देखी १४ हजार रुपैंयाँमा बिक्रि हुने गर्छ । यसको तौल हुन्छ, १० देखी १५ किलोग्राम ।


बान्द्रेको फार्मले दैनिक ८ हजार बट्टाईको अण्डा बिक्रि गरेर दैनिक ८० हजार रुपैंयाँ आम्दानी गर्छ । प्रति अण्डा १० रुपैंयाँमै खरिद गर्न पाईने भएकाले टाढा–टाढाबाट समेत खरिद गर्नका लागी आउने गरेको बान्द्रेले सुनाए ।

कृषिप्रधान देशमा बसेर हामीले केही त गर्नैपर्छ भन्ने उनको मान्यता छ । कलाकारले झन् यस्तो पेशा अपनाउँदा समाजमा सकारात्मक सन्देश जान्छ । कतिलाई प्रेरणा मिल्छ होला भन्ने उनको मनमा खेलिरहन्छ । अहिले विदेशमा बस्ने कैयौं नेपालीहरुले उनलाई म्यासेज गरिरहन्छन् । आशा, उत्साह र प्रेरणाले भरिएका यस्ता म्यासेजहरुमा बान्द्रेको कामको तारिफ गरिएको हुन्छ । कतिले नेपाल फर्किएपछि आफूहरु पनि यस्तै कृषिकै काममा हात हाल्ने सुनाउँछन् ।

४ वर्ष नै भयो बान्द्रेले यो पेशामा हात हालेको । अनुभवि कृषकहरुसँगको संगतले उनलाई झन् सजिलो भयो । यही पेशामा लामो समयदेखी संलग्न टंक र अर्जुन जस्ता सहयोगी हातहरु पाएपछि उनको व्यवसायले झन् ठूलो रुप लिदै गयो । ‘पहिला पहिला हामी उहाँलाई टिभीमा देख्थ्यौं ।’ व्यापारिक साझेदार मध्येका एक टंकले भने ‘सँगै काम गर्न पाउँदा झन् खुसी लागको छ ।’


यसरी सूरु भयो बट्टाई पालन

एक पटक बान्द्रे दाङ पुगेका थिए । फिल्म देखाउने क्रममा दाङको एक स्कुलमा पुग्दा अशोक चौधरीसँग भेट भयो । चिसो चिसो मौसमले निकै सताईरहेको थियो ।
चौधरीले चिसोमा बट्टाईको सुपले फाइदा गर्छ भन्दै चखाएछन् । ‘नभन्दै सुपले चिसो चैट् बनाइदियो ।’ बान्द्रले त्यो पल सम्झिदै भने ।

काठमाडौं फर्केर बान्द्रेले आफै बट्टाई पालन सूरु गरे । सानी छोरी र आमालाई औषधीका रुपमा खुवाउने उनको इच्छा थियो । व्यवसाय नै गर्ने उनको योजना थिएन । विस्तारै छरछिमेकबाट मानिसहरु उनको घरमा झुम्मिन थाले । आफन्त, साथीभाई र छिमेकीलाई बाँडदा–बाँड्दै नपुगेपछि उनले यसलाई व्यवसायकै रुप दिन थाले । अण्डालाई ह्याचिङ मेसिनमा राखेर यसको चल्ला उत्पादन गरिन्छ । बालकोट र ललितपुर गरेर लगानी झण्डै करोड खर्च भईसकेको उनी बताउछन् । बट्टाई चरा पाल्नका लागी चाहिने आधुनिक खोर लगायत अन्य आवश्यक उपकरणको व्यापारमा पनि उनले हात हालेका छन् ।

नाकाबन्दिले सिकाएको पाठ
भारतले नेपालमाथि लगाएको नाकाबन्दिले धेरै पाठ सिकायो । दैनिक जीवनयापनका लागी नेपालीहरु भारतमाथि निर्भर छन् । नेपालमै उत्पादन गर्न सकिने क्षेत्रमा पनि हाम्रो ध्यान पुगेकै छैन । हास्यकलाकारलाई गहिरो तवरले महशुष भयो, अब त केही गर्नैपर्छ । उनले बट्टाई चराबाट व्यवसायिक यात्राको थालनि गरे । त्यसपपछि क्रमश: अन्य व्यवसायमा पनि हात हाले ।

कसैले यो व्यवसायमा हात हाल्न चाहनेहरुलाई बान्द्रेका केही सुझाब छन् । सबैभन्दा पहिला अरुको देखासिकी भन्दा काममा समपर्ण हुनु जरुरी छ । बजार बुझ्न अझ सबैभन्दा बढी जरुरी रहेको उनले बताए ।

बान्द्रेको भावि योजना
बालकोटमा ५ रोपनि क्षेत्रफलमा बट्टाई चरा, टर्की, हाँस, कुखुरा पालन गर्ने तयारीमा छन् बान्द्रे । त्यही ठाउमा सानो रेस्टुराँ पनि सूरु गर्दैछन् । जहाँ खल्तीमा थोरै पैसा हुनेले पनि भोक मेट्न सकुन् । यो व्यवसायमा हात हाल्न खोज्नेले आधुनिक मेसिन पनि यहीबाट किन्न सक्नेछन् । आवश्यक परामर्श, सल्लाह दिन तयार रहेको बान्द्रेले सुनाए ।

‘तपाईं कलाकारितामा नआउने ?’ बान्द्रेलाई सोधियो ।
‘मेरो जीवन नै कलाकारिता नै गरेर मर्न पाउँ भन्ने हो ।’ बान्द्रे भन्छन् ‘कृषिमा त आत्मनिर्भर बन्नका लागी मात्र आएको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.