अर्थतन्त्रमा क्रमिक सुधार, पुस मसान्तसम्म वित्तीय विवरण नबुझाउनेलाई जरिवाना नगर्न भन्दै गुहार

  २०७७ पुष २९ गते १९:०४     विकासन्युज

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण लामो समयसम्म भएको लकडाउनले धराशायी भएको अर्थतन्त्र अहिले सुधारिँदै गएको छ । आज नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितीको तथ्यांकका अनुसार अर्थतन्त्र विस्तार सुधारको गतिमा देखिएको हो ।

यस्तै, नेपाल उद्योग परिसंघले पुस मसान्तसम्म वित्तीय विवरण नबुझाउने व्यवसायीलाई जरिवाना नगर्न अर्थमन्त्री विष्णु पौडेल समक्ष आग्रह गरेका छन् । बुधबार उनीहरुले अर्थमन्त्री पौडेलाई भेटेर सो आग्रह गरेका हुन् ।

यी हुन् आज दिनभरका सामग्री

करिब ११ प्रतिशतले बढ्यो रेमिट्यान्स

चालु  आर्थिक वर्षको ५ महिनामा रेमिट्यान्स करिब ११ अर्थात १०.९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकल सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको ५ महिनामा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले वृद्धि भई ४१६ अर्ब ८१ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो ।

निर्यात बढ्याे,आयात घट्याे

चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ५ अर्ब ६ करोडको वस्तु निर्यात भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेका तथ्यांक अनुसार चालु आवको ५ महिनाको अवधिमा कुल वस्तु निर्यात ५.१ प्रतिशतले वृद्धि भई रु.५० अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २७.० प्रतिशतले वृद्धि भएको थियो ।

विदेशबाट ऋण ल्याउँदा ३ प्रतिशत प्रिमियम जोड्न पाउने

नेपाल राष्ट्र बैंकले विदेशबाट ऋण ल्याउँदा लागत ब्याजदरमा थप तीन प्रतिशतसम्म प्रिमियम जोड्न पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय विभागले एकिकृत परिपत्र २०७६ संसोधन गर्दै सो व्यवस्था गरेको हो । विदेशी लगानीकर्ता भएका नेपाली कम्पनीले आफ्नो प्यारेन्ट कम्पनी वा ग्रुपबाट ऋण लिन राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । यसअघि प्रचिलित वार्षिक ब्याजदरमा २ प्रतिशतभन्दा बढी प्रमियम दर थप गर्न नपाइने व्यवस्था थियो ।

निर्माण सामग्रीको मूल्य बढ्यो

निर्माण सामग्रीको मूल्य दिनप्रतिदिन आकासिँदै गएको छ । अहिले विभिन्न निर्माण सामग्रीको मूल्यमा ५० प्रतिशतसम्मको वृद्धि भएको हो । निर्माणको सिजनमै निर्माण सामग्रीको मूल्य बढेपछि व्यवसायी मात्रै होइन उपभोक्ता पनि ठूलो मारमा परेका छन् । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न लकडाउनको समयमा सस्तो भएको निर्माण सामग्रीको मूल्य अहिले एक्कासी बढेपछि उपभोक्ताहरु ठूलो मारमा परेका हुन् ।

३ अर्ब पूँजीसहित सहकारी क्षेत्रकै ठूलो बैंकको दर्ता प्रक्रिया सुरु

नेपाल सहकारी बैंक दर्ता प्रकृया शुरु गर्न प्रारम्भिक भेला माघ १७ गते काठमाडौंमा हुने भएको छ । मुलुकभर करिब ३५ हजार सहकारी संस्थाको आर्थिक कारोबार राख्नेगरी बैक स्थापना गर्न प्रकृया अघि बढाइएको हो । प्रारम्भिक भेला सम्पन्न गरी दर्ता प्रक्रियाका लागि सहकारी विभाग जाने तयारी गरिएको छ ।

बैंकिङ क्षेत्रको पीडाः सरकार नाफा लुट्ने, व्यवसायी ढुंगा हान्ने

बैंकर्स र व्यवसायीबीच फेरि पनि द्वन्द्व शुरु भएको छ । कोरोना प्रभावित व्यवसायीहरुको समस्या बैंकहरुले नबुझेको तथा वेवास्ता गरेको भन्दै व्यवसायीहरु बैंकर्स विरुद्ध बोल्न, मोर्चाबन्दी गर्न, सरकारसँग लाविङ गर्न सक्रिय भएका छन् । व्यवसायीहरुले बैंकहरु र यसको नियामक नेपाल राष्ट्र बैंक विरुद्ध अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्ममा उजुर बाजुर गर्ने, भेटेर लबिङ गर्ने काम थालेका छन् ।

नेप्सेको रफ्तार कायमै

पुँजीबजारमा सेयर कारोबार मापक नेप्से परिसूचकको रफ्तार कायमै रहेको छ । गत साताको मंगलबारदेखि दैनिक उकालो लागेको परिसूचक हालसम्म निरन्तर उकालो लागेको हो । र, गत बिहीबारदेखि दैनिक नयाँ नयाँ रेकर्ड राखेको परिसूचकले आज बुधबार पनि नयाँ रेकर्ड राख्न सफल भएको छ । पुस २९ गते बुधबारको नेप्से परिसूचक १८.८१ अंकले बढेर २२८६.५४ बिन्दुमा पुगेको छ । जुन नेपाली पुँजीबजारको इतिहासमा हालसम्मकै उच्च बिन्दु हो ।

बुधबार पनि उकालाे लाग्याे सुनकाे मूल्य

बुधबार पनि सुनकाे मूल्य बढेकाे छ । मंगलबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा काेराेबार भएकाे सुन बुधबार १०० ले घटेर ताेलाकाे ९२ हजार ९ सय रुपैयाँ पुगेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि बढेकाे छ ।

नागढुङ्गा सुरुङमार्ग समयमै सकाउन अहोरात्र काम

कोभिड–१९ का कारण निर्माणमा केही ढिला हुन गएको नागढुङ्गास्थित सुरुङमार्ग समयमै सकाउनका लागि तीव्रगतिमा काम भइरहेको छ । कोभिड–१९ सङ्क्रमणका कारण गत वर्ष सुस्त गतिमा भएको निर्माणको कामलाई गति दिन रातदिन काम भइरहेको सडक विभागले जनाएको छ ।

ग्लोबल आईएमई बैंकको अध्यक्षमा ढकाल निर्विरोध

ग्लोबल आईएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । पुस २९ गते सम्पन्न बैंकको १४औं वार्षिक साधारणसभाले बैंकको अध्यक्षमा ढकाललाई निर्विरोध चयन गरेको हो । सभाले चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बैंकको नयाँ सञ्चालक समितिको समेत निर्वाचन गरेको छ ।

एनएमबि बैंकको सभाले पारित गर्यो १६.२ प्रतिशत लाभांश

एनएमबि बैंकको प्रस्तावित १६.२ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न बैंकको २५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै सेयरधनीले बैंकको आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र ३.२ प्रतिशत नगद (कर प्रयोजनका लागि समेत) गरी १६.२ प्रतिशत लाभांश पाउने भएका छन् ।

पुस मसान्तसम्म वित्तीय विवरण नबुझाउनेलाई जरिवाना नगर्न माग

नेपालउद्योग परिसंघका पदाधिकारीहरुले आज अर्थमन्त्री विष्णु पौडेलसँग सिंहदरबारस्थित उनको कार्यकक्षमा भेट गरी उद्योगीव्यवसायिहरुका समस्याहरु समाधान गर्न अनुरोध गरेका छन् । परिसंघका अध्यक्ष सतिशकुमार मोरले आर्थिक वर्ष २०७६/७७ को आय–व्ययविवरण बुझाउनको लागिआगामी चैत्र मसान्तसम्म समयावधि थप गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.