कर्मचारी अभावमा बाजुराका वन्यजन्तुको चोरी सिकारी नियन्त्रणमा सकस

  २०७७ पुष २३ गते ९:५१     विकासन्युज

मार्तडी । मौसम बदलीसँगै जिल्लाको हिमाली भेगमा हिमपात भएपछि वन्यजन्तुको चोरी शिकारी बढ्न थालेको छ । यहाँका लेकाली क्षेत्रमा वन्यजन्तुको चोरी शिकारी बढ्न थालेको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ ।

भौगोलिक विकटताका कारण वन्यजन्तु मात्र नभई जडीबुटीसमेत चोरी निकासी हुने गरेको डिभिजन वन कार्यालय बाजुराका डिभिजलन प्रमुख कामु कालीराम चौधरीले बताएका छन् । उनका अनुसार डिभिजन वन कार्यालयमा कर्मचारी अभावका कारण वन्यजन्तु चोरी शिकारी र जडीबुटीको अवैध निकासीलाई नियन्त्रण गर्न सकस भएको छ ।

दुर्गम क्षेत्रमा रहेको हिमाली गाउँपालिकाको विच्छ्या, रुगिन, स्वामीकार्तिक गाउँपालिकाको जुकोट, साप्पाटा, जगन्नाथ गाउँपालिकाको गोत्री, जगन्नाथ र बूढीनन्दा नगरपालिकाको पाण्डुसैन कोल्टीको माथिल्लो क्षेत्रमा आवतजावत गर्न सकस भएकाले उक्त क्षेत्रबाट हुुने चोरी शिकारी तथा जडीबुटी निकासी गर्नेको निगरानी गर्न सम्भव नभएको डिभिजनल प्रमुख चौधरीले बताए ।

मौसम बदली भएसँगै जिल्लाका लेकाली भेगका उक्त क्षेत्रमा हिमापत भएकाले वन्यजन्तु चिसोबाट बच्न बेँसी आउने भएकाले विभिन्न प्रजातिका जनावरको शिकारी बढ्न थालेको प्रमुख चौधरीको भनाइ छ । पुस र माघ महिनाको अवधिमा जङ्गली जनावर मृग, हरिण, चित्तल, बँदेल, कालीज, डाँफेलगायतका वन्यजन्तुको चोरी शिकारी हुने भएकाले सुरक्षा निकायसँगको सहकार्य र समन्वयमा नियन्त्रणको प्रयास गर्ने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत तथा सूचना अधिकारी राजन कुँवरले जानकारी दिएका छन् ।

उनका अनुसार वन कार्यालयका कर्मचारीको सक्रियतामा छ सुरक्षाकर्मी परिचालन गरी वन्यजन्तु चोरी शिकारीलाई रोक्ने प्रयास गरिने छ । जिल्लाका सामुदायिक वनका उपभोक्ता समितिलाई सचेत बनाई अवैधरूपमा हुने जडीबुटी निकासी तथा पैठारी र वन्यजन्तुको चोरी शिकारीलाई न्यूनीकरण गर्न जोड दिएको उनले बताएका छन् ।

जिल्ला सदरमुकाम मार्तडीमा समेत जङ्गली जनावरको शिकार गरी बिक्री वितरण भइरहेको जनगुनासो आउन थालेकाले त्यसको निगरानी बढाउन वन कार्यालयले तयारी थालेको प्रमुख चौधरी बताउँछन् । वन्यजन्तुको शिकारभन्दा उनीहरुलाई संरक्षण गर्न सबैको ध्यान जान जरुरी रहेको छ । जिल्लामा पछिल्लो समयमा सामुदायिक वनमा स्थानीयवासीले आगो लगाउने गरेकाले सो कार्य रोक्न चौधरीले स्थानीयवासीलाई आग्रह गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.