प्रभावकारी बन्दै सामाजिक सुरक्षा कोषः श्रमिकले यसरी पाउँदैछन् सेवा

  २०७७ पुष २३ गते ९:१०     नरेन्द्र रौले

काठमाडौं । दोलखा घर भएका ५१ वर्षीय कृष्णबहादुर जिरेल गम्भीर स्वास प्रश्वास रोगले थलिए । आफ्नै खर्चमा उपचार गर्न उनको आर्थिक अवस्थाले धानेन । कतै सापट माग्न पनि उनलाई मुस्किल थियो ।

उनले सामाजिक सुरक्षा कोषमा योगदान गरेको जम्मा ५ महिना पुगेको थियो । २५ हजार रुपैयाँ जम्मा गरेका उनले सामाजिक सुरक्षा कोषबाट ८० हजार रुपैयाँ सहयोग प्राप्त गरे । त्यही पैसाले जिरेलले आफ्नो उपचार खर्च व्यहोरे । विपदको त्यो घडीमा कोषबाट पैसा पाएपछि उनको मुहारमा बेग्लै खुसी छायो ।

सिमरा, बाराका मनोज कुमार दास नेपाल फर्मा कम्पनीमा काम गर्थे । उच्च रक्तचापका कारण घरमै ढलेका उनलाई वीरगञ्जको वयोधा अस्पताल लगियो । दुई दिन अस्पताल राख्दा पनि उनको रोग पत्ता लाग्न सकेन । र, अस्पतालमै २०७६ चैत २१ गते उनको निधन भयो । परिवारमा उनीसँग आश्रित थिए, पत्नी र २ सन्तान । मृतक मनोजकी पत्नी जयपतीले हाल सामाजिक सुरक्षा कोषबाट आश्रित परिवार सुरक्षा योजना अन्तर्गत मासिक १६ हजार रुपैयाँ पाउँछिन् ।

त्यस्तै, शिवम् सिमेन्टमा १० वर्षदेखि कार्यरत सिन्धुपाल्चोक, त्रिपुराका केशब बुढाथोकी मोटरसाइकल दुर्घटनामा परे । उनको छातीको करङ भाँचियो । हेटौंडाका दुई वटा अस्पतालमा उपचार हुन नसकेपछि उनलाई काठमाडौंको बीएनबी अस्पताल ल्याईयो । दुर्घटनापछि बिदामा बसेका उनले सामाजिक सुरक्षा कोषमा औषधी उपचार तथा स्वास्थ्य सुरक्षा योजनाको सुविधा दावी गरे । कोषले बुढाथोकीलाई ९८ हजार रुपैयाँ उपलब्ध गरायो ।

दोलखाका कृष्ण बहादुर जिरेल, बाराका मनोज कुमार दास र सिन्धुपाल्चोकका केशब बुढाथोकी त केही प्रतिनिधि पात्रहरू मात्र हुन् ।

सामाजिक सुरक्षा कोषबाट यसरी विभिन्न शीर्षकहरुमा सेवा पाउनेहरुको सूची लामो छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सामाजिक सुरक्षा कोषले श्रमिकहरुलाई आपत, बिपत र अफ्ठ्यारो परेको बेला सहायता प्रदान गर्दै आएको छ । सामाजिक सुरक्षा कोष श्रमिकका लागि भर पर्दो माध्यम बनेको छ । कोषमा आवद्ध विभिन्न कम्पनीहरुमा काम गर्ने श्रमिकहरु र उनीहरुका परिवारले यो कोषबाट लाभ उठाउन सक्नेछन् ।

जस्तै, तपाईं कुनै पनि निजी कम्पनीमा काम गर्नु हुन्छ । तर, सामाजिक सुरक्षा कोषका बारेमा जानकार हुनुहुन्न भने आफूले पाउने अवसरबाट बञ्चित हुनुहुनेछ । तपाईंले काम गर्ने कम्पनीले तलब दिएकाे रकमकाे कूल ३१ प्रतिशत रकम सामाजिक सुरक्षा कोषको खातामा जान्छ । न्युनतम पारिश्रमिकको ३१ प्रतिशत कट्टा (रोजगारदाताको तर्फबाट २० प्रतिशत र श्रमिकको तर्फबाट ११ प्रतिशत) रोजगारदाताले कोषले तोकेको बैंक खातामा प्रत्येक महिना सकिएको १५ दिनभित्र रकम जम्मा गरिसक्नु पर्ने नियम छ ।

२०७६ साउन १ गतेदेखि सामाजिक सुरक्षा योजना लागू भएको हो । २०७५ मंसिर ११ गतेमा घोषणा गरिएको सामाजिक सुरक्षा कोष प्रभावकारी हुँदै गएको छ । हाल १३ हजार रोजगारदाताका १ लाख ८० हजार रोजगारदाताले सामाजिक सुरक्षा कोषमा आफ्नो कमाईको ३१ प्रतिशत रकम योगदान प्रदान गर्दै आएका छन् । हालसम्म यस कोषमा ३ अर्ब ६० लाख रुपैयाँ भन्दा बढी रकम जम्मा भईसकेको छ । यसमा विभिन्न होटल तथा रेस्टुराँ, स्कुल, कलेज, बीमा, बैंक, सेक्युरिटी कम्पनीहरु, सहकारी, हाइड्रो, ग्यास जस्ता कम्पनीहरु आवद्ध भईसकेका छन् । यसमा १ हजार ५ सय ११ वटा बीमा दावी भुक्तान भईसकेको छ ।

स्वरोजगार र अनौपचारिक क्षेत्र लक्षित

सामाजिक सुरक्षा कोषले अब स्वरोजगार र अनौपचारिक क्षेत्रलाई पनि लक्षित गरेर कार्यक्रम ल्याउने भएको छ । जसअनुसार अब किराना पसलेदेखि दैनिक ज्यालादारी रुपमा काम गर्ने मजदुरहरुलाई पनि यसमा जोड्न खोजिएको छ । विभिन्न क्षेत्रमा आफै स्वरोजगार सिर्जना गर्नेहरुलाई कोषले आफ्नो मातहतमा ल्याउन खोजेको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का अनुसार सबैभन्दा बढी जोखिममा परेको यही क्षेत्र हो । त्यसैगरी वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने तयारी भईरहेको छ । अन्तर्राष्ट्रिय श्रम संगठनले सामाजिक सुरक्षाका बारेमा आवाज उठाएको छ । शूरुमा यसको अवधारणा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले ल्याएको थियो ।

संशाेधन हुँदै कार्यविधि

आफूले जम्मा गरेको रकमबाट पेन्सन पाउन ६० वर्ष कुर्नु परेपछि धेरैजसोलाई चिन्ता छ । कतै त्यो रकम पाईंदैन कि ? घर परिवारले समेत त्यो रकम पाउँदैनन् कि ? सामाजिक सुरक्षा कोषका धेरैजसो योगदानकर्ताहरुले एउटै चिन्ता पोखेपछि त्यो गुनासो सम्बोधन गर्न सामाजिक सुरक्षा कोष कार्यविधि शंसोधन हुँने प्रक्रियामा छ । अब ६० वर्ष नपुग्दै आफूले जम्मा गरेको रकमको केही पैसा तत्कालै निकाल्न पाइने भएको छ । स‌ंशाेधनमा यो कुरा उल्लेख भईसकेको छ । यसअघि कोषबाट पेन्सन पाउन ६० वर्ष पुग्नै पर्ने नियम राखिएको थियो ।

बीचमै जागिर छोडे जम्मा भएको पैसा के हुन्छ ?

सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम फिर्ता पाउन योगदानकर्ताको उमेर ६० वर्ष पुगेको हुनुपर्छ । पेन्सन पाउनको लागि कम्तिमा १५ वर्ष रकम जम्मा भएको हुनुपर्छ ।

तर, कसैले ३ वर्षसम्म सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरेको छ, त्यसपछि सो रोजगारदाताकोमा काम गर्न छोडयाे, अर्काे रोजगारदाता सामाजिक सुरक्षा कोषमा गएको रहेनछ वा अर्काे कुनै जागिर नपाएको कारण बेरोजगार बस्नु पर्यो भने आफूले जम्मा गरेको रकम झिक्न पाइन्छ ?

अथवा यसलाई यसरी बुझौं ।

कुनै ‘क’ भन्ने कम्पनी कोषमा आवद्ध छ । त्यही कम्पनीमा तपाईंले ३ वर्ष काम गर्नुभयो । त्यो ३ वर्षको अवधिमा कोषमा तपाईंको रकम ३ लाख रुपैयाँ जम्मा भयो । त्यसपछि सो कम्पनी छोडेर नयाँ कम्पनीमा गइयो । नयाँ कम्पनी कोषमा आवद्ध रहेनछ । वा जागिर नपाएको कारण बेरोजगार नै बस्नुपर्ने भयो । त्यस्तो अवस्थामा तपाईंको नाममा कोषमा जम्मा भएको ३ लाख रुपैयाँ झिक्न पाइन्छ ?

कोषका सुचना अधिकारी डा. रोशन कोजु योगदानकर्ताको उमेर ६० वर्ष नभई कोषमा जम्मा गरेको रकम झिक्न नपाइने बताउँछन् । डा. कोजुका अनुसार माथि उदाहरणमा उल्लेख गरिए जस्तो अवस्था आएमा आफ्नो उमेर ६० वर्ष पुगुन्जेल कुर्नुको विकल्प छैन ।

आफ्नै नाममा जम्मा भएको रकम आफूलाई साह्रो गाह्रो परेको बेलामा झिक्न नपाएर ६० वर्षको उमेरसम्म किन कुर्नुपर्ने ?

‘श्रम ऐनले ६० वर्ष उमेर नपुगुन्जेलसम्म कुनै पनि व्यक्ति श्रम नगरी बस्छ भन्ने कल्पना गरेको छैन, सामाजिक सुरक्षा कोषको अवधारणा भनेको सबै रोजगारदाता यो कोषमा आवद्ध हुन्छन् भन्ने नै हो, त्यसैले श्रम नगरी कोही नबस्ने र सबै रोजगारदाता कोषमा आवद्ध हुने नै भएपछि तपाईंले उदाहरण दिए जस्तो परिस्थिति नै आउने भएन नि,’ सुचना अधिकारी डा. कोजुले भने ।

रोजगारदाता कोषमा आवद्ध हुनै पर्ने

श्रम ऐनले सबै रोजगारदाता कोषमा आवद्ध हुनुपर्ने भनेको छ । कोषमा आवद्ध नभएमा रोजगारदातालाई कारबाही हुने भएकोले संगठित क्षेत्रमा काम गर्ने व्यक्तिले आफू काम गरेको कम्पनी परिवर्तन गर्दैमा कोषसँगको सम्बन्ध छुट्ने अवस्था नै नआउने डा. कोजुको भनाई छ । सबै रोजगारदातालाई कोषमा आवद्ध हुन बाध्य पार्नको लागि सरकारले केही समयपछि नै अभियान सञ्चालन गर्ने अधिकारीहरुले बताएका छन् ।

स्वरोजगार पनि आवद्ध हुन पाउने

कोषले आफ्नो कार्यविधि परिवर्तन गर्न लागेको छ । अहिलेसम्म कुनै पनि रोजगारदाताकोमा आवद्ध श्रमिक, कामदार तथा कर्मचारी मात्रै कोषमा सहभागी हुन पाउने व्यवस्था छ । अब यस्तो व्यवस्था परिवर्तन गरी स्वरोजगार व्यक्ति पनि कोषमा आवद्ध हुन पाउने व्यवस्था गर्न लागिएको छ । स्वरोजगार व्यक्ति पनि कोषमा आवद्ध हुन पाउने व्यवस्था भएपछि जागिर छोडेर आफ्नै केही काम गर्ने व्यक्तिहरु पनि कोषमा सहभागी भइरहन पाउने छन् ।

तलब घटे बढे केही फरक पर्दैन

कुनै एउटा कम्पनीमा काम गर्ने व्यक्ति अर्काे कम्पनीमा जाँदा उसको तलब कम वा बढी हुन सक्छ । तलब बढी भयो भने कोषमा योगदान गर्ने रकम बढ्छ । घटी भयो भने कोषमा पहिलाको भन्दा कम रकम जम्मा गर्न मिल्छ कि मिल्दैन ?

सुचना अधिकारी डा. कोजु श्रम ऐनले तोकेको न्यूनतमभन्दा कम नभएको अवस्थामा कोषमा जम्मा हुने रकम जुनसुकै बेला घटी वा बढी भएपनि केही फरक नपर्ने बताउँछन् । श्रम ऐनले मासिक करिब ९ हजार रुपैयाँ न्यूनतम तलब तोकेको छ ।

यसरी भयो सुरुवात

२०७५ मंसिर ११ गते सामाजिक सुरक्षा कोषको घोषणा भएको थियो । यस अगाडी कर तिरेको आधारमा सामाजिक सुरक्षा कोषले सेवा दिन्थ्यो । काेषले वृद्ध भत्ता, विधवा भत्ता, एकल भत्ता, प्रधानमन्त्री रोजगार योजना, कर्णाली खाद्य कार्यक्रम लगायत विभिन्न शीर्षकमा भत्ता तथा सेवा प्रदान गर्दै आएको थियो । २०७५ देखि भने सरकारले योगदानमा आधारित सुरक्षा कोष खडा गर्‍यो । मंसिर ११ गते सामाजिक सुरक्षा दिवस मनाउने गरिएको छ । कोषको स्थापना २०६७ चैतमा भएको हाे । एक प्रतिशत कर, सामाजिक सुरक्षा कोष नाराको साथ सूरुवात भएको थियो । नियमावली भने २०७५ मा आएको थियो ।

यस्ता छन् सामाजिक सुरक्षा कोषले प्रदान गर्ने सेवा

औषधी उपचार : औषधीउपचार अन्तर्गत तीन वटा सव-स्किम (उप-योजना) छन् । सामाजिक सुरक्षा कोषका जोकोही योगदानकर्ता बिरामी भएमा १ लाख रुपैयाँसम्म पाउँनेछन् । त्यसका लागि न्युनतम पारिश्रमिकको ३१ प्रतिशत कोषमा जम्मा गरिएको हुनुपर्नेछ । त्यसै आधारमा कोषले रकम उपलब्ध गराउँछ । यदि कुनै योगदानकर्ताको सन्तान जन्मिएमा ८० प्रतिशत कोषबाट र २० प्रतिशत स्वयम् व्यक्तिले जम्मा गरेको रकमबाट खर्च प्रदान गरिन्छ । यस्तै बच्चा जन्मिएपछिको ३ महिना उपचार खर्चबापत स्याहारसुसार गर्न १३ हजार ४ सय ५० रुपैयाँ प्रदान गरिन्छ । श्रम ऐनमा उल्लेख भए अनुसार गर्भावस्थाको अवस्थामा ९० दिन बिदा लिन पाईन्छ । यदि रोजगारदाताले ४५ दिन मात्र बिदा दिएमा सामाजिक सुरक्षा कोषले न्युनतम तलबको ६० प्रतिशत रकम प्रदान गर्छ । यो सुविधा प्राप्त गर्नका लागि कम्तिमा ३ महिनाको नियमित योगदान दिएको हुनुपर्छ ।

दुर्घटना तथा अशक्त सुरक्षा योजना

यदि कार्यस्थलमा (अफिसमा) काम गर्दागर्दै दुर्घटना भएमा सामाजिक सुरक्षा कोषका योगदानकर्ताको उपचारको सम्पूर्ण खर्च कोषले ब्योहोर्ने छ । यदि अफिस आउने, जाने क्रममा दुर्घटना भएमा ७ लाख रुपैयाँ पाउँनेछन् । एक महिनाको रकम जम्मा गरेपछि यो सुविधा प्राप्त गर्न सकिनेछ । यदि अपांग भएमा, अंगभंग भएमा योगदानकर्ता अस्थायी, पूर्ण असक्षमता भएमा न्युनतम पारिश्रमिकको ६० प्रतिशत रकम काममा नफर्किदासम्म प्रदान गरिनेछ । तर, स्थाथी पूर्णअसक्षमता भएमा न्युनतम पारिश्रमिकको ६० प्रतिशत रकम निजलाई हेरचाह गर्ने व्यक्ति वा संस्थालाई मासिक रुपमा निज जीवित रहुन्जेल कोषले प्रदान गर्छ । यो सुविधा पाउन २ वर्षको योगदान गरेको हुनुपर्नेछ ।

यसरी लिन सकिन्छ सामाजिक सुरक्षा कोषबाट ऋण

सामाजिक सुरक्षा कोषले विभिन्न शीर्षकहरुमा योगदानकर्ताहरुलाई ऋण उपलब्ध गराउँदै आएको छ । योगदानकर्ताहरुले चारथरीका कर्जा पाउन सक्छन् । विशेष सापटी अन्तर्गत बिनाधितो ८० देखि ९० प्रतिशत सापटी लिन सक्नेछन् । यो योजना अर्को आर्थिक वर्षसम्म सुरु हुने कोषका सूचना अधिकारी डा. रोशन कोजुले बताए ।

घर सापटी: सामाजिक सुरक्षा कोषमा तीन वर्ष योगदान गरेका योगदानकर्ताले धितो राखेर बढीमा १५ लाख रुपैयाँ वा १५ वर्षको तलब बराबरको रकम निकाल्न पाईन्छ । नयाँ घर किन्न, मर्मत गर्न, घरको तला थप्ने प्रयोजनमा यो रकम प्रयोग गर्न सकिन्छ ।

शैक्षिक सापटी: धितो राखेर शैक्षिक सापटी शीर्षकमा उच्च शिक्षाका लागि ३५ लाख रुपैयाँ बराबर वा १५ वर्षको तलब बराबर रकम सापट लिन सकिन्छ । यो रकम आफू, पत्नी र सन्तानहरुका लागि खर्च गर्न सकिनेछ । यो सापटी लिन सामाजिक सुरक्षा कोषमा तीन वर्ष योगदान गरेको हुनु पर्नेछ ।

सामाजिक कार्य सापटी: विवाह, व्रतबन्ध, जस्ता सामाजिक कार्यका लागि सामाजिक कार्य सापटी अन्तर्गत ५ लाख रुपैयाँसम्म सापटी लिन सकिन्छ । यो सुविधा सामाजिक सुरक्षा कोषमा तीन वर्ष योगदान गरेका योगदानकर्ताले पाउनेछन् ।

परियोजना कर्जा: यो सुविधा संस्थाले लिन सक्नेछन् । यसमा बैंक ग्यारेन्टी बस्नु पर्छ । यस शीर्षकमा २५ करोड रुपैयाँसम्म सापटी प्रदान गरिन्छ ।

संस्थागत कर्जा: यो शीर्षकको सुविधा लिन जमानत पर्दैन । तर, धितो राख्नु पर्छ । यसमा ३ अर्ब रूपैयाँसम्म ऋण प्रदान गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.