नछाेडाैं खबरदारी गर्न

  २०७७ पुष २१ गते १०:५९     दीपेन्द्र कुमार बिसी

नेपालको राजनीतिक संस्कारमा फस्टाउन नसकेको चिज हो खबरदारी । हाम्रो देशमा कुनै पनि राजनीतिक घटनामा अन्धभक्त भएर गरिने समर्थन र अन्धभक्त भएर वा लहैलहैको बिरोधले गाँज हाल्दा जनतामा खबरदारी चेतको बिकास हुन सकिरहेको छैन। कोही कसैबाट गरिएको खबरदारीले पनि प्रश्रय लिन सकिरहेको छैन। त्यसैले राष्ट्रले बारबार दुर्घटना झेल्नुपरेको छ।

खराब कार्य नहोस् , नगरियोस् भनी समयमै दिने सल्लाह, सुझाव, दबाब  तथा चेतावनीलाई खबरदारी भनेर सामान्य रूपमा बुझ्न सक्छौँ। यसै कदमको थालनी जनता तथा सेवाग्राहीबाट राज्य संचालक व्यक्तिहरु तथा राज्यलाई गर्न सकिरहेका छैनौं। नेपालमा बिरोध र समर्थनका थुप्रै कार्यक्रम र आन्दोलन हुने गर्छन् । तर, त्यसै कार्यक्रम तथा आन्दोलनमा सहभागी कतिपय जनमासलाई थाहा हुँदैन कि आफू किन र केको लागि उक्त कार्यक्रम तथा आन्दोलनमा संलग्न हुँदै छु भन्ने।

साँच्चिकै माइतीघर मण्डलामा आन्दोलनको नेतृत्व गर्नेहरू, देशका विभिन्न बजार, चोक, सडकमा आन्दोलनको नेतृत्व गर्ने सबै व्यक्तिहरु उनीहरुले भने झैँ पीडित, अपहेलित, शोषितवर्गको आवाज उठाउन, न्याय दिलाउन, खबरदारी गर्न तलिन भएर लागेका हुन्छन् त ? मलाई लाग्छ कदापि होइन। यो त सोझा साझा जनता देखाएर जनमास बटुल्ने आधार मात्र हो। आफूले जस लिने, अरुलाई चिल्लो घसिदिने अनि स्वार्थको रस लिने झेल मात्रै हो।

खासमा भन्ने हाे भने केही आन्दोलन मात्रै बास्तविक छन र हुन्छन् । त्यस्ता आन्दोलनकर्मीहरुप्रति सलाम र साथ छ। केही आन्दोलनकर्मीहरु व्यक्तिनिहित स्वार्थमा लागेका हुन्छन्। कसैको विपक्षमा बोलेर, कसैको पक्षमा लागेर निकट बन्न खोज्ने र आफ्नो अहोदा बढाउन खोज्ने गर्छन्। गलत व्यक्तिलाई पनि राम्रो भनेर, गलत कदमलाई पनि राम्रो कदम भनेर गरिने आन्दोलनले गर्दा आन्दोलन किन, के का लागि गर्नुपर्छ भन्ने कुराको औचित्य समेतलाई अर्थहीन बनाएको छ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई नियाल्दा  जुन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि हस्तक्षेप गरी गरेको संसद विघटनलाई लिएर सडकमा समर्थक र विरोधीले आन्दोलन गरेका छन। त्यस्ता आन्दोलन तथा कार्यक्रमहरु आवश्यक छ्न् कि छैनन् ? बुझ्नु जरुरी छ। पार्टीभित्रको आन्तरिक विवाद मिलाउन नसकि आवेग र आक्रोशमा राष्ट्रलाई नै बिचलित अवस्थामा पुर्याउन सफल नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उनको कु- कदमलाई सफल पार्न साथ दिने राष्ट्रपति बिद्यादेवी भण्डारीको हर्कतलाई कसरी सही कार्य भन्न सकिन्छ ? कसरी समर्थन गर्न सकिन्छ ? बिना कारण संबिधानमै किटान नगरिएको अधिकार हातमा लिएर तीन बर्षमै प्रतिनिधिसभा  विघटन गर्नु जस्तो कु- कार्य गर्दा पनि केपी शर्मा ओली राष्ट्रप्रेमी नेता हुन, राम्रो कार्य गर्न खोज्दा पनि प्रचण्ड र माधवकुमार नेपाल पक्षले पार्टीभित्र साथ दिएनन्त्य, सैले संसद विघटन गरे भनेर कु-तर्क दिएर समर्थनमा लाग्नु मुर्खता बाहेक अरु केही होइन।

कागको स्वर सुनिसकेपछि पनि, काग होइन, कोइली हो, यसको रुप कालो छ भनेर कारण दिनु कत्तिको जाहेज हुन्छ होला र ! कोरोना महामारीको समयमा लकडाउन हुँदापनि स्वास्थ्य सामाग्री खरिदमा अनियमितादेखि यति, गोकर्ण रिसोर्ट, ललिता निवास, सम्धी काण्ड, ७० करोड काण्ड  जस्ता भ्रष्टाचारमा मुच्छिएका आफू निकट नेताहरूलाई मन्त्री बनाउदै, राजनीतिक नियुक्ति दिदै भ्रष्टाचारीहरुलाई संरक्षण गर्दै जाने अनि मिडियामा म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्नेहरुलाई छाड्दिन भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिको कुनै अर्थ छैन।

भारतीय गुप्तचर निकाए रअका प्रमुखसँग भेटेर देश डुबाउने खेल खेल्ने, अमेरिकी साम्राज्यवादीहरुसँग मिलेर एमसीसी पास गर्न खोज्ने जस्ता हर्कतले उहाँ देश र जनताको लागि कतिको उचित काम गर्दै हुनुहुन्थ्यो भन्ने प्रष्ट हुन्छ। कालापानी, लिपुलेक सहितको नेपालको नक्सा बनाउदा पनि सार्वजनिक रूपमा प्रयोगमा ल्याउन नसक्नु, भारतीय सेनालाई नेपाली भुमिबाट हटाउन नसक्नु उनको कमजोरी हो। यस्तो दुर्दशा देख्दा पनि केपि ओलीलाई समर्थन गरी हाम्रा नेता राष्ट्रप्रेमी, हामी राष्ट्रप्रेमको पक्षमा भनेर ओलीको समर्थनमा सडकमा उत्रिनु, सामाजिक संजालमा भजन किर्तन गर्नु असभ्य नागरिकको पराकाष्ठा हो। हाम्रो समर्थन सिर्फ अन्धभक्ति मै सिमित छ। हामीले कहिल्यै पनि हाम्रो नेतृत्वलाई  गलत कार्य नगर्नु भनेर खबरदारी गर्न सकेका छैनौं। गलत हुँदा पनि गलत हो है भनेर खुलेर भन्न सकेका छैनौं भने कसरी राम्रो प्रतिफल पाउन सक्छौं त ?

ओलीको कदम गलत हुँदा फेरि यो हैन कि प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल सही छ्न् । यो बिल्कुल गलत भ्रम हो। पार्टी र सरकारभित्र आफू र आफ्नो मान्छे बन्ने, बनाउने स्वार्थमा लागिरहने यी नेताहरूको मागले गर्दा जनताले विश्वास गरेर जिताएको विशाल पार्टी  नेकपा फुटको संघारमा पुग्न र देशमा संसद विघटनको परिस्थिति आउन सफल भएको हो। प्रचण्डमा हिजोको दिनमा केपी ओली अस्वस्थ हुँदा, ओलीको आयु कम छ भन्ने अड्कल काटेर आफू प्रधानमन्त्री र ठुलो पार्टी नेकपाको एकल अध्यक्ष बन्ने प्रलोभनको दाउ थियो। जब केपी ओली स्वस्थ भए प्रचण्डमा आक्रोशत र बैराग्यता उत्पन्न भयो। पार्टी एकताको सम्झौता अनुसार साढे २ बर्षको सरकार संचालनको सत्ता अबधि सकिए लगत्तै कि प्रधानमन्त्री छोड्न कि अध्यक्ष पद छोडन दबाब दिन थालियो।

तर प्रधानमन्त्री केपी शर्मा ओलीको दुबै पद नछाड्ने मनस्थिति देखेपछि, ओलीलाई पतन गर्न माधवकुमार नेपाललाई उचाल्न प्रचण्ड पुगेका हुन। एमाले र माओवादी पार्टी एक हुँदा माधवकुमार नेपाललाई प्रचण्डले केपीपछि एमालेको तर्फबाट आफ्नो प्रतिस्पर्धी सम्झेका थिए । ओलीले पनि एमालेको नवाैँ महाधिवेशनको आफ्नो प्रतिस्पर्धी हुन भन्ने पुर्वाग्रह राखेर नेपाल पक्षलाई पार्टीभित्र सक्ने प्रयत्न गरिरहे। नेताहरूको कदमबाट कतिपनी बिचलित नभएर विधि र विधानका कुरालाई जोड दिने नेता माधवकुमार नेपाल आफ्नो कुरामा अडिग थिए।

नीति नियमकाे मयार्दामा रहने माधवकुमार नेपाललाई पछिल्लो समय प्रचण्डको साथ मिल्दा प्रचण्ड- नेपाल नेकपाभित्रको बलियो समुह बन्न पुग्यो। आफू निकट नेताहरूलाई मन्त्री, मुख्यमन्त्री, राजनीतिक नियुक्तिको निम्ति प्रस्ताव प्रधानमन्त्री समक्ष दिन थाले । तर प्रधानमन्त्रीले बेवास्ता गर्ने, काम नगर्ने गर्दा उहाँ प्रति असन्तुष्ट सबै शिर्ष नेताहरूको माेर्चा तयार हुन थालेको थियोे। पार्टीभित्र बैठक बसाल्न खोजियो । तर प्रधानमन्त्री बैठकमा उपस्थिति नहुने, बैठक सारिरहने, कहिलेकाहीँ बैठक बसेको खण्डमा भएका निर्णय पनि कार्यन्वयन नगर्ने चलन देखिएपछि राजनीतिक परिस्थिति नयाँ माेडमा लम्कियो।

बैठकका निम्ति अध्यक्ष प्रचण्डको प्रस्ताव पत्र आयो जसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई थुप्रै आरोप लागे । अध्यक्ष ओलीबाट पनि  प्रस्तावहरु आए एकले अर्कालाई दोषी ठहर्‍याए। अध्यक्ष केपी ओलीले अर्को अध्यक्ष प्रचण्डलाई प्रस्ताव फिर्ता लिन अनुरोध गर्दा अस्विकार गरियो। ओली नयाँ योजनाको थालनीमा पुगे। प्रचण्ड – माधव पक्षले ओलीलाई अध्यक्षबाट हटाउन खोजेको याेजनालाई प्रधानमन्त्रीबाट समेत हटाउन लाग्ने गरी बिस्तारित गरेर अविश्वासको प्रस्ताव ल्याउने चेष्टा भित्री रूपमा हुँदै थियोे। उक्त प्रयासको पत्तो पाएर ओलीले न रह्यो बाँसऽ न बझ्यो बाँसुरी भने झै संसद विघटन नै गरिदिए। बि.सं.२०७८ बैशाख १७ र २७ गरी २ चरणमा निर्वाचन  गर्नेगरी मध्यावधी निर्वाचनको मिति तोकिदिए। जसले नेपालमा नयाँ राजनीतिक तरंग उतपन्न भयो।

नेकपा पार्टीभित्र को के बन्ने, बनाउने भन्ने सत्ता अन्तरद्वन्दले  देशलाई नै राजनीतिक दुर्घटनामा पारेका छ। देशलाई दुर्घटनाको बाटोमा पुर्याउनमा मुख्य भुमिका प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपतिसंगै नेकपाका शिर्षनेताहरू र हनुमानी कार्यकर्ता नै हुन। पार्टीभित्र जबज, जनताको जनबाद, २१औँ शताब्दीको जनवाद कुनै बिचार, दर्शन तथा सिद्धान्तको अन्तर-द्वन्द नभएर व्यक्तिबादी स्वार्थ र पदिय लोभ नै मुख्य भेदको बिषय थियो।

यी विविध व्यक्तिवादी स्वार्थी खेल चलेको थाहा हुँदाहुँदै पनि नेता कार्यकर्ताहरुबाट शिर्ष नेताहरूलाई खबरदारी नहुँदा, नेकपा फुटको संघारमा पुगेको हो। जसले गर्दा नेकपा ओली समूह र प्रचण्ड- नेपाल समुहमा विभाजित भएको छ। एकले अर्का अध्यक्षलाई कारबाही गर्दै, पार्टी प्रवक्ता नियुक्ति गर्दै, केन्द्रिय सदस्य थप्दै आफ्नो समुह आधिकारिक नेकपा हो भनी निर्वाचन आयोगमा दाबी पेस  गरेका छ्न। सूर्य चिन्ह दुईटै पक्षले आफ्नो हुनुपर्ने भन्दै निर्वाचन आयोग समक्ष पुगेका छ्न।  संसद विघटन असैंवैधानिक छ। प्रतिनिधिसभा पुनःस्थापन गर्न सर्वोच्च अदालतमा उजुरी गरिएको छ। प्रचण्ड- नेपाल समुह प्रधानमन्त्रीको कु- कदमको विरुद्ध आन्दोलनमा छन। प्रमुख विपक्ष कांग्रेस लगायत केही अन्य दलहरूले पनि ओलीको संसद विघटनको बिरोध गरिरहेका छ्न। संसद विघटनको बिरोध गर्नु राम्रो कुरा हो। त्यसैले सम्पुर्ण राष्ट्रप्रेमी नागरिकहरु संसद विघटन जस्तो प्रतिगामी कु- कदम विरुद्ध एकजुट भएर आन्दोलनमा जुटनु जरुरी छ। तर केपी ओली जिन्दावाद भन्दै ओलीको प्रतिगामी षड्यन्त्रलाई स्वागत गर्न, समर्थनमा सडकमा आउने केपी ओली पक्षका नेता कार्यकर्ताहरुको कदम  भने असभ्य नागरिकहरुको असभ्य राजनीतिक अभ्यासको पुष्टि हो। ओलीलाई संसद विघटन गर्दा पनि राम्रो गरे भन्ने नेता कार्यकर्ता तथा नागरिकहरु यो देश बर्बादिको हिस्सेदार हुन्।

नेताले गलत गरिरहेका छन्। तर नेता कार्यकर्ताहरुले एकतर्फि रूपमा समर्थन गरिरहेका छ्न। यसले गर्दा नेतालाई थप गलत कार्य गर्न प्रोत्साहन गरिरहेको छ। नेकपा ओली पक्षले आफूलाई आधिकारिक ठहर्‍याउन, समर्थन बढाउन पार्टी र जनबर्गीय संगठनमा केन्द्रीय कमिटी सदस्य र अन्य पदको प्रलोभन देखाएका छन। त्यही पदमा लोभीएर केन्द्रिय सदस्य हुन हाम फाल्नेहरुले गलत कार्य गर्नलाई  प्रोत्साहन दिरहेका छ्न। यदि यिनै केन्द्रिय सदस्यहरु भोलिको दिनमा राज्य सत्तामा पुगे भने के गतिलो कार्य गर्न सक्छन् त ? पक्कै सक्दैनन्। उहीँ राजनीतिक संस्कार सिकेका र मानेका व्यक्तिहरुले राम्रो कार्य बिल्कुलै गर्न सक्दैनन।
अहिले बनेका केन्द्रीय सदस्यहरुले देशमा भोलिको दिनमा सही नेतृत्व लिनेछन भन्ने आशा राख्नु त शरीरको लुतो फाल्छु भनेर नालिको ढलले नुहाउनु सरह नै हो। यो कदम गलत छ भनेर खबरदारिका साथ समर्थक अथवा बिरोधी हुनुपर्ने ठाउँमा सत्ता, पदको लोभमा लम्किनु उचित हैन। अहिले प्रचण्ड- नेपाल पक्षबाट संसद विघटनको बिरोध भइरहेकोे छ। यसको समर्थनमा जनमास देखापर्नु भनेको प्रचण्ड-नेपाल नेतालाई समर्थन भन्दा पनि देशमा भएको प्रतिगामी षड्यन्त्र विरुद्धको जनमास हो। बारबार यस्ता किसिमका असंबैधानिक कदम अरु कसैले नदोहोर्‍याउन भनेर गरिएको जनताको खबरदारी पनि हो।
हिजो उखु किसानको लागि, निर्मला पन्तको न्यायको निम्ति, गरिब, पीडित, शोषित जनताको न्यायको निम्ति सदन हुंदा सदनमा नबोल्ने, सडक हुँदा सडकमा नआउने नेताहरू आफ्नो जागिर अर्थात संसद स्वाहा हुँदा सडकमा आएर हामी जनता र राष्ट्रको निम्ति लडिरहेका छौँ भन्नु मजाक बाहेक अरु केही होइन। गतिलो नेता केपी, प्रचण्ड, नेपाल, खनाल, देउवा, बाबुराम कसैलाई मान्न सकिदैन। सबैको मुल्यांकन भैसकेको नै छ। जुन जोगी आएपनि कानै चिरेका भनेझै यिनै नेताहरुको पछाडि लाग्ने दोस्रो तहका युवा नेताहरूले पनि सत्ता अवसर पाए गतिलो काम गर्लान् भन्ने झिनो आशा पनि छैन। किनकि यिनै दोस्रो तहका नेताहरूले यी गलत नेताहरुलाई आफ्नो व्यक्तिगत स्वार्थको लोभमा साथ दिइरहेका छन। त्यही राजनीतिक संस्कारलाई अंगाल्दै आएका छ्न। त्यस्तै तेस्रो तथा पछिल्लो पुस्ताले सिक्दै जानेछन र गलत राजनीतिक संस्कारबाट गलत मान्छेले राज्य संचालनको स्थान ओगटन पुग्नेछन्। जबसम्म हामी मौन हुन्छौं। गलत कदमको बिरोध गर्दैनौं, गलत हुँदा तथा गलत हुनै लाग्दा खबरदारी गर्दैनौं,  तबसम्म गलत मान्छेहरु गलत कार्य गर्दै राज्य सत्तामा पुग्नेछन् र राष्ट्रलाई दुर्घटनामा पारिरहने छन। साँच्चिकै हाम्रो खबरदारी छैन। हामीले अब कहिले गर्ने खबरदारी ? खबरदारी नभएसम्म त  गलत कार्यले पुन: स्थान लिईरहने नै छ।
यद्यपि देशमा सही नेतृत्व र सही राजनीति संस्कारलाई बढुवा दिने हो भने आजको दिनमा गलत कार्य गर्ने, गराउने र गर्दै गरेका सबैलाई खबरदारी गर्नुपर्छ। गल्ती अनुसार सजायको कठघरामा उभ्याउनुपर्छ। तब केही असल नेतृत्व र असल राजनीतिक संस्कारले स्थान लिने छ। खबरदारीले गलत व्यक्तिलाई गलत कार्य गर्नलाई रोकावट गर्छ र गलतलाई सच्याएर सही बनाउन मद्दत पुग्छ। अहिले संसद विघटनको विरुद्ध भएका आन्दोलनले सर्वोच्च अदालतलाई खबरदारी गरिरहेको छ। गलत निर्णय नलियोस्, मूर्ख र निरङ्कुश शासकी शक्तिको झुकाव नगरोस्। संबिधानलाई मिचेर गरेको प्रतिनिधिसभा विघटनलाई खारेज गरी संसद पुनःस्थापन गरोस भन्ने हो।
निर्वाचन आयोगले पनि उल्लेखित मापदण्ड अनुसार निष्पक्ष रुपमा मापदण्ड पुगेको समुहलाई आधिकारिक नेकपा पार्टी र सूर्य चिन्ह प्रदान गरोस भनेर खबरदारी गरेको हो। त्यस्तै अन्य दिनमा आउने अरु प्रधानमन्त्रीहरुले पनि आफू मनपरी संविधान मिचेर संसद विघटन जस्तो कु- कार्य गर्न आँट नगरुन भन्ने हो। त्यसैले खबरदारी स्वरुप प्रतिगामी षड्यन्त्र विरुद्ध चर्को दबाबमुलक आन्दोलनमा आम नागरिकहरुको एक्यवद्धता हुन जरुरी छ। कुनै नेताको पक्ष, विपक्षभन्दा पनि गलत सहि छुट्याएर गलत कदम विरुद्ध नेताकार्यकर्ता तथा जनताले खबरदारी गर्नुपर्छ। यो नै आजको आवश्यकता हो। त्यसै स्वरुप यो लेखले पनि राष्ट्रमा स्थायित्व सरकार कायम गरि सुशासन सहित समृद्धिको बाटोमा लम्किन सम्पुर्ण देशभक्त नागरिकहरुमा खबरदारी चेतको बिकास हुनसकोस भन्ने अपेक्षा राख्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.