२०२० मा अमेरिकी सेयर बजारको अनुभवः ब्रोकरले कमिसन लिदैनन्, यस्ता रहेछन् कमाई हुने कम्पनी

  २०७७ पुष १९ गते १०:१९     नारायण सापकोटा

सन् २०२० मेरा लागि अमेरिकी सेयर बजार अध्ययन गर्ने वर्ष रह्यो । मेरो एकाउन्ट रहेको सेयर ब्रोकरले शनिबार र आईतबार बाहेक दिनभरि नै बजारका बारेमा पढाउँछ । अनलाईन कक्षा लिएर अमेरिकी सेयर बजारको वास्तविक अध्ययन गर्ने अवसर मैले पाएँ । यो अध्ययनका लागि कुनै खर्च लागेन । मात्र समय दिएँ ।

सेयर बजारका बारेमा त नेपालदेखि नै जानकार थिएँ ।

गत वर्षको अध्ययनले अप्सन मार्केट बुझ्ने अवसर दियो । अप्सन सेयर बजारकै एक औजार हो । यो एकदम नै जोखिमपूर्ण लगानी हो । नयाँ विषय सिक्ने अवसर पाएकोमा दंग छु ।

एक कित्ता सेयर किनेर भएपनि विश्वका ठूलाभन्दा ठुला कम्पनीको सेयर होल्डर बन्न पाइने अवसर सेयर बजारले नै दिएको हो । रमाईलो कुरा के छ भने सेयर किनबेच गर्दा ब्रोकरलाई कुनै शुल्क नै तिर्नु पर्दैन । उल्टो दिनभरि अनलाईन पढाउँछन् ।

सन् २०२० का उच्च रुपमा सेयर भाउ बढेका कम्पनीमा एमाजन, एप्पल, टेस्ला, निभिडिया भए । एक वर्षको अवधिमा जूमको सेयर मूल्य ४० डलरबाट ६ सय पुगेर अहिले ३ सय ५० को हाराहारीमा छ । विमान बनाउने कम्पनी वोईङको सेयर एक सय डलर भन्दा तल पनि आयो । गूगलको सेयर पनि एक हजार डलरभन्दा तल आएर अहिले १७ सय डलर पुगेको छ ।

सपिफाईको सेयर मूल्य पनि चार सयबाट १३ सय डलर पुग्यो । चाईनिज कम्पनी अलिबाबाको सेयर मूल्य पनि दुई सयबाट तीन सय १८ सम्म पुगेर फेरि अहिले २ सय ३५ डलरमा झरेको छ ।

टेस्लाको सेयर किन्नेले सन् २०२० मा धेरै कमाए । टेस्लाको सेयर मूल्य तीन सय डलरबाट २५ सय डलर पुग्यो । एक सेयर हुनेले पाँच सेयर थपेर पाएपछि मूल्य चार सय डलरमा आयो । फेरि अहिले सात सय डलर नाघेको छ । नौ महिनाको अवधिमा टेस्लाको सेयर तीन सयबाट ४ हजार डलर नाध्यो । एमाजनको सेयर १५ सयबाट ३५ सय डलर पूग्यो । फेसबुकको सेयर मूल्य पनि राम्रैसँग बढ्यो ।

सन् २०२० को अनुभवको आधारमा भन्नुपर्दा ठूलो र बढि सेयर मूल्य भएका कम्पनीको नै सेयर किन्नु पर्ने रहेछ । यो कम्पनीको सेयर धेरै बढ्यो, अब घट्छ होला भनेर नकिन्यो, त्यसैको मूल्य बढ्ने रहेछ । नाफा कमाउने र मूल्य बढिरहेका कम्पनीकै सेयर किन्दा कमाउन सकिने रहेछ । साना र सस्तो मूल्य भएका कम्पनीको सेयरमा कमाउने भन्दा गुमाउने संभावना बढि देखियो ।

सवै कम्पनीमा एउटै नियम त लाग्दैन । तर पनि पैसा लगानी गर्ने भनेको ठुला कम्पनीमा रहेछ । बजार घटे पनि ठुला कम्पनीको सेयर मूल्य नै पहिला बढ्ने देखियो ।

भ्याक्सिन आउने भएपछि कोरोनाका कारणले घटेका कम्पनीको सेयर मूल्य बढ्न थालेको छ । हेरौं अब सन् २०२१ मा कुन कुन कम्पनीले धेरै कमाउने हुन् । कुन कुन कम्पनीले गुमाउने हुन् ।

(अमेरिकामा रहेका नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व अध्यक्ष सापकोटको फेसबुकबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.