ललितपुरकाे वाग्मती गाउँपालिकामा पाँच श्ययाको कोभिड अस्पताल निर्माण

  २०७७ पुष १४ गते १७:१७     विकासन्युज

ललितपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–३ भट्टडाँडास्थित महाङ्कालखोल्सामा गाउँपालिकास्तरीय पाँच श्ययाको अस्थायी कोभिड–१९ अस्पतालको निर्माण सम्पन्न भएको छ ।

गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले आज सो अस्पतालको उद्घाटन गर्दै मूलुकमा अझै कोरोना महामारी कायम रहेकाले सङ्घीय सरकारको निर्णयलाई गाउँपालिकाले कार्यान्वयन गरी पाँच श्ययाको अस्पताल व्यवस्थापन गरेको छ भने । उनले भने, “अब यहाँका जनतालाई कोभिड सङ्क्रमण भएमा राख्ने ठाउँको अभाव हुनेछैन । बिरामी उपचारका लागि आवश्यक सम्पूर्ण सामग्रीसमेत जुटाइसकेका छाैँ । अस्पतलमा एक एमबिबिएस चिकित्सक र दुई स्टाफ नर्ससमेत रहनेछ ।”

अर्काेतर्फ वडा नं ४ प्यूटारस्थित थाङसिनटारमा १५ श्ययाको ‘गाउँपालिकास्तरीय अस्पताल’ भवन निर्माण कार्य पनि सम्पन्न भइसकेको छ । वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयको सःर्शत अनुदानमा ‘एकपालिका एक अस्पताल’को अवधारणाअनुरुप उक्त काम अघि बढाइएको थियो ।

गाउँपालिकास्तरीय अस्पताल निर्माणका लागि प्रदेश सरकारले कूल रु दुई करोड तीन लाख २२ हजार भ्याटसहित सम्झौता रकम भवन निर्माणका लागि दिएको ललितपुर क्षेत्र नं १ का प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले बताए । उनले भने, “अस्पताल सञ्चालनका लागि आवश्यक सामग्री र दरबन्दी सिर्जना गर्ने काम भने गाउँपालिका र प्रदेशको समन्वयमा हुनेछ ।”

सो गाउँपालिकास्तरीय अस्पताल तयार भइसकेपछि नजिकैरहेका बकैया गाउँपालिका र काभ्रेका जनताले समेत सेवा लिन पाउने स्वास्थ्य शाखा संयोजक नवराज तिमिल्सिनाले बताए । उनले भने, “भौगोलिक रुपमा विकट रहेका वाग्मतीका सातै वडामा स्वास्थ्य चौकीको व्यवस्था छ । वाग्मतीको एक वडाबाट अन्य वडामा पुग्न घण्टौ हिड्नुपर्ने हुँदा भट्टेडाडाँको स्वास्थ्य चौकीलाई बढुवा गरेर ‘भट्टेडाडाँ अस्पताल’का रुपमा स्तरोन्नती गरिएको छ ।”

वाग्मतीका हरेक स्वास्थ्यचौकीमा दैनिक १५ देखि २० बिरामी उपचारका लागि आउने गर्छन । वाग्मतीको वडा नं २ माल्टा र वडा नं ५ इकुडोलको स्वास्थ्यचौकी भवन २०७२ सालको भूकम्पले जीर्ण बनाएको हुँदा नयाँ बनाउन आवश्यक रहेको छ । वाग्मतीले गाउँपालिकाका जनतालाई हालसम्म एउटा मात्र एम्बुलेन्स सेवा दिइरहेको तिमिल्सिनाले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.