मण्डलामा उखु किसानकाे १५औं दिन: अधिकांशले भुक्तानी पाएनन्, पाउनेले पनि ताेकेकाे भन्दा कम (तस्विरसहित)

  २०७७ पुष १२ गते १४:५८     विकासन्युज

काठमाडौं । उखुको भुक्तानी माग गर्दै विभिन्न जिल्लाबाट काठमाडौं आएका किसानहरु विगत १५ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । तरपनि सरकारले उनीहरुको भुक्तानी दिलाउन कुनै पहल गरेको छैन ।

यो बीचमा केही उद्योगीले किसानको खातामा रकम पठाएका छन् । तर सरकारले तोकेको भन्दा पनि कम दरमा भुक्तानी पाएको किसानहरुको गुनासो छ । त्यसैले सबै किसानको खातामा सबै भुक्तानी नपाउँदासम्म आन्दोलन जारी राख्ने किसानहरु बताउँछन् ।

हलो, उखु र विभिन्न माग लेखिएका प्लेकार्ड लिएर विगत १५ दिनदेखि उखु किसानहरु आफ्नो पसिनाको भुक्तानी पाउनुपर्ने माग गर्दै केन्द्रीय राजधानीको माइतीघर मण्डलामा आन्दोलन गर्दै आएका छन् । विगत सात वर्ष देखिको भुक्तानी मिल सञ्चालकहरुले नदिएपछि किसानहरु निर्णयक आन्दोलन गर्न भन्दै काठमाडौं आएका हुन् । गत वर्ष पनि उनीहरुले यस्तै आन्दोलन गरेका थिए ।

तर सरकारको रोहबरमा किसान र उद्योगीबीच एक महिना भित्र भुक्तानी दिने सहमति भएपछि किसान घर फर्किएका थिए । तर एक वर्षसम्म पनि भुक्तानी नपाएपछि तिनै किसान फेरी काठमाडौं आई आन्दोलन गरिरहेका छन् । १५ दिनसम्म आन्दोलन गर्दापनि सरकार नसुनेझैं गरी बसिरहेको छ । किसानहरु आन्दोलन गरेको देखेपछि केही उद्योगीले किसानको खातामा रकम पठाउन थालेका छन् । तर सरकारले तोकेको मूल्य भन्दा पनि कम दरमा भुक्तानी पठाएको किसानहरुको गुनासो छ ।

उखु किसान संघर्ष समितिका सदस्य मायासंकर प्रसाद यादवले सरकारले प्रति क्वीन्टल ४ सय ७१ रुपैयाँ २८ पैसा मूल्य तोकेको भएपनि उद्योगीहरुले ४ सय ३५ रुपैयाँ मात्रै भुक्तानी दिएको गुनासो गरे । सबै किसानले पाउनुपर्ने सम्पूर्ण भुक्तानी नपाउँदासम्म आन्दोलन जारी राख्ने पनि उनले बताए ।

चिनी उद्योगीहरुबाट उखु किसानहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ । विगत सात वर्ष देखिको भुक्तानी पाउन बाँकी रहेको आन्दोलनमा सहभागि किसानहरुले बताएका छन् । आफूहरुले दुःख गरेर उब्जाएको उखुको भुक्तानी नपाउँदासम्म आन्दोलनलाई जारी राख्ने किसानहरुले बताए ।

आन्दोलनरत किसानहरुले ‘सरकार तिमी कहाँ छौ, हामी किसान यहाँ छौं’, ‘हाम्रो आन्दोलन जारी छ’, ‘किसान मार्न पाइदैन’, ‘हाम्रो रकम भुक्तानी गर’, ‘किसानलाई क्षतिपूर्ति देउ’ लगायतका नारा समेत लाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.