उपभोक्ता ठगी गर्ने काठमाडाैंका पाँच व्यवसायी फर्मलाई अदालतमा मुद्दा दायर

  २०७७ पुष ६ गते १०:५४     विकासन्युज

काठमाडाैं । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले चालु आर्थिक वर्षमा अनुमति नलिई व्यवसाय सञ्चालन गर्ने तथा उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्मलाई कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेको छ ।

नापतौल कार्यालयले चालु आवमा काठमाडौंका विभिन्न स्थानमा गरेको अनुगमनमा अनुमतिपत्र नलिई व्यवसाय सञ्चालन गर्नुका साथै उपभोक्ता ठगी गरेको पाइएपछि कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेको हो । अदालतमा मुद्दा दायर हुनेमा गोरखकाली ग्याँस सेन्टर, मातारानी ट्रेडिङ प्रालि घट्टेकुलो, न्यू टीका डेरी सेन्टर, एम लाल स्टोर्स महाराजगञ्ज र गोरखकाली हार्डवेयर लोलाङ रहेका छन् ।

मातारानी ट्रेडिङ प्रालिले चामलमा व्यापक मात्रामा ठगी गरेको पाइएको छ । रिपुराज एग्रो प्रालि भारतमा उत्पादित महाशक्ति ब्राण्डको चामलले २५ किलोको बोरामा २१ किलो राखेर बिक्री वितरण गर्दै आएको अनुगमनका क्रममा भेटिएको कार्यालयका प्रमुख मनिषकुमार दासले जानकारी दिए । “अनुगमनका क्रममा एउटै बोरामा चार किलोसम्म कमी पाइएपछि कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेका हौँ”, उनले भने । मातारानी ट्रेडिङ प्रालिले भारतीय उद्योगमा उत्पादित चामलको बोरामा स्थानीय (लोकल) चामलसमेत हालेर बिक्री वितरण गर्दै आएको नापतौल कार्यालयले जनाएको छ ।

यस्तै न्यू टीका डेरी सेन्टरले दूधको पोकामा घटी मात्रामा राखेर बिक्री वितरण गरेको भेटिएको छ । कार्यालयले गरेको अनुगमनका क्रममा एक लिटर दूधको पोकामा ५० मिलिलिटर तथा आधा लिटर दूधको पोकामा ३० मिलिलिटर कमी भेटिएको छ । गोरखकाली ग्याँस सेन्टर, एम लाल स्टोर्स र गोरखकाली हार्डवेयरले अनुमतिपत्र नलिई व्यवसाय सञ्चालन गरेकाले कारबाहीका लागि मुद्दा दायर गरेको हो ।

कार्यालयका सूचना अधिकारी निराजन पुडासैनीले चालु आवमा अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरेबापत दुई हजार ७०८ व्यवसायीलाई कारबाही गरेको जानकारी दिए । यस्तै चालु आवमा ४२४ व्यापारीले नाप्ने तौलने यन्त्रको इजाजतपत्र नवीकरण गर्नुका साथै एक हजार ५५० व्यापारीले नाप्ने तौलने यन्त्रको जाँच गरेका छन् । कार्यालयले ३७९ पेट्रोल पम्प जाँच गर्नुका साथै दुई हजार ५०७ ट्याक्सीको मिटर जाँच गरेको छ । कार्यालयले चालु आवमा विभिन्न शीर्षकमा रु ५२ लाख २० हजार ५७९ राजश्व सङ्कलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.