विवाहको पूर्व सन्ध्यामा अभिनेत्री श्वेता खड्काले लेखिन् भावुक स्टाटस

  २०७७ मंसिर २१ गते १५:५१     विकासन्युज

म: जीवनको नविन यात्रामा

जीवनका विभिन्न आरोह-अवरोह, उकाली-ओराली, सुख-दु:ख अनि हाँसो-रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु । जिन्दगीको यो मोडसम्म आईपुग्दा मैले जे जस्ता पिर, ब्यथा, दु:ख अनि कष्टहरुसंग सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि असमर्थ छु । ‘अचानोको पिँडा खुकुरीलाई थाहा हुन्न’ भनेझैं समयको दुश्चक्रले ममाथी प्रहार गरेको अनेकन प्रहार र त्यसबाट मैले भोगेको पिंडाहरु केवल मलाई मात्र थाहा छ ।

म देख्थें, मेरो अगाडि लम्पसार परेर सुतिरहेको जिन्दगीको लामो बाटो जसमा तिखा काँडा, ठुलाठुला पत्थर अनी आगोको ज्वालाहरु छरप्रष्ट भएर छरिएका छन् । मैले मेरो जीवनको बाटोमाथी छरप्रष्ट ति काँडाहरुलाई पन्छाउनु पर्नेछ, पत्थरहरुलाई फुटाउनु पर्नेछ अनि आगोको ज्वालाहरुलाई नाघ्नु पर्नेछ । “के म यसो गर्न सकुँला र ?” आँफैसंग प्रश्न गर्थें । आफ्नै प्रश्नमा आँफैले उत्तर दिन्थें ” कि हुती हारेर मर्नु पर्छ कि त हिम्मतका साथ अघि बढ्नुपर्छ ।” अत: मैले मृत्युलाई रोजिनँ, जीवनलाइनै रोजें । अनि जिन्दगीका हरेक समस्याहरुसँग जुध्दै क्रमश: अगाडि बढ्दै गएँ ।

‘एक्लै जीवन काट्न सकिन्छ’ भन्ने कठोर निर्णय लिएर विगत ६ बर्षदेखी एक्लै हिँडीरहेकी थिएँ म । मेरो यो एकल यात्राका बखतमा धेरै पटक लडेकी छु । “अब उठ्नै सक्दिन कि ” भन्ने कमजाेर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै साहराको आशा हुँदो रहेछ । महिनै पिच्छे करिब हप्ता दिनको लागि बिरामीको अवस्थामा पुग्ने मेरो शरीरले एक गिलास पानीसंगै औषधीको ट्याब्लेट मुखमा हालिदिने एउटा सहयोगको चाह हुँदो रहेछ । मनभित्र गाँठो परेर बसेका अब्यक्त बहहरुलाई बोकेर हिंड्नु भनेको हजार टनको पत्थरलाई टाउकोमाथी बोकेर हिंड्नु भन्दा पनि कठिन रहेछ। तर मैले मेरा बहहरु ब्यक्त गर्ने कोसंग ? मैले साथीसंगतीहरुको भिडमा आँखा डुलाएर हेरें तर मेरो पिंडालाई महशुस गर्न सक्ने कोही देखिनँ । आफन्तहरुको घेरामा खोजेँ तर माइतीमा शरण लिएर बसेको म एकल नारीले आफ्नो पिंडा पोखेर माइतीलाई थप तनाव दिनु हुन्न भन्ने मनन् गरें । अत: मेरो हरेक दु:खमा म एक्लै रोएँ, पिंडाहरुमा आँफै सम्हालिएँ अनी अनेकन समस्याहरुसंग एक्लै जुधिरहें ।

“मेरो एकल जीवनलाई नियालिरहेका मेरा धेरै हितैषीहरुले एउटा जीवन साथी खोज्नको लागि नसुझाएका पनि होइनन् तर एक पटक पुछिएको सिउँदोमाथी पुन: सिन्दुर भर्न आँट गर्ने कुनै निश्वार्थी हातहरु पाईन्छ र ? फुटेको चुरासंगै चक्नाचुर भएको मेरो विगतलाई जोडेर एउटा सुन्दर आकार दिने स्वच्छ मनको धनी कोही भेटिन्छ र ? अनी विगतमा मैले गुमाएको मेरो चोखो मायालाई पुन: फर्काएर मेरो जीवनमा खुशीको रङ्ग भरिदिने कुनै दयालु मन पाईएला र ? लौ, भनेको जस्तो निस्वार्थी, स्वच्छ र निष्कपटी ब्यक्ती पनि पाइयो रे, अनी के यो पुरुष प्रधान समाजले मेरो दोश्रो जीवनलाई स्वीकार गर्ला र ?” म मेरा हितैषीहरुलाई प्रश्न गर्थें ।

आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु । विगतको पिँडालाई भुलाउने एउटा बहाना पाएकी छु । मेरो अतितलाई शहर्ष स्वीकार गरी मसंगै सुख र दु:ख बाँड्न तयार एउटा साथी पाएकी छु । म, जीवनको दु:खद अध्यायलाई बन्द गरेर खुशीको अध्याय शुरु गर्ने निर्णयमा पुगेको छु । त्यसो भन्दैमा मैले मेरो अतिलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन । अतितका मिठा पलहरुलाई मनको कुनामा पोको पारी भविष्यलाई सजाउने नविन यात्राको थालनी गर्ने यो निर्णय लिनु म एक्लैको लागि सहज र सम्भव छँदै थिएन । तर मेरा परिवारका सदस्यहरुको निरन्तर प्रयास अनी साथीसंगतीहरु, अग्रज र दिग्गज ब्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकहरुले प्रदान गर्नु भएको हौशला, शाहस र प्रोत्साहनले आज म यो निर्णय लिनमा सफल भएकी छु । यति हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवश्य छ “के यो पुरुष प्रधान समाजले मेरो यो निर्णयलाई स्वीकार गर्ला र ?”

मलाई थाहा छ ‘श्वेताको आँखामा आँशु मात्रै देखिनु पर्छ’ भन्ने सोच बोकेका दुईचार जना ब्यक्तिहरुलाई मेरो यो निर्णयले पोल्नेछ । श्रीमती स्वर्गीय भएको १ महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने तर घरकी बिधुवी बहिनीले पुरै जीवन एक्लै काट्नु पर्छ भन्ने सोचले ग्रस्त केही ब्यक्तिलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ । तर म प्रति साहनुभुती राख्ने, मलाई सदैव खुशी देख्न चाहने अनी संधै मेरो सफलताको कामना गर्ने लाखौं शुभचिन्तकहरुको आशिर्वाद, सदभाव र सुवेक्षाले म प्रति रिस र इर्ष्याको सोच राख्ने दुईचार जनाले स्वत: हार खानेछन् ।

अत: कोरोनाको सन्त्रासका बिच जुरेको खुशीको माहौलमा मैले मेरा धेरै मित्रहरु, गन्यमान्य ब्यक्तित्वहरु, संचारकर्मीज्युहरु लगायत मेरा आफन्तहरु समेतलाई सामेल गराउन असमर्थ हुनेछु । महामारीको यो माहौलमा सिमित ब्यक्तिहरुलाई साँक्षी राखी जीवनको नयाँ यात्रा सुरु गर्दै गर्दा तपाईंहरु सम्पूर्णले मलाई आशिर्वाद दिनुहुनेछ भन्ने आशा र विश्वास लिएकी छु ।

उही तपाईंकी छोरी/चेली
श्वेता खड्का

(अभिनेत्री खड्काकाे सामाजिक सञ्जालबाट । उनी मंसिर २२ गते बिवाह गर्दैछिन् ।)

One comment on "विवाहको पूर्व सन्ध्यामा अभिनेत्री श्वेता खड्काले लेखिन् भावुक स्टाटस"

  • Mandara Paudel says:

    बितेका कुराहरु बिर्सेर नयाँ जिवनको सुरुवात गर्न लाग्नुभएकोमा धेरै बधाई तथा शुभकामना छ श्वेता दिदी हजुरलाई ❤️
    दिदी हजुर एक साहसी कलाकार मात्रै नभएर साहसी नारी पनि हुनुहुन्छ। सन्सारको रित यस्तै रहेछ आखिर अगाडि पछाडी त हो तर ह्जुरको जिबनमा धेरै नै छिटो त्यो घटना घट्न पुग्यो र त्यो बेलादेखि आजसम्म अनेकौ पिडाहरु भोगेर ,अनेकौ आँसुहरु खसालेर पनि आज एक्लै जिउने कठोर निर्णय लिनु भनेको एक साहसी नारी हुनुहुन्छअथवा उहाँको सम्झनामा यो सुन्दर जिन्दगीलाई बिताउन खोज्नु धेरै गाह्रो कुरा हो जो भोग्नेलाई थाहा छ।यहाँ नकारात्मक सोच भएका मानिस धेरै छन् कसैले नकारात्मक कुरा गर्न सक्छन् चित नदुखाउनुस्। यहाँ आफु पनि केही गर्न नसक्नी अनि अरुले राम्रो गरेको ,धेरै प्रगति गरेको देखेर डाहा गर्नीले नै नराम्रो भनेर तल झार्न खोज्छन्। त्यस्ता मान्छेको कुरा नसुनी आफ्नो कामलाई अगाडि बढाउनुपर्छ। समाजको लागि जिउने होइन,आफ्नो लागि जिउनुपर्छ । आफ्नो जिन्दगीमा आई परेको समस्या पिडा कसैले बुझ्दैनन् ,यहाँ कोही आफ्नो हुदैनन् त्यसैले जिन्दगीमा आफ्नो दुःख पिडा बुझिदिने र अगाडि बढ्न पेरित गर्ने एउटा मान्छे चाहिन्छ। जुन हजुरले बुझेर एउटा राम्रो निणय लिनु भएकोमा हृदयदेखि शुभकामना । हिमतका साथ अगाडि बढनुस् ,सहि कुरामा लड्नुस् ,हजुरको जिबनको उत्तरोत्तर प्रगतीको कामना गर्दछु ।बैवाहिक जिवनको धेरै धेरै शुभकमना साथै आगामि दिनहरु अझ सु:खमय हुँदै जाअोस्।❤️❤️

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.