हुलाकी सडक: राजविराजकाे अतिक्रमित संरचनालाई डोजर लगाइ भत्काइँदै

  २०७७ मंसिर २१ गते १३:४६     विकासन्युज

राजविराज । हुलाकी सडक क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचनालाई धमाधम हटाउन र भत्काउन थालिएको छ । हुलाकी राजमार्ग योजना कार्यालय इटहरीले सडकको दायाँबायाँ १५/१५ मिटरभित्र बनाइएका राजविराज नगर क्षेत्रका भौतिक संरचनालाई डोजर लगाइ भत्काउन शनिबारदेखि शुरुआत गरेको हो ।

नगर क्षेत्रको राममन्दिर, हुलाक, जिल्ला प्रशासन, मालपोत र जिल्ला अदालतलगायतका कार्यालयको परिसर भत्काइएको छ । बहुप्रतिक्षित हुलाकी सडक निर्माणका क्रममा अतिक्रमित संरचना आफैँ हटाउन प्रशासन र स्थानीय तहलेसमेत सार्वजनिक सूचनामार्फत सहयोगका लागि सबैसँग अनुरोध गरेका छन् ।

कार्यालयका इञ्जिनीयर आशुतोष कर्णले राजमार्ग निर्माणका क्रममा सिरहा रोडमा केही समस्या देखिए पनि त्यसलाई स्थानीय जनप्रतिनिधि, प्रशासन र सम्बन्धित पक्षबीच छलफल गरेर सहमतिका माध्यमबाट निकास दिने काम भइरहेको जानकारी दिए ।

उनले राजमार्गअन्तर्गत हालसम्म १५ किमी सडकमा पहिलो तहको कालोपत्र गर्ने काम सम्पन्न भएको बताए । सप्तरीको कञ्चनपुरदेखि राजविराजसम्म र राजविराजदेखि बलान विहुलसम्मका दुईखण्डमा ४६ किमी सडकखण्डमा २२ वटा पुल निर्माण गर्नुपर्ने कार्यालयले जनाएको छ । ती मध्ये हालसम्म छ वटा मात्र सम्पन्न भएको छ । बाँकी निर्माणकै क्रममा रहेको कार्यालयले जनाएको छ । ती दुई खण्ड झण्डै दुई अर्बमा निर्माण हुनेछ ।

विसं २०७८ वैशाखसम्म सडकको सप्तरीखण्डको काम पुरा गरिसक्ने लक्ष्य रहेको छ ।

यस्तै सप्तरीको बोदेबर्साइन नगरपालिकाले पनि हुलाकी सडकको बिसनपुर–स्वर्णपट्टी सडकखण्डमा अतिक्रमण हटाउन शुरुआत गरेको छ । नगरपालिकाले नगर क्षेत्रको सडकअन्तर्गत बिसनपुर–स्वर्णपट्टी खण्डमा सडकका दायाँबायाँ अतिक्रमण हटाएको स्थानीय लोकेन्द्रप्रसाद यादवले जानकारी दिए ।

उनका अनुसरा नगरपालिकाले निर्माण सामग्री बालुवा, गिट्टी, छड, काठ, दाउरालगायत कठघरा (गुम्टी), खाद्यान्न, गुइँठा, ठूलो सवारी साधन, अस्थायी पसल हटाएको थियो । सडकमा ती सामग्री महिनौँ दिनसम्म राख्दा बाटो नै साँघुरो भई सवारी साधनलाई आवत जावत गर्न अवरोध गर्नुका साथै सडकलाई नै कुरुप बनाइएको थियो । नगरपालिकाले ती अतिक्रमण हटाउन पटकपटक सूचना जारी गर्दा पनि नगरवासीले अटेर गर्दै आएका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.