लगानीकर्ताको धैर्यताको बाँध टुटे कसले जिम्मा लिन्छ ? तारा फुल्लेलको विचार

  २०७७ मंसिर १९ गते १६:०७     विकासन्युज

लगानीकर्ताहरुले ब्रोकर कमिशन कम हुनुपर्छ भनेर पटक-पटक भन्दै आएका छौं । नेपाल धितोपत्र बोर्डलाई यस भन्दा अगाडि पनि लिखित तथा मौखिक रुपमा पनि ब्रोकर कमिशन घट्नु पर्छ भनेर अनुरोध गर्दै आएका छौं । धेरै पटक आग्रह तथा अनुरोध गर्दा गर्दै पनि अब हाम्रो धैर्यताको बाँध टुटिसकेको छ । सोही अनुरोध अनुरुप आज हामीले नेपाल धितोपत्र बोर्डमा दवाव स्वरुप कार्यक्रम गर्यौं ।

नेपालको पुँजी बजार संचालन गर्नको लागि आवश्यक पर्ने नीति नियम तर्जुमा गरी लगानीकर्ताहरुको हित र लगानीको संरक्षण गर्दै देशको आर्थिक विकासमा छरिएर रहेका पुँजीहरुलाई एकतृत गर्दै सो पूँजीलाई राष्ट्र निर्माणमा परिचालन गर्ने मुल उद्देश्यबाट नेपाल धितोपत्र बोर्ड स्थापना भएको व्यहोरा सबैलाई अवगत नै छ । यसले हामी लगानीकर्ताका पिर मर्का र समस्याहरु बुझ्न पनि आवश्यक छ ।

लगानीकर्ताहरुको हित संरक्षण र उनीहरुको लगानीको लागत कम गरी पुँजी बजारमा लागेको लगानीको सुनिश्चितता र प्रतिफलको सम्भावना देखाई दिनु पर्ने पनि बोर्डको कार्य क्षेत्र पर्छ । सोही उद्देश्य प्राप्तीका लागि हालै बोर्डले अन्तर्राष्ट्रिय लगानीकर्ता सप्ताह पनि मनाएको छ । लगानीकर्ताहरुले आफ्नो लगानीको लगानी लागत कम गरी बढी भन्दा बढी प्रतिफल चाहना राख्नु हाम्रो नैसर्गिक अधिकार हो र हरेक लगानीकर्ताहरुको मुख्य उद्देश्य पनि त्यही हो ।

देशको पुँजी बजारको विकास र विस्तारका लागि गरिएका विगतका विभिन्न आन्दोलनहरु मध्ये नेपाल सरकार र लगानीकर्ता संघ संगठनहरु बिच भएको ५८ बुँदे सम्झौतामा उल्लेख भएको दलाल कमिशन पुनरावलोकन गर्ने भन्ने बुँदा नम्बर ३४ को बुँदालाई कार्यान्वयनम ल्याउन नेपाल सरकार अर्थ मन्त्रालयबाट धितोपत्र बोेर्डमा प्रेशित भई सो बाेर्डबाट कमिशन पुनरावलोकनको लागि अध्ययन समिति समेत गठन भइ समितिबाट प्रतिवेदन समेत बोर्डमा पेश भइसकेको छ ।

ब्रोकर कमिशन सम्बन्धि एउटा अध्ययन समिति पनि गठन भएको छ । सो अध्ययन समितिले समेत प्रतिवेदन तयार गरेर धितोपत्र बोर्डका अध्यक्षकोमा पुगि सकेको धेरै महिना भइसक्यो । सो प्रतिवेदनको रिपोर्ट पनि आइसक्यो भन्ने हामीले सुनेका छौँ ।

त्यति हुँदा पनि आजसम्म त्यसको कुनै वास्ता छैन । हिजो दैनिक १०/२० करोडको कारोबार हुने ठाउँमा अहिले ९/१० अर्बको कारोबार हुने स्थिति आइसकेको छ । अझै पनि त्यही पूरानै कमिशन हुनु विडम्बना हो । यो अवस्थामा हामीलाई कुनै राहत महशुस भएको छैन ।

अहिलेको ०.६ प्रतिशत कमिशन धेरै हो । ०.४ देखि ०.६ प्रतिशत धेरै भयो । अब बजार सुहाउँदो बनाउन ०.२५ प्रतिशत बनाउन आवश्यक छ । यसमा नै लगानीकर्ताहरुको हित छ । ब्रोकर कमिशन घटाउँदा लगानीकर्ताहरुले राहत प्राप्त गर्न सक्छन् । यही लगानीकर्ताहरुलाई राहत दिलाउनु नै हाम्रो कार्यक्रमको मुख्य उद्देश्य हो ।

उक्त लगानीकर्तालाई राहत मिलाउने हिसाबले नै हामीले ज्ञापन पत्रपनि तयार पार्यौं । अहिले धितोपत्र बोर्डको अध्यक्ष विदेश जानु भएको बेला परेकाले बोर्डको कार्यकारी निर्देशकलाई ज्ञापन पत्र बुझाउने योजना हामीले बनायौं ।  लगानीकर्ताहरुले लिखित, मौखिक तथा नियमित भेटघाटमा दलाल कमिशन घटाएर लगानीकर्ताहरुको लागत कम गरी लगानीकर्ताहरुलाई पुँजी बजारमा लगानी गर्न प्रोत्साहन गर्ने उद्देश्य पूर्तिकाललागि कार्य गर्न अनुरोध गर्दै आएका छौं ।

लगानीकर्ताहरुले सेयर बजारमा लगानी गर्दा प्राप्त हुने प्रतिफलमा तेहोरो कर लाग्ने गरेको र सो सम्बन्धमा हामी लगानीकर्ताहरुको अनुरोधलाई मनन् गर्दै ५ प्रतिशत लाभकरलाई अन्तिम करको विषयमा स्वीकार गर्ने विषयलाई कार्यान्वयनमा ल्याउन, पुँजी बजारलाई पुनरुत्थान गर्न सेयर कर्जाको मार्जिन ७० प्रतिशत सम्म दिन पाउने व्यवस्था गर्न माग गरेका छौं ।

चर्को कमिशनले लगानीकर्ताहरुको नोक्सानी दिनानुदिन बढ्दै गएको अवस्थामा लगानीकर्ताहरुको लागानीको धैर्यताको बाँध टुट्न गई सो कार्यले निम्त्याउने अप्रिय परिणामको भागिदारी हामी लगानीकर्ताहरु हुन सक्दैनौं ।

आज बजारले नयाँ उचाई र विभिन्न रेकर्ड कायम गर्दै अगाडि बढ्दै गएको छ ।

ब्रोकर कमिशन ०.२५ प्रतिशत कायम गरी हामी लगानीकर्ताहरुको लगानीको लागत कम गराउदै नेपालको पूँजी बजारमा भित्रिने नयाँ युवा पुस्तालाई यस क्षेत्रमा आउन प्रेरित गर्दै, छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै सो पूँजीलाई राष्ट्र निर्माणमा आवश्यक पूँजीको जोहो गर्दै, पुँजी बजार चलायमान बनाउँदै, नेप्से धितोपत्र बोर्ड, सिडीएससी र ब्राकरको पनि आयमा गुणात्मक वृद्धि हुनेछ ।

राष्ट्रलाई पनि पूँजीगत लाभकर अझ बढी प्राप्त भई हामी लागानीकर्ताहरुले सरकारलाई कर तिरेर गौरवान्वित हुने वातावरणको सिर्जना गरिनु पर्छ ।

(सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष फुल्लेलसँग गरिएको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.