कोरोना बीमाले ल्याएको संकट र पशुपतिनाथको पुकार

  २०७७ मंसिर १७ गते १९:००     चेतनाथ

चीनको बुहानबाट शुरु भएको कोरोनाभाइरसले विश्वव्यापी आकार ग्रहण गरेपछि नेपालमा पनि त्यसको प्रभाव शुरु भयो । यो त्रासदीपूर्ण महामारीमा विश्वका धेरै देशहरुले लकडाउन, सटडाउन, पूर्वाधार विकास, जाँच र उपचार पद्धतिमा आफूलाई केन्द्रित गरे । नेपालमा पनि खासै संक्रमितहरु उल्लेख्य रुपमा नभेटिंदै लकडाउनको प्रकृया अपनाइयो र एकहदसम्म त्यसले रोग संप्रेषणलाई नियन्त्रण गर्न प्रभावकारी देखियो । जब संक्रमणले धपक्कै बलेको भारतीय भूमिबाट लाखौं नेपालीहरु भित्रिन थाले, त्यसपछि नेपालमा पनि कोरोनाले बिस्तारै आकार लिन थाल्यो ।

यहाँ उठान गर्न खोजिएको विषय अहिलेको जल्दोबल्दो कोरोना बीमाको हो । नेपालमा कोरोना संक्रमण फैलन थालेपछि सञ्चालनमा रहेको २० वटा निर्जीवन बीमा कम्पनीहरुले कोरोना बीमाबाट संक्रमण हुनेहरुका लागि एउटा बम्पर चिट्ठा खोले । कोरोना संक्रमण भएको प्रमाणपत्र ल्याउ, हातहातै १ लाख लैजाउ । यस्तो चिट्ठा किन्न मान्छेहरुको दौडधुप शुरु भयो । मान्छेहरुमा कोरोनाको डर कम र चिट्ठाको लोभले धेरैलाई गाँज्यो । पहिला बिभिन्न मान्छेहरुका नागरिकताका फोटोकपीहरु लिएर शेयर भर्ने शैलीमा आफ्ना शाखा सन्तान, साथीभाई, इष्टमित्र सबैका नाममा कोरोना बीमालेख लिनेहरुको लाइन हरेक कम्पनीहरुमा देखिन थाल्यो । बिजनेस खोज्न ग्राहकका अफिस कोठाहरुमा चाहार्नुपर्नेमा ग्राहक स्वयं आफ्नो आगनमा आउनु बीमा कम्पनीका प्रमुखहरुको लागि कम उपलव्धीमूलक थिएन । यस्तो बिजनेस सधैं गर्न पाए आफ्नो पर्फमेन्स देखाउन पाउने भए । पर्फमेन्स राम्रो भएपछि इन्सेन्टिभ पाउने देखि कार्यकाल थपिने सुनौलो अवसर पनि बीमा कम्पनीका कार्यकारी प्रमुखहरुका अगाडि देखियो ।

कम्पनी संचालन गर्ने कुनै पनि संस्थाको योग्य प्रमुखले सधैं भविश्यको आंकलन गरेर निर्णय गर्ने गर्दछ । त्यसमाथि बीमा कम्पनी भनेका जोखिमको बिजनेस हो । जोखिमको आंकलन गर्दा सबैभन्दा पहिला ग्राहकको जोखिमलाई होइन, कम्पनीको जोखिमलाई आंकलन गर्ने गरिन्छ । आफू जोखिममा रहेर गरिने निर्णयले अरु दोश्रो वा तेश्रो पक्षको जोखिम बहन गर्न सक्दैन । जोखिमको आर्थिक पक्ष मात्र होइन, यसको सामाजिक जोखिम र विश्वासको जोखिम पनि उत्तिकै विचार गर्नुपर्ने हुन्छ । तर नेपालका बीमा कम्पनीका प्रमुखहरुले कोरोना बीमा गर्दा कुनै पनि जोखिमको रत्तिभर विश्लेषण गरेनन् । किन गरेनन् भन्ने पक्षको अनुमान गर्दा कि त उनीहरु कम्पनी र यो बीमा क्षेत्रप्रति व्यवसायिक र इमान्दार छैनन वा उनीहरु जोखिमको बिश्लेषण गर्ने क्षमता नै राख्दैनन् भन्ने हुन्छ । कि नियामकले जे भने पनि सहि वा गलत नभनी बीमा कम्पनीहरु एसम्यानको भूमिकामा छन् भन्ने हुन्छ ।

सबैलाई थाहा छ, विश्वभर कहिं पनि महामारीको बीमा गरिदैन । बीमा गरिएका पोलिसीहरुमा पनि महामारीलाई अपवादमा राखेर त्यसको बीमा दावी भुक्तानी नगर्ने शर्त राखिएको हुन्छ । अर्को पक्ष, यस्ता महामारीहरुको रिइन्सुरेन्स व्याकअप हुदैन, जुन नेपालमा लागु गरिएको कोरोना बीमामा समेत छैन । यो विषयमा इन्सुरेन्स कम्पनीका प्रमुखहरु मात्र होइन, सामान्य चिठीपत्र बोकर हिड्ने इन्सुरेन्सका पियनहरु समेत अनविज्ञ छैनन् । यति सामान्य चेतनाको सामान्य आंकलन गर्न वा उपयोग गर्न नसक्ने बीमाबिज्ञहरुको नियतको कारणबाट आज पूरै बीमा क्षेत्र संकटमा छ ।

संकट पनि एउटा होइन, बहुसंकट आइपरेको छ । पहिलो, बीमा कम्पनीले बुझेको प्रिमियमभन्दा कैयौं गुणा बढि दावी परिसकेको छ र पर्ने क्रम जारी छ । यसले बीमा कम्पनीहरुको दायित्व अनुमान नै गर्न नसकिने तरिकाले बढेको छ । दोश्रो, दावी भुक्तानी ढिलो भएको छ । यसले बीमा कम्पनीहरु पैसा लिन्छन्, क्लेम तिर्दैनन् भन्ने विश्वासको संकट यसअघि जुन व्याप्त थियो, अहिले प्रमाणित नै हुन थालेको छ । तेश्रो, अत्याधिक बीमाको बाढीले क्यापिटल वा इक्विटी लस हुने अबस्था आउने सम्भावना उत्तिकै छ र यो नयाँ बीमा कम्पनीहरुको लागि झन् भयावह हुने देखिन्छ ।

बीमा भुक्तानीमा एउटा मापदण्ड बनाइएको दावी कम्पनीहरुले गरेका छन् । पहिलो १ अर्बको दायित्व बीमा कम्पनीको, त्यसपछिको १ अर्बको दायित्व पुनर्बीमा कम्पनीको, त्यसपछिको ५० करोड बीमा कम्पनीहरुकै महाविपत्ति कोषको, त्यसपछिको १ अर्ब बीमा समितिको, त्यसपछिको बाँकी सबै नेपाल सरकारको रहेको भनाई छ ।
माथिको भनाईलाई आधार मान्दा हालसम्म करिब ५० करोड दावी भुक्तानी गरिएको छ । तिर्न बाँकी करिब ३ अर्ब पुगेको छ । उल्लेखित हिसावमा कम्पनीहरुको दायित्व, पुनर्बीमा कम्पनीको दायित्व, महाबिपत्ति कोषको दायित्व र बीमा समितिको दायित्व भित्रको दावी लगभग आइसकेको छ । अब आउन बाँकी दायित्वको अबस्था के होला ? बीमाको प्रिमियम समेत नतिरी बसेको नेपाल सरकारले बाँकी दायित्व बहन गर्ला ? यो नै सबैको चासोको बिषय हो । यस विषयमा सरकारी अधिकारीहरुको धारणा पनि बाँझिएका छन् । अर्थसचिवले बीमा व्यवसायमा हुने नाफा नोक्सानको दायित्व बीमा कम्पनीहरुकै हुने बताएका छन् । भलै कोरोना बीमा सम्बन्धि निर्देशिकामा ३ अर्ब ५० करोड भन्दा बढीको दावी नेपाल सरकारले बोहोर्ने उल्लेख गरिएको छ ।

अहिले कोरोना संक्रमणको दर उच्च रहेको, नेपालमा मृत्युदर बढिरहेको र विश्वमा कोरोनाको दोश्रो लहर चलिरहेको अबस्थामा नेपाल सरकारले बीमाको दायित्व व्यहोर्ने विषयमा विश्वस्त हुन कठिन छ । शुरुमा कोरोना जाँच र उपचारको सबै दाहित्व नेपाल सरकारले लिने बताएको थियो । तर बीचमा सरकार आफ्नै निर्णयबाट पछि हट्यो सर्वोच्च अदालतको परमादेश दुई पटक आएपछि सरकारी अस्पतालहरुले कनिकुथी कोभिड विरामीको उपचार गर्न थालेका छन् ।

तर विरामी हुँदा उपचारको योजना बनाउने र केही खर्च गर्न सक्ने वर्ग सरकारी सेवाप्रति विरक्त भएर निजी अस्पतालमा उपचार गराईरहेका छन् । मौकाको फाइदा लिदै निजी अस्पताल तथा ल्यावहरु कोभिड टेष्टको व्यापारमा लाभ लिन जुर्मुराएका छन् । कोरोना पोजेटिभ देखाइदिनेहरुको धन्धा पनि उत्तिकै चलेको छ । जनताको स्वास्थ्यलाई केन्द्रमा राखेर अस्पतालहरु निर्माण गर्ने, उपकरणहरु खरिद गर्ने र स्वास्थ्य सेवालाई सामान्य जनताको पहुंचमा पु¥याएर उनीहरुको जीउज्यानको रक्षा गर्नु सरकारको दायित्व हो । सरकारको काम र यसको बजेट भनेको कुनै चिट्ठा परेका मान्छेलाई पुरस्कार दिने होइन । केवल पोजेटिभ रिपोर्ट आएर, घरमा मासुभात खाएर बसेकालाई चिट्ठाको रकम बाड्न न त सरकारसंग पर्याप्त बजेट छ, न उसको काम हो । बरु संक्रमित व्यक्तिको उपचार गर्नु उसको दायित्व हो, न कि पोजेटिभ देखिएकाहरुलाई पैसा बांड्दै हिड्नु ।

अब प्रश्न उठ्छ, सरकारले नतिरे कसले तिर्छ ? कुनै कम्पनीले आफ्नो नाममा जारी गरेको बीमालेख अकाट्य करार हो । बीमाका पक्षहरुले गरेको करारको लागि बीमा कम्पनी जवाफदेहि हुन्छ । जस्तो कुनै कम्पनीले आफ्नो नाममा प्रिमियम बुझेको रसिद काटेर, बीमालेखमा रु. १ लाख भुक्तानी दिन्छु भनेर कबुल गरेर, लेखेर, उसको पदाधिकारीले हस्ताक्षर गरेर, कम्पनीको छाप लगाएर बीमितलाई दिएको बीमालेखको दावी भुक्तानीको दायित्व कसको हुन्छ ? यो कुरा बुझ्न कुनै इन्सुरेन्स कम्पनीको सिईओ भइरहनु पर्दैन । भोली पीडित पक्ष अदालतमा गयो भने के हुन्छ र अदालतले बीमालेख हेरेर शुरुमै के निर्णय गर्छ ? यो जान्नको लागि कोही पनि वकिल हुनु पर्दैन । यसरी आफूले बीमालेख जारी गर्ने, प्रिमियम बुझेर दायित्व स्वीकार गर्ने अनि यो दायित्व मेरो होइन, सरकारको हो भनेर बीमा कम्पनीहरुलाई पञ्छिन कठिन छ ।
यस्तो अवस्थामा के कम्पनीहरुको मौजुदा व्यवसाय वा कोष वा पुँजीले धान्न सक्छ ? यो अबस्था आयो भने यसको जिम्मेवार को हुने ? नेपाल सरकार, बीमा समिति वा कम्पनीका सिईओेहरु ? भोली लगानीकर्ताको लगानीको जवाफदेहिता कसले बहन गर्ने र सिंगो बीमाको भविश्य के हुने भन्ने प्रश्न अनुत्तरित भएपनि यसको नियति अत्यन्तै दर्दनाक हुने निश्चित छ । त्यस्तो अबस्थामा नेपालका बीमा कम्पनीहरु आफैले जारी गरेको बीमा लेखबाट सृजना भएको दायित्वको भुक्तानी गर्न नसकेर भाग्दै हिड्नु पर्ने अबस्था पो आउला कि ?

यो अबस्था आउन नदिनको लागि भगवान पशुपतिनाथसंग कामना गरौं, कोरोना बीमा गरेकाहरुको रिपोर्ट अब सधैं नेगेटिभ आओस् र कम्पनीका प्रमुखहरुको यो कर्मको फल समग्र बीमा क्षेत्रले व्यहोर्नु नपरोस् । श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन् ।

कोरोना चिट्ठा किनौं, १ लाख पुरस्कार जिताैं

2 comments on "कोरोना बीमाले ल्याएको संकट र पशुपतिनाथको पुकार"

  • शिशिर जि says:

    कुर सहि छ ।

  • Kalavati Paudel says:

    शतप्रतिशत सहि कुरा । कम्पनीको भविश्यमाथि खेलवाड गर्नेहरूलाइ कारवाही गर्नुपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.