घर लगायत भौतिक संरचना निर्माण गर्नेलाई धक्का, एक ट्रली गिट्टीकाे मूल्य ३० हजार, कुन सामग्रीकाे मूल्य कति ?

  २०७७ मंसिर १७ गते १३:५७     सन्ताेष राेकाया

काठमाडाैं । भौतिक संरचना निर्माणको सिजन सुरु भएसँगै बजारमा निर्माण सामाग्रीको मूल्य अप्रत्यासित रुपमा वृद्धि भएको छ । कोरोेना भाइरसले उत्पन्न लकडाउनको समयमा सस्तो भएको निर्माण सामग्रीको मूल्य फेरि महँगिएको हो ।

निर्माणमा चाहिँने सामान फलामजन्य डण्डी, पाता, पत्ती, जीआई तार, ग्याव्लिन तार र नदीजन्य निर्माण सामग्री ढुंगा, बालुवा गिट्टको मूल्य अप्रत्यासित रुपमा बढाइएको हो । अहिले महामारी कायमै रहेको समयमा पनि व्यवसायीले सिजनको गलत फाइदा उठाउँदै निर्माण सामाग्रीमा अप्रत्यासित वृद्धि गरेका हुन् ।

केही महिना अगाडिको मूल्य र हालको मूल्यमा डण्डी प्रतिकेजीमा र १५ देखि देखि २० रुपैयासम्म मूल्यवृद्धि भएको र ढुंगा, गिट्टी, बालुवाको स्रोतदरको मूल्यमा दोब्बर मूल्यवृद्धि भएको छ । वालुवा, सिमेन्ट र छडको मूल्य बढेसँगै व्यक्तिगत र सार्वजनिक संरचना निर्माणको लागत बढ्ने भएको छ ।

कात्तिकसम्ममा क्रसर उद्योगमै प्रतिटिप २५ सयदेखि ३ हजारमा पाउने बालुवा अहिले ८ हजारसम्म पुगेको छ भने केही महिना अगाडि प्रतिकेजी २० सस्तोमा पाइने डण्डीको मूल्य अहिले २० देखि २५ रुपैयाँ महँग्गो भएको छ ।

जीआई तारको मूल्य पनि अत्याधिक रूपमा बढेको छ । असोजमा ग्याबिन तारको मूल्य १ सय ८५ रुपैयाँ थियो । अहिले त्यसको मूल्य २ सय २५, २ सय ३० रुपैयाँ पुगेको छ । अहिले ढुंगा, गिट्टी, बालुवाको स्रोतदरको मूल्यमा दोब्बर मूल्यवृद्धि भएको बताइएको छ ।

विगतको दिनमा २५ सयमा क्रसरमा प्रतिटिप दिइए पनि काठमाडौंमा आइपुग्दा २२ हजारसम्ममा मूल्य पथ्र्यो, तर अहिले उक्त मूल्य बढेर ३० हजार पुगेको छ । निर्माण सामगीको मूल्यमा अप्रत्यासित वृद्धि भएपछि निर्माण व्यवसायीहरुले पनि आपत्ति जनाएका छन् । निर्माण व्यवसायी महासंघले त विज्ञप्ती नै जारी गरेर आपत्ति जनाइसकेको छ ।

निर्माण सामाग्री उत्पादक तथा बिक्रेताहरुले कार्टेलिङ गरेर अप्रत्यासित मूल्यवृद्धि गरेको महासंघको दाबी छ । फलामजन्य निर्माण सामाग्री उत्पादक कम्पनीहरुले अन्तर्राष्ट्रिय मुद्रा डलरको दरमा र फलाम ब्लेडको मूल्य थोरै मात्रामा बढेको अवस्थामा पनि अनुपातभन्दा अत्यधिक रूपले मिलोमतोमा मूल्यवृद्धि गरेको आरोप महासंघको छ ।

अहिलेको मुल्यवृद्धि कुनै पनि दृष्टिकोणबाट व्यवहारिक तथा वैज्ञानिक नदेखिएको महासंघको दाबी छ । नदीजन्य सामग्रीमा ढुंगा, गिट्टी, बालुवाको उत्खनन तथा बिक्री वितरण भएसँगै बजारमा कालोबजारी शुरू भएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह बताउँछन् । उनका अनुसार बजारमा नदीजन्य सामग्रीको चरम अभाव भई परियोजना नै ठप्प हुन सक्ने अवस्था देखिएको बताए ।

कोरोनाका कारण सृजित चौतर्फी समस्याले गर्दा एकातिर काम गर्न समस्या भइरहेको समयामा मुल्यवृद्धि गरी कालोबजारी हुँदा झन समस्यामा परेको उनले बताए ।

कोरोनाका कारण रोकिएका निर्माणका कामहरू विस्तारै शुरू हुँदै जाँदा फलामजन्य निर्माण सामग्रीहरूको मूल्यमा अचाक्ली वृद्धि भएको हो । बजारमा निर्माण सामग्रीहरूको माग शुरू हुने बित्तिकै कम्पनीहरूले त्यसको मूल्य बढाउने गरेको व्यवसायीहरूको गुनासो छ ।
निर्माण सामग्रीको मूल्य बढेपछि यो सिजनमा घर तथा अन्य भौतिक संरचना निर्माण गर्नेलाई धक्का पुगेको छ । यसले निर्माण लागत बढ्ने स्वभाविक देखिन्छ ।

कोरोनाका कारण दशैं तिहारसम्म निर्माणका कामहरू ठप्प प्रायः नै रहेको थियो । चाडबाड सकिएसँगै निर्माणका कामहरूले गति लिन थालेका छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेसँगै नेपाली बजारमा त्यसको असर देखिने गर्छ । यद्यपि अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिले नेपालमा आएर असर पार्नका लागि कम्तिमा २ महिना लाग्ने सिँहको भनाइ छ ।

बजारमा निर्माण सामग्रीको मूल्यवृद्धि भएको गुनासो आएसँगै उद्योग मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुसन्धान सुरु गरेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.