५० अर्बको निक्षेप संकलन उपकरण जारी गर्दै राष्ट्र बैंक, बोलकबोलमा कुन कुन संस्था सहभागी हुन पाउछन् ?

  २०७७ मंसिर १६ गते २०:१९     विकासन्युज

काठमाडाैं । केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकले ५० अर्ब रूपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएकाे छ । बैंकले मंसिर १७ गते बुधबारदेखि २८ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्कासन गर्न लागेकाे हाे ।

बैंकका अनुसार निक्षेप संकलन उपकरणकाे बाेलकबाेल मंसिर १७ गते अपरान्ह २ बजेसम्म अनलाइन बिडिङ्ग सिष्टम सफ्टवेयर मार्फत मात्र हुने छ ।  यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने छ ।

त्यस्तै, निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने छ । बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिनेछ । यो निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने बैंकले जनाएकाे छ ।

निक्षेप संकलनको बोलकबोलमा निक्षेप वापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ ।  निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ ।

त्यस्तै, समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा प्राे राटा बेसिसमा बाँडफाँड गरिनेछ । खुला बजार कारोबार संचालन समितिले कटअफ रेट निर्धारण गर्न सक्नेछ । आव्हान गरिएको रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहनेछ ।

राष्ट्र बैंकका अनुसार सफल बोलवालाहरुको स्वीकृत रकम निष्काशन मितिका दिन यस बैंकमा रहेको खाता खर्च गरी निक्षेप संकलनको लागि खोलिएको अलग्गै खातामा जम्मा गरिनेछ । तसर्थ, बोलवाला बैंक तथा वित्तीय संस्थाले आफ्नो खातामा पर्याप्त मौज्दात कायम गर्नु पर्नेछ । बोल स्वीकृत भएका बोलवालाको खातामा सो उपकरण निष्काशन गरिने दिनमा मौज्दात रकम पर्याप्त नभएमा त्यस्ता बोलवालाको अर्नेष्ट मनि बापतको रकम जफत गरी निजलाई कालोसूचीमा राखी पछिल्ला बोलकबोलमा सहभागी हुन बन्देज लगाइने छ ।

निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याज सहित संकलित निक्षेप रकम सम्बन्धित बैंकको यस बैंक स्थित खातामा जम्मा गरिनेछ । निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी पाेर्टफाेलियाे हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दात(सीआरआर) मा गणना गर्न पाइनेछैन । तर, यस बैंकको निर्देशन बमोजिम कायम राख्नुपर्ने एएलआर तथा लिक्वीडिटी रेसियाेमा गणना गर्न पाइनेछ ।

संकलित निक्षेप रकम भुक्तानी मिति अगावैसम्बन्धित बोलवालालाई फिर्ता भुक्तानी वा प्री-म्याच्याेर भुक्तानी नहुने बैंकले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.