नेकपा सचिवालय भोली दिउँसो १ बजे बस्ने

  २०७७ मंसिर १६ गते १७:०२     विकासन्युज

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्षद्वयको प्रतिवेदनमाथि औपचारिक छलफल सुरु भएको छ । मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कात्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेका राजनीतिक प्रतिवेदनमाथि औपचारिक छलफल सुरु भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठकमा अध्यक्षले आ-आफ्नो धारणा राखेपछि औपचारिक छलफल सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठक भोली दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठक बस्नुअघि नेताहरुबीच अनौपचारिक छलफल पनि हुने उनले बताए ।

सचिवालय बैठकमा अध्यक्षको प्रतिवेदनसँगै पार्टीभित्र देखिएको संकटको जड र समाधानका विषयमा पनि छलफल हुने प्रवक्ता श्रेष्ठको भनाई छ । ‘अध्यक्षद्वयले प्रस्तुत गर्नुभएको प्रस्ताव, पार्टीमा संकट आउनुको कारण, त्यसको समाधानका र निकासका बारेमा केन्द्रित भएर छलफल गर्ने काम बाँकी छ ।’, उनले भने ।

उनले स्थायी कमिटी बैठक पूर्वनिर्धारित समयमै हुने पनि बताए । यसअघि नै मंसिर १८ गतेका लागि बैठकको मिति निर्धारण भएकाले पूर्वनिर्धारित मितिमै बैठक बस्ने उनले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.