चाडपर्व सकिएसँगै ऋणीको ध्यान बैंकमा, एक महिनामै ४६ अर्ब कर्जा प्रवाह, बैंकको सर्भिस भने सुस्त

  २०७७ मंसिर १६ गते १४:५०     विकासन्युज

काठमाडौं । नेपालीहरुको महान पर्वहरु दशैं तिहार सकिएसँगै बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको माग पनि बढ्न थालेको छ । कोरोना भाइरसको महामारीले बढ्दै गएको तरलताले समस्यामा परेका बैंकहरुबाट पछिल्लो समय कर्जा माग सन्तुलित रुपमा भइरहेको हो ।

आफ्ना आवश्यकताहरु पूरा गर्नको लागि मानिसहरु ऋण लिन पछिल्लो समय बैंक तथा वित्तीय संस्था धाइरहेका छन् । कोरोना भाइरसको महामारी कायमै रहेको बेला मानिसहरुले ऋण लिनैको लागि बैंक धाउन पर्ने अवस्था आएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकहरुको लागि भनेर विभिन्न स्कीम, याेजना तथा सेवा सुविधाहरु ल्याएको प्रचारप्रसार गरेपनि वास्तवमा व्यवहारमा भने उतार्न सकेका छैनन् । अझै पनि बैंक वित्तीय संस्थाहरुले दिँदै आएको सेवाहरु उपभोग गर्न सेवाग्राहीलाई सास्ती नै छ ।

पछिल्लो समय धेरै वाणिज्य बैंकहरुले सर्भिस कटौती पनि गरेका छन् । ती बैंक तथा वित्तीय संस्थाहरुले कोरोना महामारी देखाउँदै सर्भिस कटौती गरिरहेका हुन् । जसको प्रत्यक्ष असर सेवाग्रीलाई परिरहेको छ ।

कोरोना महामारी भन्दै सेवाग्राहीले पाउने सेवालाई टाइमिङ अनुसार सेवा दिँदै आएका कतिपय बैंक तथा वित्तीय संस्थाहरुमा यसले झन बढी जोखिम बढाएको अवस्था छ । अहिले धेरै बैंक तथा वित्तीय संस्थाहरुले रकम जम्मा गर्ने, रकम निकाल्ने, ऋण लिने, स्टेटमेण्ट लिने लगायतका सेवाहरु टाइमिङ अनुसार  मिलाएका छन् ।

जसले झन ग्राहकको भिड बढाउने र कोरोनाको जोखिम झन् बढ्ने खतरा छ । बैंक तथा वित्तीय संस्थाहरुले प्रचारमा विभिन्न स्कीम तथा योजनाहरु भनेपनि व्यवहारिक रुपमा भने लागु गर्न सकेका छैनन् ।

पछिल्लो समय वाणिज्य बैंकहरुमा निक्षेपको तुलनामा कर्जा प्रवाह पनि बढेको छ । संचालनमा रहेका २७ वाणिज्य बैंकले १ महिनामा ४६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने एक महिनाको समयावधिमा ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

नेपाल बैंकर्स संघका अनुसार मंसिर १२ गतेसम्म ३० खर्ब ६६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने ३६ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

कात्तिक दोस्रो सातासम्म वाणिज्य बैंकहरुले ३६ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । जुन मंसिरको दोस्रो साता ४२ अर्ब रुपैयाँले बढेर ३६ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको हो ।

कात्तिक दोस्रो सातामा ३० खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो । मंसिरको दोस्रो साता ४६ अर्ब रुपैयाँले बढेर ३० खर्ब ६६ अर्ब रुपैयाँ पुगेको हो ।

कोरोना भाइरसको प्रभावले लामो समयसम्म सुस्ताएको कर्जा माग पछिल्लो समय अर्थतन्त्र चलायमान हुँदै जाँदा बढ्न थालेको हो । तर, अझै पनि बैंक तथा वित्तीय संस्थामा तरलता अधिक नै भएको भन्दै निक्षेपको व्याजदर कटौती गर्दै आएका छन् । जसको प्रत्यक्ष मारमा निक्षेपकर्ता पर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.