बैंक वित्तीय संस्थाले ह्वात्तै घटाए व्याजदर, फेरि पेलिए निक्षेपकर्ता

  २०७७ मंसिर १६ गते १२:२८     सन्ताेष राेकाया

काठमाडौं । आजभन्दा ५ वर्ष अगाडि अर्थात २०७२ सालको विनाशकारी भूकम्पको समयमा बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा साढे ३ प्रतिशत व्याज दिन्थे । भूकम्प लगत्तै भारतीय नाकाबन्दीमा पनि त्यो दर कायम नै रह्यो । त्यतिखेर बैंक तथा बित्तीय संस्थाहरुले निक्षेपकर्तालाई निक्षेपमा ३.२७ प्रतिशत व्याज दिँदै आएका थिए ।

बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपकर्तालाई कम व्याज दिँदै गएपछि निक्षेपकर्ताको मुड परिवर्तन भयो । अर्थात उनीहरुले बैंकमा डिपोजिट गर्नुको विकल्प रोज्न थाले । बैंक वित्तीय संस्थामा निक्षेपकम हुन थालेपछि बैंकमा पुँजीको चरम अभाव तथा तरलताको अभाव देखियो ।

त्यसपछि बैंक तथा वित्तीय संस्थाको पनि मुड चेञ्ज भयो र उनीहरुले निक्षेपकर्तालाई पेल्नु आफैले पेलिनु हो भन्ने संकेत पाए । त्यसपछि निक्षेपको व्याजदर पनि धमाधम बढाउन थाले । त्यतिखेर बैंक तथा वित्तीय संस्थाहरुले बचतको व्याजदर करिब ७ प्रतिशतसम्म समेत पुगाए ।

त्यसयता कहिले ब्याजदर घट्ने र कहिले घट्ने क्रम जारी नै रह्यो तर केही निश्चित मात्रै । अहिले कोरोना भाइरसको महामारीमा पनि बैंक वित्तीय संस्थाको प्रवृृति त्यही ५ वर्ष अगाडिको जस्तै देखिएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको व्याजदर धमाधम घटाउन थालेका छन् ।

कोरोना भाइरसको महामारी आएपछि मात्रै बैंक तथा वित्तीय संस्थाहरुले डेढ प्रतिशतले निक्षेपको व्याजदर घटाइसकेका छन् । जसको प्रत्यक्ष असर निक्षेपकर्तालाई पर्दै गएको छ । डिपोजिट गरेको पैसाबाट आउने व्याजदरले खर्च चलाइरहेका निक्षेपकर्तालाई बैंकको व्याज घटाउने रणनीतिले निकै असर गरेको छ ।

पछिल्लो आठ महिनाको अन्तरालमा बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर डेढ प्रतिशतले घटाएका हुन् । फागुन चैतसम्म ६.७७ प्रतिशत निक्षेपको व्याज दिइरहेका थिए । केही महिना अगाडि साधारण बचतमा ४.७८ प्रतिशतसम्म दिइरहेकामा अहिले ३.३२ प्रतिशतमा सीमित गरेका हुन् ।

अहिले बैंकहरुले साधारण बचतमा १ दशमलव ४६ प्रतिशतसम्म र मुद्दती बचतमा १ दशमलव २८ प्रतिशतसम्म ब्याजदर घटाएका हुन् । मुद्दती खातामा भने ९ दशमलव ७४ प्रतिशतसम्म प्रस्ताव गरिरहेकामा ८ दशमलव ४६ प्रतिशतसम्म दिन थालेका हुन् ।

कात्तिकमा बैंकहरूले मुद्दती निक्षेपमा औसत ८ दशमलव १५ प्रतिशत ब्याजदर प्रस्ताव गरेकामा मंसिरमा ८ दशमलव २४ सम्म गरेका हुन् । बैंकहरूले कर्जाको व्याजदर समेत यो अवधिमा करिब २ प्रतिशतले घटाएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

विश्व महामारीका पमा फैलिएको कोरोना भाइरसको कारण बैंकहरुसँग ऋणको माग त्यति धेरै भएन । यसले गर्दा बैंकिङ क्षेत्रमा २०० अर्ब हाराहारी तरलता थुप्रिएको छ । तरलता बढ्दा बैंकहरुको व्याज खर्च बढ्छ । त्यसैले पनि उनीहरुले निक्षेपकर्तलाई निरुत्साहित गरेको प्रष्ट बुझिन्छ ।

राष्ट्र बैंकले निक्षेपकर्ताले विगतमा धेरै नै मोलमोलाइ गरे भनेर कल डिपोजिटको व्याजदर नै तोकिदिएको छ । बचतको न्यूनतम सीमाको ५० प्रतिशत मात्र व्याज दिन पाइन्छ । बचतको न्यूनतम ब्याज डेढ प्रतिशतमा आइसकेकाले पनि अब यस हिसाबले कल डिपोजिटको ब्याज ०.७५ प्रतिशत मात्र हुन्छ । मुद्दती निक्षेपमा बैंकले चासै देखाएका छैनन । बैंकहरुको यो प्रवृतिले अझै भूकमप र नाकाबन्दीको समय नआउला भन्न सकिन्न ।

नेपाल बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माले अनुसार पछिल्लो समय कष्ट अफ घटेको र त्यसले गर्दा आधारदर घट्ने भएकोले सोही आधारमा व्याजदर पनि घटिरहेको बताए ।

‘अहिले निक्षेप मात्र होइन कर्जाको ब्याज पनि घटिरहेको छ, मार्केटमा तरलता पनि बढी छ, लगानी गर्ने पनि ठाउँ छैन, त्यस कारण निक्षेपको ब्याज घट्दै गएको हो, भोलि वातावरण सहज भएर कर्जाको माग बढ्दै गएपछि व्याजदर बढ्छ, यो स्वभाविक हो,’ उनले भने ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले आफुहरुलाई बैंक बित्तीय संस्थाहरुले बचत तथा संस्थात गत निक्षेपमा ब्याज घटाएको थाहाको बताए । आफुहरुलाई त्यसबारे थाहा भएपनि राष्ट्र बैंकले निर्देशन नै दिन्न भने नमिल्लने उनको भनाई छ ।

‘बैंक तथा वित्तीय संस्थाहरुले खेलाउने भनेको डिपोजिटरको नै पैसा हो, उनीहरुलाई निरुत्साहित हुने काम बैंकहरुले गर्नु हुँदैन, त्यसबारे हामी पनि चिन्तित छौं,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.