मुखको साटो हात चलाऔं, दिमागभन्दा बढी दिल

  २०७७ मंसिर १६ गते ८:३३     सञ्जीव पौडेल

कति दिन गाली गर्नु ? कसलाई कसलाई मात्र गाली गरिरहनु ? एकथरि यति मूर्ख छन् कि उस्तै कमजोरी पटकपटक दोहो¥याउँछन् र कमजोरीका खात लगाउँदै जान्छन् । अर्काथरि छन् जो उनीहरूका कमजोरीका खात खोतल्छन् र एक एक पत्र पल्टाउँदै जान्छन् । उछितो काढ्दै जान्छन् । सार्वजनिक सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालका निजी भित्ताहरूमा विष वमन गरिरहन्छन् । एकोहोरो धारे हात लगाइरहन्छन् ।

एकथरि गल्ती दोहो¥याउन अभ्यस्त, अर्कोथरि गाली बर्षाउन । एउटा झुण्ड हिजोका वाचा भुल्नमा काबिल अर्को झुण्ड धोकाका शृङ्खला सम्झँदै त्यसको पर्दाफास गर्नमा ।
राजनीतिक एवम् सामाजिक जीवनका सिद्धान्तहरू पल्टाउँदा पूर्वीयदेखि पाश्चात्य महान् विद्वान् एवम् दार्शनिकका खारिएका सिद्धान्त र दर्शन एउटै देशमा एकै शताब्दीभित्र सम्पूर्णका सम्पूर्ण असफल तुल्याइदिन सक्ने कस्तो राजनीतिक पुस्ता जन्मियो नेपालमा ? के नेपाली जनतालाई प्रजातन्त्रको बाटो हिँडाउन २००७ सालदेखि आजसम्म अनेक किसिमका आन्दोलनहरू गर्ने नेतृत्वको सत्तरी वर्षको राजनीतिक इतिहास विश्वका दर्शनलाई माझीऔँला देखाउनका लागि गरिएको कसरत मात्र थियो ? राणा शासनदेखि राजतन्त्रविरुद्ध चालेका एकसेएक साहसिक कदम के बच्चाका खेल थिए ? हजारौँको बलिदानी के दिवास्वप्न मात्रै थियो त ? यस्ता अनुत्तरित प्रश्न थुप्रै छन् ।

प्रश्न राजनीति गर्नेहरूतिर मात्रै तेर्स्याएर हुँदैन । प्रत्येक आन्दोलनमा ज्यानको बाजी थापेर नेतृत्वलाई कदमकदममा दह्रो साथ दिने परिवर्तनका खम्बारूपी जनताहरूतिर पनि उत्तिकै तेर्स्याउन जरुरी छ । के यतिका सिद्धान्त असफल पार्ने दुस्साहसमा जनताको त्यो जमात जिम्मेवार छैन ? के जनता भनेको आफूले लगाएको फाटेको चप्पल चुँडिँदा पनि नेतालाई सुकिलो बनाइराख्न काँध खियाउने दस्ता मात्रै हो ? हिमाली काखमा हुर्केको शीतल छातीमा तातो गोली थाप्ने साहसी योद्धा मात्रै हो ? या हर दशकमा प्रजातन्त्र नामको सुनचरी पाउने चाहनामा रगतको नहर बगाएर नेपाली माटो सिँचाई गरिरहने रक्तकुण्ड हो ? कि निश्चित सङ्ख्याका नेताहरूको सुखका लागि आफ्ना निधारबाट सधैँ सधैँ पसिनाका रुप्से छहरा झारिरहने रसिलो पहाड ? कुन रूपमा व्याख्या गर्दा नेपाली जनतामाथि खासमा न्याय हुन्छ ? जनताले बाँचेको यो पौने शताब्दीको सही व्याख्या कुनचाहिँ उदाहरण वा बिम्बले गर्न सकिन्छ ? यो बहस एकपटक थाल्न जरुरी छ । एकपटक थाल्ने र पटकपटक विमर्श गर्ने गरी यो बहसको जबरदस्त थालनी हुनु आवश्यक छ ।

सुन्दै आएकै हो, पढ्दै आएकै हो, “इतिहासमा जनताले कहिल्यै हारेको छैन ।” के नेपालमा प्रजातन्त्र प्राप्तिको लडाइँको यो सत्तरी वर्षमा जनताले जितेको कुनै मोड छ ? जनताको खल्तीले कहिल्यै न्यानो महसुस गरेको छ ? जनताको तिर्खाएको घाँटीले कहिल्यै चिसो पानी पाएको छ ? लर्खराएका जनताका गोडाले कहिल्यै प्रजातन्त्र नामको अमूर्त वस्तुलाई मूर्त रूपमा वैशाखीका रूपमा प्राप्त गरे ? उखुबारीमा तातो रगत बगाएर चिसो मुर्दा लडेका नानीहरूको आत्माले कहिल्यै न्यायको स्वास फेर्न पाएको छ ? बारीमा पसिना बगाउने किसानले पसिनाको न्युनतम मूल्य कहिले पाए ? किसानको पसिनाले थकाइ मारेर चौतारीमा सुस्ताउँदै सन्तोषको सास फेर्न नपाएको प्रजातन्त्रले अरू कसमाथि कुन बखत न्याय गर्ला भनेर आश गर्नु ?

पसिनाको तातो बाफमा पिल्सिएको बाजेको पुस्ताले बाबुको पुस्तालाई गाउँबाट पर कतै सहरतिर पठायो । सहरमा अडिन नसक्नेहरू हावामा बाँकटे हान्दै सात समुद्र पारि पुगे । सहरका गल्लीमा फोहोरसँग मोहोर साटेका र सात समुद्रपारि विषम हावापानी झेल्दै गाँस कटाएर छोराछोरीको पुस्ताका लागि सुन्दर सपनाको खेती गरेर पठाएको पसिनाको कमाइमाथि महङ्गीको तातो पन्युँ बजारेपछि र दलालतन्त्रको ‘रेम्बो नाइफ’ धसेपछि आज नातिपुस्ताले समेत आफ्नो कालो भविष्यमा चाँदीको घेरा देख्न सक्ने स्थिति छैन ।

यस्तो अवस्थामा गिद्धले लुछिसकेपछिको अस्थिपञ्जरमा मासुको अंश खोजेझैँ कहाँनिर खोज्नु जनताको जित ? जनताले जितका लागि लडाइँ लड्दै आए तर लडाइँकै नाइकेद्वारा सधैँ धोका पाउँदै आए । प्रजातन्त्रको पूर्ण उपभोग गरेर समृद्ध जीवन जिउने जनताको सपना तुहाएर जनतालाई हारको हार (माला) पहिर्याउने काम प्रजातन्त्रको ठेक्का लिएको मानिएका नेताहरूले अनवरत गर्दै आए ।

जनताले नेताका हरेक अभियानमा उत्तिकै साथ दिँदै आएका छन् । जनताको निसर्त साथ र निःस्वार्थ सहयोगको बदलामा नेताले दिँदै आएको धोकाले सिङ्गो देश नै असफल बन्ने सङ्केत यतिबेला ठूलो पर्दामा देखा परिरहेको छ । यही अवस्था निरन्तर रहनु भनेको जनतामा राजनीतिक व्यवस्थाप्रति नै चरम अविश्वास बढ्दै जानु हो । अविश्वासको यो मनोविज्ञान तयार हुन नदिन नेपालको वर्तमान राजनीतिक नेतृत्वले कुनै पनि परिवर्तनका सङ्केत देखाएको छैन । तसर्थ जनस्तरबाटै राजनीतिलाई सम्मानित क्षेत्रका रूपमा स्थापित गर्न एउटा फरक पहल थाल्नुपर्ने बेला आएको छ ।

नेपालको शिक्षा प्रणालीले सैद्धान्तिक ज्ञान दिएर अघिल्लो पुस्तालाई बोल्न सक्ने बनायो तर काम गर्न सक्ने बनाएन । सैद्धान्तिक ज्ञानलाई प्राधान्य दिएका कारण पनि उक्त पुस्तामा ज्ञान भएका तर सिप नभएका व्यक्तिको सङ्ख्या अधिक छ । सिपविना परिवर्तनको आश गर्नु मुर्खतासिवाय केही होइन ।

प्रजातान्त्रिक आन्दोलनको सुरुआती चरणमा जस्तो वर्तमानमा जनताको चेतनास्तर न्युन छैन । तसर्थ पनि इतिहासका कालखण्डमा प्रजातन्त्रका लागि योगदान दिएको वर्तमान शीर्ष नेतृत्व आफैँ परिवर्तन हुन तयार नभएमा जनताले समय कुरिरहनु जरुरी छैन । जनता व्यावहारिक रूपमा यसरी तात्नुपर्यो कि त्यसले नेतृत्वलाई स्वतः परिवर्तनका लागि झकझक्याउनका सकोस् ।

नेपालको शिक्षा प्रणालीले सैद्धान्तिक ज्ञान दिएर अघिल्लो पुस्तालाई बोल्न सक्ने बनायो तर काम गर्न सक्ने बनाएन । सैद्धान्तिक ज्ञानलाई प्राधान्य दिएका कारण पनि उक्त पुस्तामा ज्ञान भएका तर सिप नभएका व्यक्तिको सङ्ख्या अधिक छ । सिपविना परिवर्तनको आश गर्नु मुर्खतासिवाय केही होइन । पछिल्लो समयमा प्रविधिको विकासले मानिसलाई गर्न सक्ने पनि बनाएको छ । वर्तमान पुस्तामा गर्न सक्ने सिप र क्षमता दुवै भएकाको सङ्ख्या उल्लेख्य छ तर इच्छाशक्तिको भने चरम अभाव छ । अघिल्लो पुस्ताले दिएको राजनीतिक, सामाजिक र आर्थिक संस्कारमा वर्तमान पुस्ता ढुक्क हुन सकेको छैन । त्यसैले पनि आफ्नो सिपलाई व्यावसायिकतामा परिणत गर्ने साहस देखाउन वर्तमान पुस्ता आनाकानी गरिरहेको छ । यो स्थिति सिर्जना हुनु परिवर्तनका लागि निकै ठूलो दुर्भाग्य हो । देशमा गर्नुपर्ने काम एउटा छ, देशको शीर्ष नेतृत्व अर्कैतिर रुमल्लिइरहेको छ । ‘टाउको दुख्या औषधी नाइटोमा लाई’ भन्ने कुरालाई चरितार्थ गर्दै आएको वर्तमान नेतृत्वलाई सबक सिकाउनका लागि जनस्तरमा चेतना र व्यावहारिक परिवर्तनको ठुलै आँधी जरुरी छ । त्यसैले त्यो आँधीयुक्त पहल यथाशीघ्र थालिनु पर्दछ ।

चेतनशील बन्नु भनेको भन्न सक्ने बन्नु मात्रै होइन । आलोचना गर्न सक्ने बन्नु मात्रै त झनै होइन । बुझेको कुरा व्यवहारमा लागु गर्दै जीवनका अनेक सम्भावनाको स्पष्ट रेखा कोर्न सक्ने बन्नु बल्ल चेतनशील हुनु हो । जति कुरा हामी जान्दछौँ त्यति सबै कुरा गर्न सक्दैनौँ । व्यावहारिक ज्ञान र सिपको प्रयोग गरेर आफ्ना वरिपरिका सम्भावनालाई यथार्थमा परिणत गर्न भने अवश्य सक्छौँ । आजसम्म प्रजातन्त्र प्राप्तिका नाममा आन्दोलनरत पुस्ताले राजनीतिक परिवर्तनबाहेक अर्को सम्भावना नै देखेन । अधिकार प्राप्त हुनु भनेको जनताको जीवनस्तर आफसेआफ उकासिनु किञ्चित होइन, जीवनस्तर परिवर्तनका लागि आधार तयार हुनु हो । राजनीतिक अधिकारको प्राप्तिले सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिकलगायत अन्य अधिकार प्राप्त गर्न पृष्ठभूमि तयार पार्ने हो । नेपालको नेतृत्वले राजनीतिक परिवर्तन नै साध्य हो भनेर बुझ्यो र बुझायो । सिङ्गो जनमानस त्यसैका पछिपछि लाग्यो । यसको परिणाम राजनीतिक परिवर्तनको उच्चतम बिन्दु (सङ्घीय गणतन्त्र)मा आइपुग्दा पनि सर्वसाधारण जनता सामान्य सामाजिक, आर्थिक, सांस्कृतिक अधिकारको उपभोगसम्म गर्न सक्ने अवस्थामा पुगेका छैनन् ।

राजनीतिक परिवर्तनलाई साधन/माध्यमका रूपमा ग्रहण गरी जनताको जीवनस्तरमा आएको परिवर्तनलाई साध्य मान्न सकेका भए आज यो मुलुक परिवर्तनको उदाहरण पस्कँदै विश्व रङ्गमञ्चमा शानका साथ उभिएको भेटिन्थ्यो । तर बिडम्बना, त्यो अवसर यो मुलुकले प्राप्त गरेन । तसर्थ पनि समाजको चेतनशील वर्गको प्रतिनिधित्व गर्ने वर्तमान पुस्ताले यो समय ठुलो बलिदानी दिनुपर्ने समय आएको छ । युग परिवर्तनको एउटा स्पष्ट खाका कोरेर भावी पुस्तालाई त्यसमा सहजै दौडने प्रेरणा र ऊर्जा थप्नका लागि बौद्धिक, सचेत र व्यावहारिक बलिदानी दिनुपर्ने दायित्व यो पुस्तामा छ ।

‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ…’ भनेर गायक रामेशले भनेझैँ एकपटक फेरि सिङ्गै देश उठ्नुपर्ने बेला आएको छ । आवाज मात्रै लिएर उठ्ने बेला घर्किसकेको छ । ज्ञान मात्रै बोकेर हिँड्ने समय सिद्धिसकेको छ । यो समय त सिप रोपेर सिर्जना फुलाउनुपर्ने समय हो । देशको उत्पादनले दशकौँसम्म शिशिरको तुसारो भोगिसक्यो, वर्तमान पुस्ताले वासन्ती यामलाई बोकेर हिँड्नुपर्ने छ । स्वदेशी जनशक्तिले, स्वदेशी सिप र प्रविधि विकास गरी त्यसलाई उत्पादनमा लगाउँदै बस्ती बस्ती सिँगार्नु छ । यो देशका सम्भावनालाई वास्तविकतामा रूपान्तरण गर्नु छ । यसो गर्न सकियो भने परनिर्भर बन्दै गएको नेपाली समाज आत्मनिर्भरताको मोड समात्न सक्षम हुनेछ । सारा जनतालाई परनिर्भर बन्न बाध्य बनाएको नेपालको नेतृत्वले आफू वर्तमानबाट इतिहास नबन्दै देश यसरी परिवर्तन गर्न पनि सकिने रहेछ भन्ने पाठ सिकेर आकाशमार्गको बाटो तताउलान् । तिनलाई सबक सिकाउनु युवाको दायित्व हो । तिनलाई पश्चात्तापको अग्निमा भकभकी उम्लिने बनाउन सकियो भने भावी पुस्तालाई त्यो अमूल्य ज्ञान पस्कन पनि वर्तमान पुस्ता सक्षम हुने निश्चित छ ।

उत्पादनमुखी जीवनशैली अपनाउन सकेमा सम्पूर्ण नेपालीमा एउटा दिव्यज्ञान प्राप्त हुनेछ । दिव्यऊर्जा प्राप्त हुनेछ । त्यसैले अबको पुस्ताले सिर्जनात्मक विरोध गर्ने हो । घोषणापत्रमा कुनै काम गर्नेछु भनेर पाँच वर्षका लागि जनमत पाएर निर्वाचित जनप्रतिनिधिले चार वर्षभरिमा उक्त योजना थालनी नै गरेन भने उक्त नेताको पुत्ला नजलाइयोस् । उसका विरुद्ध विषवमन गरी सहस्र गाली नगरियोस् । के गरियोस् त ? गरियोस् के त भन्दा उक्त व्यक्तिलाई नेतृत्वबाट सर्वसाधारण व्यक्तिमा झार्ने सामूहिक सङ्कल्प गरियोस् र आगामी निर्वाचनमा उम्मेदवार बन्ने र निर्वाचित हुने सम्भावना सबै क्षीण पारियोस् । तर त्यो कसरी ? जनताले आफ्नै पहलमा सिङ्गो समाज मिलेर उक्त परियोजना बाँकी रहेको एक वर्षमा निर्माण थालोस् र यथाशीघ्र सम्पन्न गरोस् ।

वर्तमान पुस्ताले रचनात्मक कार्य गर्न जरुरी छ न कि फेरि रत्नपार्क र माइतीघरमा धर्ना र नाराबाजी । चर्का नारा र लोभलाग्दा सपनाले मात्रै परिवर्तन सम्भव छैन, परिवर्तनका लागि त इच्छाशक्तिसहितको काम चाहिन्छ । लामो समयको शान्ति र विकासको अभाव पूरा गर्नका लागि योजनाको द्रुततर विकास र तीव्र कार्यान्वयन आवश्यक छ । वर्तमान सचेत पुस्ताले त्यो गति पक्रन आवश्यक छ ।

साथै सञ्चारमाध्यममा नेतृत्वले जिम्मेवारी पूरा नगरेको झोँक मात्रै पोखिएका सामग्रीलाई प्राधान्य दिन छाड्नुपर्छ । नेतृत्वले पूरा गर्न नसकेका वाचा जनता आफैँ विकास निर्माणमा जुटेर पूरा गरेका समाचारलाई अबको समयमा मिडियाले व्यापक बनाओस् । यस्ता सिर्जनात्मक कार्यबाट उक्त नेतृत्वलाई आफूले जिम्मेवारी निभाउन नसकेको पराजित मानसिकतामा पुर्याउन सकेमा टपर्टुइयाँ नेताहरूमा नेतृत्वमा रहने भोक हराउने सम्भावना प्रबल हुन्छ । यसले क्षमतावान् र जुझारु व्यक्ति मात्रै नेतृत्वका लागि तयार रहने संस्कारको थालनी हुन्छ । यसले राजनीतिलाई सङ्लो बनाएर लैजान्छ । वर्तमान पुस्ताले यस प्रकारका रचनात्मक कार्य गर्न जरुरी छ न कि फेरि रत्नपार्क र माइतीघरमा धर्ना र नाराबाजी । चर्का नारा र लोभलाग्दा सपनाले मात्रै परिवर्तन सम्भव छैन, परिवर्तनका लागि त इच्छाशक्तिसहितको काम चाहिन्छ । लामो समयको शान्ति र विकासको अभाव पूरा गर्नका लागि योजनाको द्रुततर विकास र तीव्र कार्यान्वयन आवश्यक छ । वर्तमान सचेत पुस्ताले त्यो गति पक्रन आवश्यक छ ।

हालसम्म नेतृत्वले दोहोर्याउँदै आएका कमजोरीको एकोहोरो बद्ख्वाइँ गरेर देश बन्दैन भन्ने कुरामा वर्तमान पुस्ता प्रष्ट हुन जरुरी छ । आजसम्म अघिल्लो पुस्ताले गरेका कमजोरीबाट पाठ सिकेर त्रुटि सच्याउँदै भोलिको सुन्दर खाका तयार गर्ने जिम्मेवारी वर्तमान पुस्ताको हो । अरूलाई काम गर्न नसकेको आरोप लगाउन पानी पिएजत्तिकै सहज छ तर त्यही काम आफूले गरेर देखाउन पर्यो भने दाँतबाट पसिना निस्कन्छ । तसर्थ अबको पुस्ताले अरूका कमजोरीमाथि आलोचनात्मक दृष्टि राखेर मात्रै पुग्दैन, समाधान पस्कन सक्नुपर्छ । तिमीहरूले यस्तो यस्तो गल्ती गर्यौ, खासमा त्यो काम यसरी प्रभावकारी गर्न सकिन्छ भनेर उदाहरण प्रस्तुत गर्ने जिम्मेवारी हो वर्तमान पुस्ताको । त्यसैले प्रविधिको समुचित प्रयोग गरी समयसापेक्ष परिवर्तन पस्कनका लागि वर्तमान पुस्ता तम्तयार भएर लाग्नुपर्ने समय आइसक्यो । त्यसको घन्टी बजिसक्यो ।

राजमार्गका घुम्तीमा अर्काले अनुदानमा राखिदिएका ऐनाहरू झर्यामझुरुम फुटाउनेहरू पनि वर्तमान पुस्ताकै पात्रहरू हुन् । आफैँ केही नगर्ने तर अर्काले गरेकोलाई पनि जस नदिने अपजसे संस्कृति विकास हुँदै गएको छ । यो देशको सर्वाङ्गीण विकासका लागि एउटा दीर्घरोगका रूपमा स्थापित हुने सम्भावना प्रबल बन्दो छ । वैयक्तिक जीवनलाई प्राथमिकता दिएर आफ्ना लागि बाँच्ने व्यक्तिको सङ्ख्या बढ्दो छ । तसर्थ पनि जिम्मेवारीपूर्वक सामाजिक स्वार्थ र राष्ट्रहितमा लाग्ने नयाँ सोच भएको र दृढ इच्छाशक्ति भएको बलियो दस्ता देशव्यापी रूपमा तयार हुनु अत्यावश्यक छ । अन्यथा इन्जिन सिज भएको अवस्थामा रोकिएको सवारी झैँ देशको विकासको गति ठप्प हुनेछ । देशहितमा काम नगरेर देशका लागि बैगुनी बन्दै आएको वर्तमान बैगुनी नेतृत्वलाई गुनले मार्ने शक्ति र साहस दुवै आवश्यक छ ।

वैकल्पिक शक्ति भन्दै अर्कालाई गाली मात्रै थोपर्ने तर समाज सुधारका क्षेत्रमा माखो नमार्ने समूहको बिगबिगी बढ्ने अर्को कालो सम्भावना उदाउँदो छ । अतिवादलाई पृष्ठपोषण गर्ने यस्ता समूहसँग वर्तमानमा रहेको सिर्जनशील र सिपयुक्त जनशक्ति कडा टक्कर दिने गरी जुध्न तयार हुनुपर्छ । बल्ल अरूको ईशारामा अराजकता मच्चाउनेहरू ठेगान लाग्छन् ।

मुखको साटो हात चल्ने, दिमागभन्दा बढी दिल चल्ने समूहको खाँचो छ देशलाई अहिले । यस्तो नवीन प्रयोग एकपटक युवाजमातले नगर्ने हो भने असीम सम्भावना हुँदाहुँदै पनि देश असफल बन्ने निश्चितप्रायः छ । अब एउटा कर्मशील प्रयोग सिङ्गो देशको युवाशक्तिले गर्न जरुरी छ । राजनीतिक दलका दलालजस्ता विवेकहीन कार्यकर्ता बन्न छोडेर सिङ्गो देशको असल नागरिक बन्ने सङ्कल्प गर्न जरुरी छ आजका नेपाली जनताले । एकपटक कार्यकर्ता बन्न छोडेर जनता बन्ने पहल थालौँ । एकपटक आलोचना गर्न छोडेर सिर्जनामार्फत् जवाफ दिने दृढतासहितको परिवर्तन प्रारम्भ गरौँ । नबोली गर्ने र अरूलाई सिको गर्न बाध्य पार्ने गरी मौलिक सम्भावनाको पहिचान गरी परिवर्तनको फरक शैली विकास गरौँ । आउनुहोस्, एउटा फरक पहल थालौँ र परिवर्तनको सम्वाहकका रूपमा वर्तमान पुस्तालाई भोलिको इतिहासमा अङ्कित गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.