निरन्तर बढेको बजारमा कसरी गर्ने लगानी ? बोर्डले दियो यस्तो सुझाव

  २०७७ मंसिर १५ गते १६:२६     विकासन्युज

काठमाडौं । पछिल्लो समय पुँजी बजारले दिनानुदिन नयाँ नयाँ उचाई चुम्न सफल भएको छ । अहिलेको समयमा हरेक हिसावले बजारमा लगानी गर्न उपयुक्त माहोल भएसँगै लगानीकर्ताले सेयर बजारमा लगानी बढाउँदै गएपछि सेयर बजार निरन्तर उकालो लागेको हो ।

बजार गत एक महिना यतादेखि नै निरन्तर उकालो लागिरहेको छ । बजारमा परिसूचक मात्र नभई कारोबार रकमले पनि ऐतिहासिक रेकर्ड राखिरहेको छ । दैनिक एक अर्बको कारोबार हुन पनि हम्मे हम्मे पर्ने बजारमा पछिल्लो समय अर्थात मंसिर १४ गते (आइतबार) मात्रै कूल ९ अर्ब २२ करोड रुपैयाँसम्मको सेयर कारोबार भएको छ । र, नयाँ रेकर्ड राख्न सफल भएको छ ।

आइतबारको बजारमा परिसूचक र कारोबार रकम दुबैले नयाँ रेकर्ड राखेका थिए । त्यस्तै, सोमबारको बजारमा पनि परिसूचकले नयाँ उचाई चुमेको छ । कारोबार शुरु हुने बित्तिकै २ हजार बिन्दु क्रस गरेको परिसूचक अन्ततः बजार बन्द हुँदा २८ अंकले बढेर १९९७ अंकमा रहेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो ।

यससँगै नयाँ उचाईंमा पुगेको बजारमा नियामक निकाय धितोपत्र बोर्डले लगानीकर्तालाई सजग भई लगानी गर्न आग्रह गरेको छ । बोर्डले सोमबार एक विज्ञप्तिमार्फत दिनानुदिन बढ्दै गएको बजारमा हल्ला र अनुमानको पछाडि नलागी सजग र सुझबुझ गरेर मात्रै लगानी गर्न लगानीकर्तालाई आग्रह गरेको हो ।

यस्ताे छ बाेर्डकाे सुझाव 

– लगानीकर्ताले पुँजी बजारमा केही स्थापित मूल्य र मान्यता अनुरुप सूचीकृत संगठित संस्थाको वित्तीय अवस्था हेर्नुपर्छ ।
– ती संस्थाहरुको आधारभूत तथा प्राविधिक पक्षका विश्लेषणका साथै ऐन नियमको पालनाको अवस्था पनि हेर्नुपर्छ ।
– संस्थाकाे समग्र वित्तीय तथा आर्थिक परिसूचक लगायतका विवरणहरुको विश्लेषण गरे पछि मात्रै लगानीकर्ताले लगानी सम्बन्धी निर्णय लिनुपर्ने छ ।
– विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र तथा सूचीकृत संगठिछ संस्थाहरुको वित्तीय स्थितिको विश्लेषण गर्नुपर्छ ।
– संस्थागत सुशासनको अवस्था एवं लगानीकर्ताको जोखिम बहन गर्न सक्ने क्षमता लगानीकर्तामा हुनुपर्छ ।
– लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा आदि समेतलाई दृष्टिगत गरी सजग र सुझबुझ गरेर मात्रै बजारमा लगानी गर्नुपर्छ ।

साथै, बजारमा लगानी गर्दा हल्ला र अनुमानको पछाडि नलागी यी सुझावलाई अपनाएर मात्रै लगानी गर्न बाेर्डले लगानीकर्तालाई अनुराेध गरेकाे हाे ।

यसकारण बढ्यो लगानीकर्ताको सहभागिता

नेप्सेका अनलाइन कारोबार प्रणालीबाट ८५ प्रतिशतभन्दा बढी कारोबार हुने गरेकाले धितोपत्र बजारमा पछिल्लो समय लगानीकर्ताको सहभागितामा उल्लेख्य वृद्धि भएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार बोर्डबाट गरिएका धितोपत्र बजार विकास तथा सुधारका कार्यहरुबाट धितोपत्रको प्राथमिक बजारमा ८ लाखभन्दा बढी लगानीकर्ता, डिम्याट खाताको संख्या २१ लाख ८० हजार रहेको छ । जुन कुल जनासंख्याको करिब ७.२५ प्रतिशत रहेको बोर्डले जनाएको छ ।

सम्बन्धित समाचारः

नेप्सेमा उछाल कायमै, आज पनि रच्यो नयाँ रेकर्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.