पर्वतीय उडानमा एयरलाइन्सको आकर्षक छुट: एउटा टिकट किन्दा अर्को टिकट निःशुल्क

  २०७७ मंसिर १४ गते १५:०५     विकासन्युज

काठमाडाैं । बन्दाबन्दीको आठ महिनापछि शुरु भएको पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा यात्रुलाई आकर्षण गर्न एयरलाइन्सबीच प्रतिस्पर्धा नै चलेको छ । निजी क्षेत्रका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले पर्वतीय उडानमा विशेष छुट र ‘अफर’सहितका योजना बनाएका छन् । दुवै एयरलाइन्सले एक टिकट खरिदमा अर्को टिकट निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् ।

कोभिड–१९ महामारीका कारण अझै पनि विदेशी पर्यटकको चहलपहल बढ्न नसकेका बेला एयरलाइन्सले आन्तरिक पर्यटकलाई लक्षित गर्दै आफ्ना छुट प्याकेज घोषणा गरेका हुन् । दुवै एयरलाइन्सले आगामी डिसेम्बर ५ तारिखदेखि औपचारिकरुपमा पर्वतीय उडान सञ्चालन गर्ने ती कम्पनीले आज छुट्टाछुट्टै विज्ञप्तिमार्फत जनाएका छन् । हरेक शनिबार पर्वतीय उडान हुनेछ ।

बुद्ध एयरले कात्तिक १३ गते शनिबारबाटै पर्वतीय उडान शुरु गरिसकेको छ । सो उडानमा १८ यात्रु सहभागी थिए । बन्दाबन्दीपछि पुनःपर्वतीय उडान शुरु गरेको बुद्ध एयरले स्थिर अवस्थामा रहेको पर्यटनलाई गतिशील बनाउने उद्देश्यले आगामी शनिबारदेखि नियमित पर्वतीय उडान गर्ने जनाएको छ ।

यती एयरलाइन्सले पनि हिजोदेखि नै शुरु गर्ने तयारी गरेको भए पनि केही प्राविधिक कारण अर्को मिति तय गरिएको कम्पनीले उल्लेख गरेको छ । यती एयरलाइन्सले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पर्वतीय उडानमा विशेष अफर बनाएको छ । यसले पनि एक टिकट खरिदमा अर्को सित्तैमा उपलब्ध गराउने जनाएको छ । यती एयरलाइन्सका उडान सुरक्षा विभाग प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले आन्तरिक उडानका यात्रुलाई आकर्षण गरी पर्यटन क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले अफर ल्याइएको बताए ।

‘गाउँदै नेपाली गाथा हेराैँ आफ्नै सगरमाथा’ भन्ने सन्देशसहित यतीले आगामी मङ्सिर २० गतेदेखि प्रत्येक शनिबार पर्वतीय उडान सञ्चालन गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । सुपथ मूल्यमा सगरमाथा उडान प्रारम्भ गर्न लागिएको र बुकिङका लागि नजिकको टिकट काउन्टर तथा ट्राभल एजेन्सी, वेबसाइट वा मोबाइल एप्समार्फत सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ । यतीले पर्वतीय उडानका लागि रु आठ हजार ९९९ भाडा निर्धारण गरेको छ ।

पर्वतीय उडान करिब एक घण्टाको हुनेछ । त्रिभुवन विमानस्थलबाट शुरु हुने यो उडानबाट सगरमाथा, मकालु, नुप्त्से, गौरीशङ्करलगायत अन्य हिमशृङ्खलाको मनोरम दृश्य हेर्न सकिन्छ । अझ पदयात्रा जान नसक्नेका लागि यो गज्जबको अफर भएको व्यवसायीले बताएका छन् । बुद्ध एयरले पनि पर्वतीय उडानका लागि आठ हजार ९०० भाडा तोकेको छ । यसमा झ्यालसहितसँगैको अर्को सिट (झ्यालबिना) सित्तैमा उपलब्ध गराउनेछ । यो अफर तत्कालका लागि नेपाली नागरिकलाई मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । टिकटका लागि बुद्ध एयरको काउण्टर तथा ट्राभल एजेन्सीलाई सम्पर्क गर्न विज्ञप्तिमा भनिएको छ ।

सर्वोच्च शिखर सगरमाथासहितका आकर्षक एवं मनोरम हिमशृङ्खला दृश्यावलोकनका लागि पर्वतीय उडान निकै आकर्षक मानिन्छ । पर्वतीय उडानका लागि स्वदेशी तथा विदेशी यात्रु निकै लालायीत हुन्छन् । अनुकूल मौसमले पनि पर्वतीय उडानको आकर्षण बढ्दो छ । विशेषगरी शरद ऋतु पर्वतीय उडानका लागि उपयुक्त मानिन्छ ।

नेपालमा कोभिड नियन्त्रणका लागि देशभर लागू भएको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाका कारण हवाई उडान खुलेको थिएन । असोज ५ देखि आन्तरिक उडान सञ्चालनमा आएको थियो भने भदौ १६ देखि अन्तरराष्ट्रिय नियमित उडान शुरु भएको थियो । सगरमाथासहितका अग्ला हिमालसँगै महाभारत पर्वत शृङ्खलाको रमणीय दृश्य हेर्न स्वदेशी तथा विदेशी पर्यटक लालायीत हुन्छन् । वायुसेवा सञ्चालक सङ्घ नेपालका अनुसार आन्तरिक उडानका लागि हाल १० हेलिकप्टर कम्पनीसहित १९ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.