अवैध रूपमा तस्करी गर्न तयार पारिएका काठ बरामद

  २०७७ मंसिर १० गते २०:४३     विकासन्युज

पोखरा । रूपा गाउँपालिका वडा नं.–७ मा रहेको दाङ्सीमराङ सामुदायिक वनबाट अवैध रूपमा तस्करी गर्न तयार पारिएका साल, सल्ला, उत्तीस लगायतका काठ बरामद गरिएको छ । डिभिजन वन कार्यालय, कास्की र सब डिभिजन वन कार्यालय, रूपा गाउँपालिकाबाट खटिएको संयुक्त टोलीले उक्त काठ नियन्त्रणमा लिएको हो ।

अवैध रूपमा कटान गरी लुकाएर राखिएको अवस्थामा काठ बरामद गरिएको डिभिजन वन कार्यालय कास्कीले जानकारी दिएको छ । अनुगमन टोलीले सामुदायिक वन क्षेत्रबाट ८३ क्युफिट र अर्पन काष्ठ उद्योगमा मेसिनबाट चिरेर तयार पारिएको अवस्थामा २५० क्युफिट काठ नियन्त्रणमा लिइएको हो । वन उपभोक्ता समितिकै पदाधिकारीको संलग्नतामा अवैध काठको तस्करी हुने गरेको पाइएको हो । मादी नदीको खाल्टेस्थित बालुवा खानीबाट बालुवा ल्याउनका लागि बाटो बनाइएको र उक्त बाटोमा पर्ने रूखहरू अवैध रूपमा काटिएको स्थानीयले बताएका छन् । सो क्रममा वन उपभोक्ता समितिकी सचिव पवित्रा भट्टराईको घरनजिकै निजी जग्गामा लुकाइराखेको अवस्थामा समेत एक ट्रयाक्टर अवैध काठ फेला पारिएको थियो ।

वन उपभोक्ता समितिकै सहमतिमा उक्त काठ सचिव भट्टराईलाई उपलब्ध गराइएको कुरा खुल्न आएको छ । समितिका पदाधिकारी भने पहिरोले लडेका रूखहरू मात्र काटिएको जनाउँदै आएका छन् । तर पदाधिकारीहरू नै काठ कटान गरी लुकाउने काममा संलग्न भएको स्थानीयको आरोप छ । उपभोक्ता समितिले भूकम्पमा परेका घर निर्माणका लागि रूख काट्न अनुमति नदिएको तर पदाधिकारी एवम् उनका निकटका ठेकेदारलाई भने रूख काट्नका लागि अनुमति दिँदै आएकोमा स्थानीयले आक्रोश व्यक्त गर्दै आएका छन् ।

सरकारले वैज्ञानिक वन व्यवस्थापनलगायतका योजना निर्माण गर्नका लागि हाल काठकटान र निकासी बन्द गरेको छ । यस्तो अवस्थामा समेत यसप्रकार काठको अवैध कटान गरिएकाले उनीहरूविरुद्ध मुद्दा दर्ता गरिने डिभिजन वन कार्यालय, कास्कीले जानकारी दिएको छ ।

अर्पन फर्निचर र दाङ्सीमराङ वन उपभोक्ता समिति यसअघि पनि अवैध काठ तस्कर अभियोगमा कारबाहीमा परिसकेका छन् । यद्यपि विभिन्न बाहनामा काठ तस्करी गर्ने कार्य भने नरोकिएको स्थानीयहरू बताउँछन् । राजनीतिक पहुँच र शक्तिका आडमा यस प्रकारका तस्करी बढी हुने गरेको सरोकारवाला निकायका अधिकारीहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.