सामाजिक सुरक्षा योजना कार्यविधि परिमार्जन गरी बेरोजगार बीमा योजना तत्काल सुरु गर्न माग

  २०७७ मंसिर १० गते १८:२१     विकासन्युज

काठमाडौं । तीनवटा ट्रेड युनियनहरुले अनौपचारिक र स्वरोजगार क्षेत्रलाई समेट्नेगरी सामाजिक सुरक्षा योजना कार्यविधि परिमार्जन गर्न माग गरेका छन् । सामाजिक सुरक्षा दिवसको अवसर पारेर नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेस र अखिल नेपाल ट्रेड युनियन महासंघले सामाजिक सुरक्षा योजना कार्यविधि परिमार्जन गर्न माग गरेका हुन् ।

रोजगारीको सुरक्षाका लागि सामाजिक सुरक्षा कार्यविधिले नसमेटेको बेरोजगार बीमा योजनालाई तत्काल सुरु गर्न समेत ट्रेड युनियनहरुले माग गरेका छन् । योगदानकर्ताको आश्रित परिवारलाई समेट्ने गरी स्वास्थ्य तथा उपचार सुविधामा परिमार्जन पनि माग गरिएको नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठले बताए । अवकाशपछिको स्वास्थ्य सुरक्षा समेत समेट्ने गरी कार्यक्रम विस्तार गर्न पनि माग गरिएको उनले बताए । सामाजिक सुरक्षा कोषमा उपदान वा अवकाश कोषकै रुपमा स्वेच्छिक रुपले तोकिएभन्दा बढी रकम जम्मा गर्ने व्यवस्था मिलाउन पनि ध्यानाकर्षण गरिएको श्रेष्ठले बताए ।

ट्रेड युनियनहरुले सामाजिक सुरक्षा कार्यक्रमको सचेतनाका लागि नेपाल सरकार, रोजगारदाता संघ र ट्रेड युनियन महासंघहरुले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गर्नुपर्ने, संचयकोष तथा उपदान व्वस्थापन गर्न योगदानमा आधारित सामाजिक सुरक्षा ऐनसाग बाझिएका ऐन नियमहरु परिमार्जन गर्नुपर्ने माग पनि छ । अहिलेसम्म करिब १३ हजार प्रतिष्ठानका १ लाख ७९ हजार ३ सय ४० श्रमिक कर्मचारीहरु सामाजिक सुरक्षा कोषमा सूचिकृत भएपनि अझै धेरै क्षेत्रलाई यसले आकर्षण गर्न सकेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.