४१ हजार ६ सयले लिए सहुलियतपूर्ण कर्जा, कृषि क्षेत्रमा गयो सवा ६१ अर्ब

  २०७७ मंसिर १० गते १६:३२     विकासन्युज

काठमाडौं । सरकारले कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा बढाउन गरेको नीतिगत पहलको सकारात्मक संकेत मिलेको छ । सस्तो व्याजमा पाइने कर्जा लिएर कृषि क्षेत्रमा उद्यम व्यवसाय गर्नेहरुको संख्या बढ्न थालेको छ ।

सरकारले तोकेका अन्य क्षेत्र जस्तै कृषि क्षेत्रमा उद्यम व्यवसाय गर्नको लागि पनि सस्तो व्याजमा कर्जा पाइने नीतिगत व्यवस्था गरेको छ । वार्षिक करिब ५ प्रतिशतको हाराहारीमा पाइने सहुलियतपूर्ण कर्जा लिएर उद्यम व्यवसाय गर्नेहरुको संख्या बृद्धि हुदै गएको नेपाल राष्ट्र बैंकको एक तथ्यांकले देखाएको हो ।

गत असोज मसान्तसम्ममा ४१ हजार ६ सय १८ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको राष्ट्र बैंकको भनाइ छ । ती ऋणीलाई ७२ अर्ब ४७ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत २७ हजार ३ सय ६९ ऋणीलाई ६१ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत १४ हजार २ सय ४९ ऋणीलाई ११ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत असोज मसान्तसम्ममा नेपाल राष्ट्र बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जा ३ अर्ब ८४ करोड रुपैयाँ लगानीमा रहेको छ । यसमध्ये साधारण पुनरकर्जा २ अर्ब ८५ करोड रुपैयाँ र भूकम्प पीडितलाई निजी आवास निर्माण गर्न प्रदान गरिएको पुनरकर्जा ९९ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.