चन्द्रागिरी हिल्सको आईपीओ मंसिर १७ गतेदेखि खुल्ला, क-कसले आवेदन दिन पाउँछन् ?

  २०७७ मंसिर १० गते ७:५५     विकासन्युज

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले आगामी मंसिर १७ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई उक्त दिनदेखि आईपीओ बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले प्रतिसेयर एक सय रुपैयाँको ३ लाख ६ हजार ८१९ कित्ता सेयर आयोजना प्रभावित स्थानीयलाई निष्काशन गर्न लागेको हो । आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं. ३,४, ६ र ७ साविक थानकोट गा.वि.स.का सम्पूर्ण वडा र साविक महादेवस्थान गा.वि.स.को वडा नं. ३, ४, ५, ६, ७ र ८ मात्र एवं मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० साविक चित्लाङ्ग गा.वि.स.का सम्पूर्ण वडाहरु र इन्द्रसरोबर गाउँपालिका वडा नं. ५ साविक फाखेल गा.वि.स.का सम्पूर्ण वडाका नागरिकले मात्र आवेदन दिन सक्नेछन् ।

यससँगै इच्छुक आवेदकले १० कित्तादेखि अधिकतम ३०६० कित्तासम्म आवेदन दिन सक्नेछन् । उनीहरुले मंसिर १७ गतेदेखि छिटोमा आगामी पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त मितिसम्म सेयर बिक्री नभएमा संस्थाले ढिलोमा पुस १६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरेकाे छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

कम्पनीले सर्वसाधारण र स्थानियलाई गरी कुल १८ लाख ४० हजार ९१० कित्ता सेयर अर्थात १८ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ । पहिलो चरणमा निष्काशन गरी बिक्री वितरण पश्चात कम्पनीले दोश्रो चरणमा सर्वसाधरणलाई निष्काशन गर्ने छ । दोश्रो चरणको लागि कम्पनीले १५ लाख ३४ हजार ९१ कित्ता सुरक्षित गरेको छ ।

उक्त आईपीओ जारी पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.