महासंघमा सहमतिको च्याप्टर क्लोज, अध्यक्ष राणाको प्रयास असफल

  २०७७ मंसिर ९ गते १७:३७     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा सहमतिको प्रयास असफल भएको छ । महासंघकी अध्यक्ष राणाले सहमितका लागि प्रयास गरिरहेको बताउँदै आएपनि अन्तिम समयसम्म पनि सहमतिको प्रयास हुन नसकेकाे हाे । यतिखेर महासंघको वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा छन् ।

दुवै जनालाई सहमति गराएर एक जनालाई महासंघको वरिष्ठ उपाध्यक्षमा चयन गर्ने प्रयास भइरहेको बताए पनि सो प्रयासले सार्थक रुप पाउन सकेन । अध्यक्ष राणाले अन्तिम समयसम्म सहमतिका लागि प्रयास गर्ने बताए पनि सो प्रयासले मुर्त रुप पाउन नसकेकाे हाे ।

उनले दुवै जना (ढकाल र प्रधान)सँग सहमतिका लागि हिजो सोमाबार छलफल गरेपनि दुवै जनाले आ–आफ्नै अडान राखेपछि सहमति हुन सकेन। अन्तिम सहमतिका रुपमा लिइएको हिजोको प्रयास असफल भएपछि अब सहमतिको आधारमा वरिष्ठ उपाध्यक्षको चयन गर्ने बाटो बन्द भएको हो ।

विभिन्न समयमा गरेको प्रयास असफल भएपछि अहिले पूर्व अध्यक्षहरुले सहमति नभएपछि लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचनमा जानु पर्नेमा जोड दिएका छन् । दुवै उम्मेदवारले आफु जित्नेमा विश्वस्त भएको र सहमतिका आधारमा अगाडि बढ्न नचाहेपछि अहिलेसम्म गरेको प्रयासले सार्थकता पाउन सकेन ।

दुवै उम्मेदवारहरुले आफु जित्नेमा विश्वस्त भएको पनि बताउँदै आएका छन् । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकोले शेखर गोल्छा आगामी अध्यक्ष बन्ने पक्का छ । अध्यक्ष राणा मात्र होइन पूर्व अध्यक्षहरु रवीभक्त श्रेष्ठ, महेशलाल प्रधान, कुशकुमार जोशी, पद्म ज्योति र प्रदिपजंग पाण्डेले सर्वसम्मत वरिष्ठ उपाध्यक्ष बनाउन छलफल चलाइरहेका थिए । तर पनि सहमति जुट्न सकेन ।

प्रधानले आफू उमेरका हिसाबले पनि जेठो भएकोले यसपटक छाडिदिन ढकालसँग आग्रह गरिरहेहका थिए । तर ढकाल भने आफु चुनाव जित्ने पक्का भएकोले प्रधानले छाड्नु पर्ने धारणा राख्दै आएका थिए ।

चण्डिराज ढकालसहित धेरैजसो पूर्व अध्यक्ष र वर्तमान पदाधिकारी ढकालको पक्षमा छन् । प्रधानलाई पूर्व अध्यक्ष पशुपति मुरारका, वर्तमान अध्यक्ष भवानी राणा र गोल्छा समेतको समर्थन छ ।

प्रधान प्यानलाबाट एसोसिएटमा शौरभ ज्योति र वस्तुगतमा अञ्जन श्रेष्ठ र जिल्लानगरमा दिनेश श्रेष्ठले उम्मेदवारी दिएका छन् । यस्तै ढकालको प्यानलबाट एसोसिएटमा रामचन्द्र संघाई, वस्तुगतमा उमेशलाल श्रेष्ठ र जिल्ला नगरतर्फ गुणनिधि तिवारीले उम्मेदवारी दिएका छन् ।

मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुने साधारणसभा र निर्वाचनले वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष तथा ५९ कार्यकारिणी समिति सदस्य निर्वाचित गर्दैछ । समिति सदस्यमा प्रत्येक प्रदेशबाट एक–एक जना गरी ७, जिल्ला तथा नगर उद्योग वाणिज्य संघबाट १७, वस्तुगत समितिमध्येबाट १४ र एशोसिएट्स सदस्यमध्येबाट १९ जना चयन हुनेछन् । यस्तै, द्वि–राष्ट्रिय उद्योग वाणिज्य संघ र महासंघका संस्थापक मध्येबाट एक–एक जना कार्यकारिणी सदस्य निर्वाचित हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.