भ्याक्सिन बजारमा आउने वित्तिकै नेपालीले पाउने तयारी भइरहेकाे छ: स्वास्थ्यमन्त्री

  २०७७ मंसिर ९ गते १६:००     विकासन्युज

काठमाडाैं । सरकारले कोभिड विरुद्धको भ्याक्सिन (खोप) प्रमाणित भएर बजारमा आउने वित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न पाउने गरी तयारी भएको बताएको छ । विश्व प्रति—जैविक सचेतना सप्ताहका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अन्य देशका सर्वसाधारणका लागि उपलब्ध हुने वित्तिकै भ्याक्सिन नेपाल भित्र्याउन सम्पूर्ण तयारी भएको बताएका हुन् ।

स्वास्थ्यमन्त्री ढकालले भ्याक्सिनको व्यवस्थापन र सहज उपलब्धताका लागि कानून संशोधन गरेर सरकार अगाडी बढेको बताए । अहिले परीक्षणका क्रममा रहेका भ्याक्सिनहरु प्रमाणित भएर बजारमा आउने वित्तिकै नेपाली नागरिकले पनि सहज रुपमा प्रयोग गर्न पाउने गरी आयात सहज बनाउन अध्यादेश मार्फत कानून संशोधन गरिएको उनले बताए । उनले भने, ‘‘औषधि व्यवस्थापन, उपलब्धताका लागि सहज होस भनेर कानूनी रुपमा अध्यादेशबाट औषधि आयात गर्न सहज बनाइएको छ । भ्याक्सिन सजिलै प्रयोगमा ल्याउन सकियोस भनेर कानूनी अफ्ठ्यारो नपरोस भनेर कानूनी बाटो खुला र सहज गरिएको हो । भ्याक्सिन अन्य देशले आफ्ना नागरिकमा प्रयोग गर्ने वित्तिकै नेपाली जनताले पनि प्रयोग गर्न सकियोस भनेर सरकारी र गैरसरकारी तर्फबाट पहल गरिनेछ ।’

मन्त्री ढकालले कुनै एक प्रयोजनका लागि उत्पादन भएको औषधिहरु म्याद सकिएपछि पनि अर्को प्रयोजनका लागि प्रयोग गर्दा समस्या देखिने गरेको बताए । उनले तरकारी, फलफुल लगायतमा प्रयोग हुने कीटनाशक औषधिका कारण पनि मानवजीवनमा विभिन्न समस्या देखिने गरेको बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.