एनआईसी एशिया बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले मासिक किस्ताबन्दीमा सामाग्री किन्न सक्ने 

  २०७७ मंसिर ८ गते १७:१४     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले क्रेडिट कार्डमार्फत रकम भुक्तानी गर्दा उक्त खरिद रकमलाई मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न सकिने ईन्स्टा बाई योजना’ सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई एकै पटकमा खरिद सामग्री तथा सेवाहरूको सम्पूर्ण खरिद रकम भुक्तानी गर्न एवं आफ्नो आयस्रोत अनुसारको किस्ता अवधि छनौट गर्न सकिने नविनतम सुविधा ल्याएको हो ।

यस योजनामार्फत ग्राहकहरूले इच्छाएको सामग्री तत्काल प्राप्त गरी खरिद रकम किस्ताबन्दीमा बैंकलाई तिर्नसक्ने सुविधा प्राप्त गर्न सक्नेछन् । क्रेडिट कार्ड प्रयोगकर्ताहरूले खरिद गर्ने इलेक्ट्रोनिक्स, घरायसी सामग्री, फर्निचर, टुर प्याकेज, सुन तथा हिराका गरगहना लगायतका सामग्री तथा सेवाहरूको खरिद रकम न्यूनतम ३ देखि अधिकतम १८ महिनासम्मको अवधिभित्र बैंकलाई भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

ग्राहकहरूले क्रेडिट कार्डमार्फत सामग्री खरिद गरेपश्चात् आफुलाई नजिक पर्ने बैंकको शाखा पुगेर किस्ताबन्दीको लागि आवेदन दिन सक्नेछन् । बैंकले केही दिनभित्रै वेबसाइटमार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था समेत गर्न लागेको छ ।

कोरोना भाइरसको जोखिम कायम रहेकै बेला नगद कारोबारको सट्टा डिजिटल कारोबार गर्नु वान्छनीय रहेको र यस विषम परिस्थितिमा आवश्यक सेवा तथा सामग्रीहरू खरिद गर्न सहज गराउनुपर्ने आफ्नो उत्तरदायित्व महसुश गर्दै बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई सहज एवं सुरक्षित सेवा प्रदान गर्ने विश्वासका साथ ईन्स्टा बाई योजना’ सञ्चालनमा ल्याएको जनाएको छ ।

यस आकर्षक योजनाबाट एकातिर क्रेडिट कार्ड प्रयोगकर्ताहरूले चाहेको सामग्री तथा सेवा तत्काल प्राप्त गर्ने र अर्कोतिर मर्चेन्टहरूले विक्री भएको सामग्री तथा सेवाको तत्काल भुक्तानी प्राप्त गरी भरपुर फाइदा उठाउन सहज पुग्ने बैंकले विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.