अपी पावर कम्पनीले सेयरधनीलाई आउँदो वर्ष डबल डिजिटको लाभांश दिन्छ: डाइरेक्टर त्रितालसँगकाे कुराकानी

  २०७७ मंसिर ६ गते १३:०५     विकासन्युज

अपी पावर कम्पनीका डाइरेक्टर हुन् इन्द्रमणि त्रिताल । विगत ७ वर्षदेखि हाइड्रो व्यवसायीका रुपमा काम गरिरहेका त्रितालले सुरुमा अर्थात २०७० सालमा अपी पावर कम्पनीको कम्पनी सचिवको रुपमा काम गरे । त्यसपछि कम्पनीले दार्चुलामा निर्माण गरेको साढे ८ मेगावाटको नौगाढ जलविद्युत आयेजनामा परियोजना म्यानेजरका रुपमा काम गरे । अहिले उनी अपी पावर कम्पनीमा डाइरेक्टरको भूमिकामा छन् । उनै त्रितालसँग हामीले कम्पनीको वर्तमान वित्तीय अवस्था, कम्पनीले हालै जारी गरेको हकप्रद सेयर, कम्पनीले निर्माण गरिरहेका र आगामी दिनमा निर्माण गर्ने आयोजना र आगामी योजनाको बारेमा कूराकानी गरेका छौं । प्रस्तुत छ उक्त कुराकानीको अंशः

अपी पावर कम्पनीले जारी गरेको हकप्रद सेयरमा लगानीकर्ताको आकर्षण कस्तो रह्यो ? सेयर कति  बिक्री भयाे ?

विगत ३/४ वषदेखि अपी पावर कम्पनीको हकप्रद सेयर आउने–आउने भन्ने धेरै हल्ला भयो । हामीले १ः२ भनेर नेपाल धितो पत्र बोर्डसमक्ष अनुमति मागेका थियौं । तर बोर्डले १ः०.४७ को मात्र स्वीकृती दियो । त्यसपछि हामीले हकप्रद सेयर जारी गर्यौं । सेयर जारी गर्दा यसमा सेयरधनीको सहभागिता उल्लेख्य मात्रामा भयो । अहिले सेयर मार्केट पनि बढेको कारण पनि हुन सक्छ । अर्को, हामीले लगातार विद्युत उत्पादन गरिसकेपछि दिने लाभांश पनि हुन सक्छ । हामीले सोचेको भन्दा राम्रैसँग सेयर उठ्यो भन्ने हाम्रो बुझाई छ ।

हालसम्म कति बिक्री भयो ?

हामीले कुल ५६ करोड ७० लाख हकप्रद सेयर जारी गरेका हौं । मंसिर ३ गतेको समयसम्म ३५ करोड बराबर उठिसकेको छ । ४ गते १० करोड उठ्यो भन्ने हाम्रो अनुमान छ । यो हिसावले कूरा गर्दा करिब ४५ करोड उठ्छ । १० करोड जति बाँकी रहन्छ । त्यो भनेको १० लाख कित्ता सेयर हो । त्यसपछि हामी यसलाई अप्सनमा लिएर जान्छौं । सबैलाई थाहा नभएर पनि हुन सक्छ । धेरै देश बाहिर पनि हुनुहुन्छ । बाँकी रहेको सेयर मानिसहरुले जानकारी नपाएर बाँकी रहेको हो भन्ने हाम्रो बुझाई छ ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले सम्पूर्ण क्षेत्रलाई ठूलै असर गरेको छ । यो महामारीले अपी पावर कम्पनीलाई के कस्तो असर गर्यो ? कम्पनी वित्तीय रुपमा कसरी अगाडि बढ्दैछ ?

अपी पावर कम्पनी वि.स२०६० सालमा स्थापना भएको कम्पनी हो । २०७० सालमा यो पब्लिक लिमिटेड कम्पनीमा परिणत भयो । त्यसपछि हामीले साढे ८ मेगावाटको नौगाढ जलविद्युत आयोजना निर्माण गर्यौं । नेपालको इतिहासमा साढे ८ मेगावाटको आयोजना १७ महिनामा सम्पन्न गर्ने पहिलो कम्पनी अपी पावर हो । त्यसले निरन्तर वदुत उत्पादन गर्न थाल्यो । विदुत उतपादन गर्न थालेको एकै वर्षमा हामीले बोनस दिन थाल्यौं । त्यसपछि हामी पूराना सेयरधनीलाई फेरि इक्वीटी नमागेर पूरानै इक्वीटीले फेरि ८ मेगावाटको आयोजना निर्माण गर्यौं । त्यो आयोजना पनि गर्त वर्षको कात्तिकदेखि सञ्चालनमा ल्याएका छौं । साढे ८ मेगावाटको इक्वीटीले साढे १६ मेगावाट विद्युत उत्पादन गरेर हामीले प्रत्येक वर्ष लाभांश दिइरहेका छौं ।

कोरोना भाइरसले धेरै क्षेत्रलाई असर गरेको छ । हाइड्रोलाई पनि असर गरेको छ । तर, उत्पादन गरिसकेका हाइड्रोलाई त्यति असर गरेको छैन । तर निर्माणाधीन आयोजनालाई भने असर गरेको छ । यसले अपी पावरको साढे १६ मेगावाटको आयोजनालाई असर गरेन । किनकि ती आयोजनाहरुको विद्युत उत्पादन शुरु भइसकेको थियो । अर्को हामीले ४० मेगावाटको अपर चमेलिया आयोजना निर्माण गर्दैछौं त्यसमा असर गरेको छ । हामीले माघमा सुरु गर्नु पर्ने हो । त्यो हामीले सुरु गर्न सकेनौं । त्यसको भौतिक पूर्वाधारहरु हामीले निर्माण गर्न सकेनौं । त्यसैको लागि हामीले यो हकप्रद सेयर जारी गरेको हो । यो आयोजनाको इक्वीटीको लागि नै हामीले हकप्रद सेयर जारी गरेका हौं ।

कम्पनीको वित्तीय अवस्था कस्तो छ ?

हामीले सुरुमै नेपाल विद्युत प्राधिकरणसँग यतिमा विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गरौं, यतिमा परियोजना बनाउँछौं भनेर जुन सम्झौता गरेका हुन्छौं तर पछि अनेक कारणले भनेको समयमा र भनेको कष्टमा आयोजना नबन्ने अवस्था आउँछ । त्यस बेला कम्पनी जिर्ण अवस्थामा जान्छ । तर, हाम्रो विश्लेषण भने अहिले सम्म सही नै छ । त्यही कारणले पनि हामी रुग्णमा परेनौं । हामीले प्रत्येक वर्ष भनेकै समयमा लाभांश पनि दिँदै आएका छौं । भनेकै समयमा विद्युत उत्पादन गरेका छौं र भनेकै समयमा निर्माण कार्य सम्पन्न गरेका छौं । त्यही हिसावले पनि हाम्रो वित्तीय अवस्था अहिलेसम्म खराव अवस्थामा छैन । हामी सस्टेन हुने किसिमले अगाडि बढिरहेका छौं ।

बजारमा अपी पावर कम्पनीको हैसियत के हो ?

अपी पावर कम्पनीले सुदूरपश्चिमलाई फोकस गरेर आयोजना निर्माण गरिरहेको छ । हामीले अहिले ४ मेगावाटको सोलार पावरको आयोजना पनि निर्माण गरिरहेका छौं । अपी पावर कम्पनी भनेको सेल्फ सस्टेन हुने कम्पनी हो । यो रुग्णमा नगनिने कम्पनी हो । साढे १६ मेगावाटका आयोजना अहिले चलिरहेका छन् । ४ मेगावाटको सोलारको आयोजना अब आउँदैछ । हाम्रो अब २० मेगावाट हुन्छ । त्यसपछि ४० मेगावाटको प्रोजेक्ट बनाउन खोजिरहेका छौं । काम सुरु पनि भइसकेको छ । यो पनि निर्माण भइसकेपछि ६० मेगावाटको परियोजनाहरु हामीले निर्माण गरेकै हुन्छ । अपी नेपाली जलविद्युतको निजी क्षेत्रबाट ठूलो कम्पनी भनेर पनि चिनिन्छ ।

हामी त्यही हिसावले अगाडि बढ्दैछौं । आगामी दुई वर्षभित्र त्यो ४० मेगावाटको आयोजनाको विद्युत पनि उत्पादन गर्न सुरु गर्ने हाम्रो योजना छ ।

अपी पावर कम्पनीले आगामी दिनमा के कस्ता परियोजनाहरु बनाउने सोच बनाएको छ ? कसरी अगाडि बढ्दैछ ?

हामीले दुई आयोजना निर्माण गरिसकेका छौं । अहिले सुरु गरेको ४० मेगावाटको छ । त्यसपछि सोलारका परियोजनाहरु पनि छन् । त्यस्तै अन्य परियोजनाहरु पनि आइडण्टिफाई गर्दै अगाडि जाने भन्ने हाम्रो योजना छ । वैकल्पिक रुपमा हामी सोलारमा पनि गइरहेका छौं । तर, हाम्रो ग्रुप अफ कम्पनीले निर्माण गरिसकेका साढे ५७ मेगावाटको परियोजनाहरु छन् । अरुणभ्यालीले पनि आफ्नै परियोजनाहरु बनाइरहेको छ । अबको दुई तीन वर्षमा आम्रो ग्रुप अफ कम्पनीले करिब १ सय ५० मेगावाट जति विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।

अपि पावर कम्पनीको अबको प्राथमिकता सोलार पावरमा हो ?

सोलार मात्र होइन । सोलार त एउटा व्यवसाययिक पार्ट हो । मिक्स इनर्जी उत्पादन गर्ने ध्येयका साथ हामी अगाडि बढ्छौं । मुख्य त हाम्रो प्राथमिकता जलविद्युत नै हो । मिल्यो भने विन इनर्जीमा पनि जाऔं । यो मिक्स इनर्जीको रुपमा काम गरेर अगाडि बढौं भन्ने हाम्रो योजना हो ।

यी विभिन्न आयोजनाहरु निर्माण गर्दै हुनुहुन्छ , स्रोत कसरी जुटाउँदै हुनुहुन्छ ?

अहिले ४० मेगावाटको आयोजना निर्माणका लागि नै हामीले अहिलेको हकप्रद सेयर जारी गरेका हौं । पूराना सेयरधनीहरुले नै यसमा सेयर थप्नुहुन्छ । यस्तै, हामीले सोलारका आयोजनाहरु निर्माण गरिरहेका छौं । त्यसका लागि पूराना निर्माण गरिसकेका आयोजनाहरुबाट आएको आम्दानीबाट नयाँ आयोजना बनाउँदै जाने भन्ने हाम्रो योजना छ ।

धेरै आयोजना तथा जलविद्युत कम्पनीहरु हामी रुग्ण भयौं भनेर सरकारसँग गुहार पनि मागिरेको अवस्था छ । तपाई अब नेपालमा जलविद्युतको भविश्य कस्तो देख्नुहुन्छ ?

अहिले नेपालमा जति विद्युत उत्पादन भइरहेको छ । यो विद्युतले नेपाललाई पुग्दैन । अहिले जति बनिरहेका छन् । यी सबै आए भने नेपाललाई पुग्न सक्ला । ठूला आयोजनाहरु निर्माण भइसकेपछि भारत बंगलादेशमा पनि पठाउन सकिन्छ । नेपालमा ८४ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ भन्ने अनुमान छ । अहिले २/३ हजार मात्र उत्पादन गर्न थालिएको छ । त्यो पनि भइसकेको छैन । नेपालमा विद्युतको सम्भावना धेरै छ । अन्तरदेशिय प्रशारण लाइनको निर्माण गरेर विदेशमा निर्यात गर्न सक्यो भने नेपालको अर्थतन्त्रको एउटा हिस्सा जलविद्युत बन्छ ।

जलविद्युतमा हुने लगानीको प्रतिफलको अवस्था कस्तो छ ?

हाइड्रो पावर निर्माण शुरु गर्दा त्यसको सम्पूर्ण अवस्था राम्रोसँग अध्ययन गर्नुपर्छ । त्यसको ट्रान्समिसन लाइनको अवस्था के कस्तो छ भनेर अध्ययन गर्न जरुरी छ । कतिपय आयोजनाहरु ट्रान्समिसन लाइन नै नबनेर समस्यामा परेका हुन्छन् । हचुवाको भरमा यति मेगावाट भने निर्माण गर्यो भने रुग्ण हुने अनेक समस्या आउने हुन्छ । ट्रान्समिसन लाइन भएको डिस्चार्ज राम्रो भएको ठाउँमा जलविद्युतको आयोजना निर्माण गर्यो भने कुनै समस्या हुँदैन । प्रतिफल पनि राम्रै पाइन्छ । कष्ट पनि महँगो हुँदैन । समयमै बन्छ । र आयोजना सस्टेनेवल पनि हुन्छ ।

पछिल्लो समय प्रमोटरहरुले आर्थिक गतिविधीहरु पारदर्शी नबनाउने र यसले गर्दा उनीहरुप्रति आम जनमानस अर्थात पब्लिक सेयरधनीहरुको विश्वास गुम्दै गएको छ । आफु मोटाउने तर सर्वसाधारणलाई फसाउने प्रवृति बढ्दै गएको भन्ने गुनासो छ । यसमा तपाईको धारणा के छ ?

त्यस्तो प्रवृति हाम्रो ग्रुप अफ कम्पनीमा छैन । हाम्रो ग्रुप अफ कम्पनीमा जति आयोजनाहरु निर्माण भएका छन् ती आयोजनाहरुले धेरै थोरै लाभांश दिइरहेका छौं । आज बत्ती बल्यो भने त्यसको एक बर्षपछि हामीले बोनस वितरण गरेको अवस्था छ । तपाईँले भने जस्तो हल्ला बजारमा हामीले पनि सुनेका छौं । हाम्रो कम्पनीमा त्यस्तो समस्या छैन । हाम्रो पब्लिक लिमिटेड कम्पनी हो । हाम्रो पूरा अडिट भएर आउँछ । तर, प्राइभेट लिमिटेड कम्पनीहरुले त्यस्तो गर्छन् कि भन्ने अलिकति हल्ला सनिएको छ । हामीले जति नै सेयरधनीबाट पैसा उठाएका छौं सोही अनुसार काम पनि गरेका छौं ।

साढे ८ मेगावाटको लागि उठाएको पैसा साढे १६ मेगावाटको आयोजना निर्माण गर्यौं । सेयरधनीले त्यही अनुसार इनकम पनि पाएका छन् । यसमा धेरैको निगरानी छ । विद्युत नियमन आयोग, नेपाल धितो पत्र बोर्डले नै निगरानी गरिरहेको छ ।
यस्तै खालका विकृति आउँछन् भनेको कारणले हामीले जुन १ः२ को हकप्रद सेयर माग गरेका थियौं । त्यो नदिएर बोर्डले हामीलाई १ः०.४७ अनुपातको स्वीकृती दियो । त्यो बाट तपाईको काम देखाउनुस् भनेर धितोपत्र बोर्डले भनेपछि हामीले त्यति नै स्वीकृृती पाएका हौं ।

त्यसो भए धितो पत्र बोर्डले अपी पावरकोको विश्वास नगरेरै १ः०.४७ अनुपातको मात्रै स्वीकृती दिएको हो ?

त्यस्तो होइन । तपाईले भने जस्तै हल्ला उहाँहरुले पनि सुन्नु भयो होला । भोलि यहाँ पनि त्यस्तो भयदियो भने तपाइँहरुले के हेर्नु भयो भन्ने प्रश्न आउन सक्छ । हाइड्रो पावरमा यस्तो हुँदैछ भनेर कसैले भनेको पनि हुन सक्छ । त्यस्तो नहोस् भनेर उहाँहरुले कुन परियोजना बनाउँदै हुनुहुन्छ । त्यसको निर्माण गर्नुस् । भोलि अर्को निर्माण गर्नु हुन्छ भने फेरि त्यसको छुट्टै लिएर आउनुस् भनेपछि १ः०४७ अनुपातको स्वीकृती दिएको हो । तर, हाम्रो कम्पनीमा त्यस्तो कुनै समस्या छैन ।

यसको मतलब अपी पावर कम्पनी फाइनानसिअल्ली ट्रान्सप्यारेन्ट छ ?

हो, एकदमै हामी एकदमै पारदर्शी छौं ।

तपाइँहरुले सोलार पावरको आयोजना पनि निर्माण गर्दै हुनुहुन्छ । काम के कसरी भइरहेको छ ?

वैकल्पिक उर्जाका रुपमा सोलार पावरलाई पनि बढाउनु पर्छ भनेर नेपाल विद्युत प्राधिकरणले एउटा टेण्डर आह्वान गरेको थियो । त्यसमा हामीले पनि अप्लाई गर्यौं । त्यो टेण्डरमा हामी २८ मेगावाट पारेका थियौं । तर, प्राधिकरणले त्यति दिन सकिँदैन भनेर पीपीएको रेट कम गर्यो ।
हामी बुटवलको मनिग्राममा साढे ८ मेगावाटको सोलार पावर निर्माण गरेर त्यो राष्ट्रिय ग्रिड लाइनमा जोडिएको छ । जुन नेपालकै पहिलो हो । त्यस्तै, रौतहटको चन्द्रनिगाहपुरमा पनि ४ मेगावाटको आयोजना निर्माण गर्न लागेका छौं । यसको फाइनानसियल क्लोजर छिट्टै हुँदैछ । ६ महिनामा त्यसको काम पनि सम्पन्न हुन्छ ।

तपाइँले अपी पावर कम्पनी आर्थिक रुपमा राम्रो छ । लाभांश पनि वर्षेनी दिँदै आएको छ भन्नुभयो । तर, कम्पनीले निर्माण गर्ने भनेको सिद्धकाली जलविद्युत आयोजनामा लगानी गर्ने सपर्वसाधारण त निकै डुबे नी । धेरैको रिफण्ड नै भएन भन्ने पनि गुनासो पनि छ नी ?

हुन त हिड्ने मान्छे नि लड्छ भन्छन् । मानिसले काम गर्दा गर्दै सबै कूरा सफल नै गर्छ भन्ने कूरा पनि हुँदैन । हामीले ७५ मेगावाटको त्रिशुली गल्छि भनेर शुरु गरेका थियौं । यो ठूलो आयोजना पनि भयो । १ हजार करोड लगानी बैंकहरुले नै गर्न नसक्ने अवस्था देखियो । यसमा लगानी नै गर्न सक्ने अवस्था पनि देखिएन । फाइनानसियल क्लोजर पनि भइसकेको अवस्था थियो । टनेल धेरै ठूलो भयो । त्यो टनेल रिक्स भयो । फिजिवल भएन भन्ने कूरा पनि भयो । त्यसपछि हामीले लगानी जुटाउनको लागि चिनीयाँहरुसँग पनि सम्झौता गर्यौं । काम पनि शुरु गरियो । तयहाँ खर्च पनि थुप्रै गरियो । पछि तयसलाई ७५ मेगावाट नै बनाउन नसकिने अवस्था आयो ।

अहिले त्यसलाई संशोधन गरेर २८ वा ३० मेगावाट बनाउने भनेर हामी अहिले पनि लागि रहेका छौं । काम भइरहेको छ । ७५ मेगावाट बनाउनबाट पछि हटेपछि लगानीकर्ता पनि बाहिरिए । तर, ३० मेगावाटमा लगानी गर्ने चाहनेहरु बस्नुस् ७५ कै लागि लगानी गर्नेहरु तर ३० मेगावाटका लागि इच्छुक नभएकाहरु जानुस् भनेर हामीले भनेपछि त्यही अनुरुप काम भइरहेको छ । अहिले रिफण्डको काम पनि भइरहेको छ । तर, हामीलाई पनि समय दिनु पर्छ । त्यसमा करोडौंको खर्च भएको छ । त्यो पैसा त गयो । त्यो पैसा म्यानेज गर्नको लागि हामीसँग केही समय त चाहियो नी । हामीसँग बैंकमा भएर नदिउको चाहिँ होइन ।

अन्तिममा, अपी पावर कम्पनीले निर्माण गर्ने अबका आयोजनाहरुमा लगानीकर्तालहरुलाई आकर्षिक गर्नको लागि अर्थात उनीहरुको लगानी सुरक्षित सँगै लगानीको प्रतिफलका लागि तपाईँ कसरी विश्वस्त पार्नु हुन्छ ?

मानिसले केही फाइदाकै लागि लगानी गर्छन् । अपी पावर कम्पनीले परियोजना निर्माण गरेर बत्ती बलेको एक वर्षपछि नै लाभांश दिँदै आएका छौं । हरेक वर्ष दिँदै आएका छां । दिन्छौं पनि । लाभांशको दर पनि वर्षेनी बढ्दै जान्छ । पहिले ५ दियौं । त्यसपछि ८÷९ हुँदै हामी बढाउँछौं । अर्को वर्ष डबल डिजिटमा दिन्छौं । हामी यो क्षेत्रबाट भागेर कहिँ पनि गएका छैनौं । तपाईँहरुलाई प्रत्येक वर्ष प्रतिफल दिइरहेका छौं । सेयरधनीहरुको हामीप्रतिको विश्वास हामी टुट्न दिने छैनौं । हामी काम गरेर देखाउँछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.