सडककाे बजेट ७० प्रतिशत मुआब्जामा स्वाहा, राजधानीमा २४ किलाेमिटरकाे सडक बनाउन २१ वर्ष

  २०७७ मंसिर ५ गते २१:२७     सञ्चिता घिमिरे

काठमाडौँ । काठमाडौँ उपत्यकाको मुख्य सडकको सवारी चाप कम गर्ने उपायका रुपमा हेरिएको धोबीखोला करिडोर निर्माण १६ किलोमिटर कालोपत्र सकिएको छ । खोलाको दुवैतर्फ १२/१२ किमी गरी जम्मा २४ किमी लम्बाइको सडक आगामी आवभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले शुक्रवार सो करिडोरको स्थलगत निरीक्षण गर्दै सडक चाँडो सम्पन्न गर्न निर्देशन दिए । उनले काठमाडौँको सुन्दरताका रुपमा रहेको करिडोरमा कुरुपता आएकाले त्यसाई हटाउनुपर्नेमा जोड दिए । ललितपुर र काठमाडौँको सीमामा पर्ने शङ्खमूलबाट शुरु भएर धोबीखोलको किनारै किनार बूढानीलकण्ठसम्म करिडोर रहेको छ ।

सो करिडोरअन्तर्गत बिजुलीबजारको पुलमुनि सडक खुला नभएको उनले बताए । प्राविधिकले बिचार नपु¥याएको भए पनि त्यो ठाउँमा एक वर्षभित्रमा गाडी आवतजावत गर्न सक्ने गरी खुलाइने उनकाे भनाइ छ ।”

मन्त्री श्रेष्ठले सडकमा रहेका खाल्डाखुल्डी हटाउन, सरसफाइमा ध्यान दिन र कालोपत्र गर्न बाँकी सडक सम्पन्न गर्न पनि निर्देशन दिए । निर्माणाधीन सडकमा दूरसञ्चार संस्थानले ठाउँठाउँमा खनिरहेको देख्न सकिन्छ । उनले सो स्थानमा संस्थान र प्राधिकरणबीच समन्वय आवश्यक रहेको औँल्याए ।

करिडोर निर्माणमा हालसम्म मुआब्जासमेत गरी रु तीन अर्ब ५० करोड खर्च भइसकेको छ । काठमाडौँ महानगरपालिकाले विसं २०५६ मै करिडोरको निर्माण गर्ने भने पनि अघि बढाउन सकेको थिएन । सरकारले महानगरले नसकेपछि विसं २०६३ मा आयोजना सञ्चालनको जिम्मेवारी प्राधिकरण (तत्कालीन नगर विकास समिति) लाई दिइएको थियो । शुरुका दिनमा दुवैतर्फ घरैघर भएकाले आयोजना सम्भव नभएको धेरैलाई लागेको प्राधिकरणका विकास आयुक्त डा. भाइकाजी तिवारीले बताए । सडक निर्माणभन्दा मुआब्जामा बढी लगानी भए पनि सडकको दीर्घकालीन महत्व हेरेर निर्माण शुरु गरिएको थियो । उनले भने, “जम्मा लगानीमध्ये ७० प्रतिशत मुआब्जामा र बाँकी ३० प्रतिशत मात्रै निर्माणमा खर्च भएको छ ।”

करिडोरमा पर्ने घर, टहरालगायतका संरचना हटाउँदै सडक निर्माण गरिएको छ । सडक निर्माणस्थल खाली गराउने काम झण्डै ९९ प्रतिशत सकिएको प्रमुख तिवारीले जानकारी दिए ।  सडकमा अहिले पाँच वटा घर मात्रै हटाउन बाँकी छ । उनीहरुले मुआब्जामा चित्त नबुझाएकाले हटाउन बाँकी भएको उनले बताए ।

सडकमा पूरै घर हटेकालाई क्षतिपूर्ति बापतको रकम दिइएको छ । आफ्नो नाममा जग्गाधनी पुर्जा नभएका स्ववासीलाई पनि अन्यत्र घर बनाउन रकम दिइएको छ ।

करिडोर चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि पहिराका कारण चालू आवमा सम्पन्न गर्न नसकिने देखिएको प्राधिकरणले जनाएको छ । पहिले सडकमा ढल र सडक निर्माणको काम फरकफरक कम्पनीले गरेको भए पनि अहिले एउटै निर्माण कम्पनीमार्फत अघि बढाइएको प्रमुख तिवारीले बताए।

काठमाडौँ उपत्यकाका मुख्य सडकमा रहेका सवारी चाप कम गराउने उद्देश्यले सरकारले वाग्मतीलगायतका सहायक खोलामा करिडोर निर्माण शुरु गरेको छ । तीमध्ये कतिपय निर्माण सम्पन्न हुने क्रममा छन् भने कतिपयमा शुरु भएको लामो समयमा समेत सम्पन्न भइसकेको छैन । वाग्मती, मनोहरा, हनुमन्ते, धोवीखोला, विष्णुमती, नख्खुलगायतका खोलामा करिडोर निर्माण भइरहेको छ । यी करिडोर निर्माण सम्पन्न भएपछि धेरै ठाउँका स्थानीयवासी मुख्य सडक नपुगेर नै गन्तव्यसम्म पुग्नेछन् । यसले गर्दा उपत्यकाका बढी सवारी चाप हुने सडकको चाप कम हुने अपेक्षा गरिएको छ । अनुगमनमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई, मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंह, काठमाडौँ उपत्यका विकास प्राधिरणका प्रमुख तिवारी, मन्त्रालय र प्राधिकरणका कर्मचारी सहभागी थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.