अन्तरराष्ट्रिय विमानस्थलको क्षमता बढाउन १७ अर्ब ७० करोड ऋण सहयोग

  २०७७ मंसिर ५ गते १७:५०     विकासन्युज

काठमाडौं । एशियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गर्न १७ अर्ब ७० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ । बैंकले नेपाललाई उक्त रकम सहुलियत ऋणस्वरुप प्रदान गर्न आज स्वीकृति जनाएको मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको छ ।

त्रिभुवन विमानस्थलमा समानान्तर ‘ट्याक्सी वे’ र ‘ह्याङ्गर एप्रोन’ बनाउन तथा गौतमबुद्ध विमानस्थलमा ‘टर्मिनल’ भवन निर्माणका साथै त्यसको क्षमता बढाउन ऋण रकम स्वीकृत गरिएको बैंकले जनाएको छ ।

भैरहवामा निर्माणाधीन वैकल्पिक क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलले नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउनाका साथै कोभिड–१९ का कारण थलिएको पर्यटन उद्योगलाई महामारीपछिको समयमा भरथेग गर्ने अपेक्षा बैंकले गरेको छ । यसैगरी परियोजना पूरा भएपछि त्रिभुवन विमानस्थलको मौजुदा सुरक्षा व्यवस्था सुदृढ हुने एवं त्यसको प्रभावकारी सञ्चालन तथा सेवा प्रवाह क्षमतामा थप सुधार हुने विश्वास बैंकले व्यक्त गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.