यातायातलाई मध्यम प्रभावितमा राखेपछि व्यवसायी आक्रोशित, भन्छन्ः बुझ्ने प्रयास कहिल्यै गरिएन
२०७७ मंसिर ५ गते ११:४७ विकासन्युज
काठमाडौं । सरकारले यातयात व्यवसायीहरुलाई मध्यम प्रभावित क्षेत्रमा राखेपछि यातायात व्यवसायीहरु असन्तुष्ट भएका छन् ।
सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि प्रभावकारी ढङ्गले कर्जा उपलब्ध गराउन व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि तयार गरेकाे छ । साे कार्यविधिमा यातयात व्यवसायीलाई मध्यम प्रभावित क्षेत्रमा राखेपछि उनीहरु सरकारसँग असन्तुष्ट भएका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले आफूहरुले सरकारलाई पटक–पटक आफ्ना समस्याहरु राख्दा पनि मध्यम प्रभावित क्षेत्रमा राखेको बताए । उनले मौखिक रुपमा अति प्रभावित भने पनि व्यवहारमा भने भने त्यसकाे कार्यान्वयन नहुने बताए ।
‘हामीले विभिन्न समयमा अर्थ मन्त्रालय र राष्ट्र बैंकका पदाधिकारी र अर्थमन्त्री स्वयमंलाई भेटेर हाम्रा समस्याहरु भनिसकेका छौं, उहाँहरुले हुन्छ भनेर प्रतिवद्धता गर्नु हुन्छ, त्यो प्रतिवद्धता व्यवहारमा देखाउनु हुन्न, हाम्रा समस्या कसैले कहिल्यै पनि बुझेनन्,’ उनले भने ।
आफुहरुले अति प्रभावितमा हुनु पर्ने आग्रह गरिरहँदा पनि त्यो कार्यान्वयन नभएको उनले गुनासाे गरे । अझै पनि हामीले नयाँ अर्थमन्त्रीलाई भेटेर कूरा गर्ने सोच बनाएको उनले बताए ।
‘यातयात क्षेत्रमा खर्बौ नोक्सान भएको छ, हामीले किस्ता र ब्याज तिर्न सकिरहेको अवस्था छैन, कर्मचारीलाई तलब दिन सक्ने हवस्था छैन,’ उनले भने ।
अर्थमन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदबाट पारित कार्यविधि अनुसार सहुलियत कर्जा उपलब्ध गराई व्यवसायको निरन्तरता दिन सरकारले कर्जा प्रवाह गर्नका लागि नेपाल राष्ट्र बैङ्कमा आवश्यक रकमको व्यवस्था गर्नेछ ।
अति, मध्यम तथा न्यून प्रभावित क्षेत्रहरु
(अ) अति प्रभावित क्षेत्रः
- पर्यटनः
- ट्रेकिङ्ग, ट्राभल एजेन्सी, पर्वतारोहण, र्याफ्टिङ्ग, क्याम्पिङ्ग, टुर अपरेटर, हिलिङ्ग सेन्टर, क्यासिनो, मसाज स्पा आदि,
- होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट, तथा रेष्टुराँ, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्ष,
- साहसिक पर्यटन: स्किइङ्ग, ग्लाइडिङ्ग, वाटर र्याफ्टिङ्ग, हट एयर व्यालुनिङ्ग, क्यानोइङ, प्यारासेलिङ्ग, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ्ग, हिमाल आरोहरण र अवलोकन लगायत,
- गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ्ग, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केवलकार।
- हवाई तथा पर्यटकीय यातायात;
- मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसन सम्बन्धी व्यवसाय, पार्टी प्यालेस;
- चलचित्र उत्पादन, वितरण, सिनेमा हल;
- स्वदेशमा वा विदेशमा रोजगारी गुमेका वा लेअफमा परेका श्रमिक, कामदार वा कर्मचारी;
- मूलभूत रुपमा सडेर गलेर जाने वस्तु (पेरिसेवल गुड्स) जस्तैः तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दूध तथा दूधजन्य उत्पादन, अण्डा आदि उत्पादन तथा बिक्री वितरण;
- कुखुरापालन व्यवसाय;
- पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय;
- तयारी पोशाक, हस्तकला तथा सीपमूलक व्यवसाय;
- वैदेशिक रोजगार सेवाप्रदायक, शैक्षिक परामर्श सेवाप्रदायक।
(आ) मध्यम प्रभावित क्षेत्रः
- खप्ने सामान जस्तै- प्लास्टिक, फलाम/स्टील, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित उद्योग व्यवसाय;
- निजी तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्वविद्यालय, प्राविधिक शिक्षालय, प्रि-स्कूल, चाइल्ड केयर;
- यात्रुवाहक स्थल यातायात;
- ब्युटीपार्लर, सैलुन, कस्मेटिक सर्जरी लगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप;
- कानूनी, लेखा, इन्जिनियरिङ्ग लगायतका परामर्श सेवा वा व्यवसाय;
- अस्पताल, क्लिनिक, नर्सिङ्गहोम, डायग्नोस्टिक सेन्टर;
- हेल्थ सेन्टर वा फिट्नेस सेन्टर;
- भण्डारण गर्न सकिने वस्तु (खाद्यान्न बाहेक) उत्पादन, प्रशोधन तथा बिक्री वितरण;
- वन तथा खनिजजन्य उद्योग;
- निर्माण व्यवसाय;
- औषधि उत्पादन;
- छपाइ, प्रकाशन तथा सञ्चार गृह;
- निर्माणाधीन जलविद्युत तथा नवीकरणीय उर्जा;
- पत्थर, माटो तथा सिसाका उत्पादन सम्बन्धी व्यवसाय।
(इ) न्यून प्रभावित क्षेत्रः
- उत्पादनमा रही राष्ट्रिय प्रसारणमा जोडिएका जलविद्युत आयोजना;
- अनलाईन (इ-कमर्स) मा संलग्न व्यवसाय;
- खाद्यान्न उत्पादन, प्रशोधन, भण्डारण तथा बिक्री वितरण, पेय पदार्थ प्रशोधन तथा बिक्री वितरण गर्ने उद्योग व्यवसाय;
- दैनिक उपभोग्य अत्यावश्यक वस्तुको बिक्री वितरण;
- आयातजन्य व्यापार;
- पेट्रोल पम्प, ग्यास तथा पानी सम्बन्धित व्यवसाय;
- औषधि बिक्री वितरण;
- विज्ञापन सेवा;
- इन्टरनेट, दूरसञ्चार सेवाप्रदायक कम्पनी;
- मदिरा तथा सुर्तीजन्य उद्योग व्यापार, व्यवसाय;
- ट्रक, ढुवानी व्यवसाय;
- सुन, चाँदीका गहना तथा बहुमूल्य पत्थर सम्बन्धी व्यवसाय।