होम आइसोलेसनमा बस्नेहरुले एम्बुलेन्स र अस्पतालको सम्पर्कमा रहिरहौं- डा. बास्तोला

  २०७७ मंसिर ४ गते १२:११     विकासन्युज

काठमाडौं । कोरोना सुरु भएको अवस्थामा यस नयाँ रोगको बारेमा मानिसहरु अनविज्ञ थिए । जसकारण सबै कोरोना संक्रमितहरु अस्पताल नै भर्ना हुन्थे ।

सुरुवाती दिनहरुमा संक्रमितहरुको संख्या पनि कम भएकोले सरकारले पनि सबै संक्रमितहरुलाई अस्पतालमै भर्ना हुन सुझाएको थियो । तर विस्तारै संक्रमितको संख्या बढ्दै गएको र अस्पतालमा अन्य रोगका बिरामीको लागि बेड नपाउने अवस्था देखेपछि सरकारले त्यसलाई मध्यनजर गर्दै लक्षण भएका संक्रमितहरुलाई मात्र अस्पतालमा भर्ना हुन र लक्षण नभएकालाई घरमै अर्थात  होम आइसोलेसनमा बस्नलाई निर्देशन दियो ।

सरकारले पछि गएर सामान्य लक्षण भएका संक्रमितहरुलाई घरमै बस्न र अन्यलाई मात्र अस्पतालमा भर्ना हुनलाई निर्देशन दियो जसकारण होम आइसोलेसनमा बस्ने मानिसहरुको संख्या निकै बढको छ ।

बुधबारसम्म देशभर २८ हजार ८ सय ७८ सक्रिय संक्रमितहरु छन् । जसमा धेरै जना होम आइसोलेसनमा रहेका छन् । तर मानिसहरुले होम आइसोलेसनमा बस्दा गर्ने लापरवाहीले गर्दा मानिसहरुले ज्यान गुमाउन परेकाे टेकु अस्पतालका सुरुवा रोग विशेषज्ञ डा.अनुप बास्तोला बताउँछन् । बास्तोलाको अनुसार होम आइसोलेसनमा बस्ने मानिसहरु लक्षण देखिएपनि दुइ चार दिनमा ठिक हुन्छ भन्दै रोगलाई खासै वास्ता नगर्ने गरेको कारण पनि यस्तो भएको बताउँछन् ।

कोरोनाको लक्षण कसैलाई सामान्य भएपनि धेरैको ज्यान लिइसकेको कारण सबैलाई सचेत रहन उनले आग्रह गरेका छन् । उनी भन्छन्, ‘१० देखि १५ दिनसम्म आइसोलेसन बस्न पर्छ भनेर पिसिआर परीक्षण नगराउनेको जमात धेरै छन, यस्तो नगरिदिनुहोला, लक्षण देखिने बित्तिकै कोरोना हो कि होइन भनेर परीक्षण गराउन आवश्यक छ ।’

सबै होम आइसोलेसनमा बसिरहेकाहरुलाई श्वासप्रश्वासमा समस्या हुने बित्तिकै तत्काल अस्पताल पुर्याउनकाे लागि एम्बुलेन्स वा अन्य सवारीसाधन जहिले पनि तयारी अवस्थामा राख्न उनले सुझाव दिएका छन् ।

बिरामीलाई कुन अस्पतालमा लैजाने भन्ने विषयमा पनि जानकार भइरहन उनकाे सुझाव छ । यस्तो तयारी सबै होम आइसोलेसमा बस्ने व्यक्ति र उनको परिवारले गर्नुपर्ने उनले बताए ।

नेपालमा हालसम्म १६ लाखभन्दा वटा पिसिआर परीक्षण हुँदा २ लाख १२ हजार ९१७ जनामा संक्रमण देखिएको छ । जसमा १ लाख ८२ हजार ७८० जना निको भएर घर फर्किसकेका छन् । बुधबार साँझसम्म कोरोनाको कारण १ हजार २ सय ५९ ले ज्यान गुमाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.