महानगरले रोक्न निर्देशन दिए पनि खुलामञ्चमा खाना खुवाउने कामलाई निरन्तरता

  २०७७ मंसिर २ गते १२:५८     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (मंसिर २ गते) देखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भनेपनि हाम्रो टीम नेपालले खाना खुवाएको छ । कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गरी खुलामञ्चमा खाना नखुवाउने भनिएपनि मानिसहरु लामबद्ध भएर बसेपछि खाना खुवाउन बाध्य भएको हाम्रोटीम नेपालका अध्यक्ष विमल पन्तले बताए ।

महानगरपालिकाले मंसिर २ गते देखि खुलामञ्चमा भेला गराएर नभई कुनैपनि ठाउँमा व्यवस्थित गरी खाना खुवाउन हाम्रो टीम नेपाललाई आग्रह गरेको थियो । सोही अनुसार आजदेखि खुलामञ्चमा खाना नखुवाउने सम्झौता पनि भएको थियो । तर खाना खुवाउनको लागि उचित ठाउँको व्यवस्था गर्न नसकिएकाले फेरीपनि खुलामञ्चमा नै खाना खुवाउन आफुहरु बाध्य भएको पन्तले बताए । आफुहरुले प्याकेटमा खाना वितरण गर्न खोजेको भएपनि मानिसहरु खुलामञ्चमा नै लामबद्ध भएर बसेपछि पुरानै तरिकाले खाना वितरण गर्न बाध्य भएको पनि उनले बताए ।

खाना खान आउने मानिसहरु भने खुला मञ्चमा खाना वितरण गर्ने कार्यलाई महानगरपालिकाले रोक्न लागेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरुले की काम देउ होइन भने खान देउ भन्दै खाना खुवाउने कार्यक्रमलाई नरोक्न माग गरेका छन् । कोरोना महामारीका कारण काम नपाएर भोकै बस्नुपर्ने बाध्यता भएपछि खुलामञ्च आई निःशुल्क वितरण गरिएको खाना खान बाध्य भएको बताएका छन् । सडकमा बसेर खाना खान आफुहरुको रहर नभई बाध्यता भएको पनि उनीहरुले बताए ।

हाम्रो टीम नेपालले गत चैत ११ गते देखि लकडाउन भएपछि खान खान नपाएर समस्यामा परका व्यक्तिहरुलाई चैत १४ गते देखि खाना खुवाउँदै आएको छ । सुरुमा उपत्यकाका विभिन्न ठाउँमा खाना वितरण गर्दै आएको यो समूहले पछिल्लो समय खुलामञ्चमा निःशुल्क खाना खुवाउने काम गर्दै आएको छ । तर काठमाडौं महानगरपालिकाले अव्यवस्थित रुपमा खाना खुवाउँदा संक्रमण फैलने डर भएको भन्दै खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न आग्रह गरेको छ । व्यवस्थित ठाउँमा खाना खुवाउने भए आफूले पनि सक्दो सहायोग गर्ने महानगरपालिकाले बताउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.